४७औँ पुष्पलाल स्मृति दिवसको अवसर पारेर राइनास नगरपालिका–८, हर्राबोटस्थित सर्वोदय सेवाश्रममा बुधबार खाद्यान्न वितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा नेकपा (एमाले) जिल्ला कमिटी लमजुङले सो कार्यक्रम आयोजना गरेको हो।
सर्वोदय सेवाश्रमका लागि करिब ३१ हजार रुपैयाँ बराबरको चामल, दाल, नुन, तेललगायत आवश्यक खाद्यान्न सामग्री सहयोग गरिएको नेकपा एमाले जिल्ला कमिटी लमजुङका सचिव राजेन्द्र बोहोराले जानकारी दिए।

सहयोग सामग्री प्रगतिशील इन्जिनियरिङ संघ नेपाल गण्डकी प्रदेश इञ्चार्ज तथा नेकपा एमाले जिल्ला कमिटी लमजुङका सदस्य इन्जिनियर प्रकाश न्यौपाने, नवीनकुमार श्रेष्ठ, शशी श्रेष्ठ र जयराम रेग्मीको तर्फबाट प्रदान गरिएको हो।
सहयोग सामग्री सेवाश्रमका उपाध्यक्ष सुकदेव रिसाल र आजीवन सदस्य लक्ष्मीप्रसाद मिश्रलाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रम नेकपा एमाले जिल्ला अध्यक्ष राजकुमार विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त अवसरमा नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य मायानाथ अधिकारीले सम्बोधन गरेका थिए। उनले तत्कालीन नेपाली समाजको सन्दर्भमा पुष्पलाल श्रेष्ठद्वारा स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक योगदानबारे जानकारी दिए।

उनका अनुसार पुष्पलालले सामन्तवाद र पुँजीवादविरुद्ध कम्युनिष्ट पार्टी स्थापना गरेर नेपाली राजनीतिमा ऐतिहासिक क्रान्तिको बीजारोपण गरेका थिए। उनले राजनीतिक, सामाजिक, साहित्यिक, सांस्कृतिक चेतना र नागरिक अधिकारप्रति जनतालाई सचेत गराउने प्रयास गरेका थिए।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य लक्ष्मी अधिकारी, रञ्जित कुमाल, प्रदेश कमिटी सदस्य विष्णुमाया राना, जिल्ला कमिटीका सचिव राजेन्द्र बोहोरा, उप–सचिव विवश बुढाथोकी, राममाया राना, सल्लाहकार परिषद्का अध्यक्ष भीमबहादुर गुरुङलगायत नेताकार्यकर्ताको उपस्थिति थियो।
सोही अवसरमा सर्वोदय सेवाश्रम परिसरमा फलफूलका विरुवा रोपिएका थिए।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म वि.सं. १९८१ साल असार १५ गते रामेछाप जिल्लाको भंगेरीमा भएको थियो।
उनको निधन वि.सं. २०३५ साल साउन ७ गते भारतको गोविन्द बल्लभ पन्त अस्पतालमा उपचारको क्रममा भएको हो।
वि.सं. २००६ साल वैशाख १० गते भारतको कोलकाताको श्यामबजारमा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरिएको थियो।
वि.सं. २०२५ मा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने पहिलो नेता पुष्पलाल श्रेष्ठलाई मानिन्छ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०८२ १९:४२