गुरुङ समुदायका साहित्यकार, भाषाविज्ञ तथा संस्कृतिविद् पैंडी इन्द्रबहादुर गुरुङको ९२ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा बिहीबार राति उनको निधन भएको हो ।
लमजुङको क्व्होलासोथार गाउँपालिका–९, गिलुङका गुरुङ गुरुङ भाषा, संस्कार र संस्कृतिका अध्येता थिए । गुरुङ समुदायमा पुरोहितलाई ‘पैंडी’ भनिन्छ ।
वि.सं. १९९१ भदौ ३१ गते शिरसुब्बा गुरुङ र चर्माखु गुरुङको कोखबाट जन्मिएका गुरुङ नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य थिए । पञ्चायतकालमा उनी तत्कालीन जिल्ला पञ्चायत लमजुङका दुई कार्यकाल उपसभापति रहेका थिए ।
गुरुङले २०४९ सालदेखि पुस्तक प्रकाशन सुरु गरेका थिए । गुरुङ भाषा, ज्योतिष, धर्म, संस्कार र संस्कृतिसम्बन्धी एक दर्जनभन्दा बढी पुस्तक उनका प्रकाशित छन् । उनका कृतिहरूमा तमु चि (गुरुङ ज्योतिष), बुद्ध तथा बोन्पो क्यालेन्डर, तो ताँ सोंफु, गुरुङ–नेपाली शब्दकोष, तमु अवस्थलको परिचय, तमु राज्य व्यवस्थाको मूल आधार नालसभा, तमु सांस्कृतिक दिग्दर्शन, सेर्का क्वे (सेर्गा गीत) लगायत छन् ।
तीन वर्षअघि उनले प्रेरणा, गुरुङ पर्यावरण गीत र शिव धर्म नामक तीनवटा पुस्तक एकैसाथ प्रकाशन गरेका थिए । गुरुङ पर्यावरण गीत नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको हो ।
गुरुङ शुभराज्याभिषेक पदक, प्राज्ञ मातृभाषा साहित्य पुरस्कारलगायत विभिन्न सम्मानबाट सम्मानित थिए । उनी लमजुङको दुराडाँडास्थित सर्वोदय माध्यमिक विद्यालय, भोर्लेटारको ईशानेश्वर माध्यमिक विद्यालय र गिलुङको बुद्धोदय माध्यमिक विद्यालयका अध्यक्षसमेत थिए । चिनियाँ–तिब्बती ज्योतिष प्रतिष्ठानका संस्थापक अध्यक्षका रूपमा उनले सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पनि योगदान दिएका थिए ।
पछिल्लो समय दृष्टि कमजोर र श्रवण शक्ति गुमाउँदै गएका गुरुङ दमका बिरामीसमेत थिए । बिहीबार अचानक बिरामी भएपछि उपचारका लागि मनिपाल शिक्षण अस्पताल लगिएको र सोही राति करिब ८ बजे चिकित्सकले मृत घोषणा गरेको परिवारले जनाएको छ । जेठा छोरा सुरेन्द्रकुमार गुरुङ बेलायतबाट आएपछि शनिबार पार्थिव शरीर गाउँ लगिने बताइएको छ ।
उनका श्रीमती काशीपिरी गुरुङ, छोरा सुरेन्द्रकुमार गुरुङ र बीरेन्द्रकुमार गुरुङ तथा छोरीहरू हेममाया घले र चन्द्रकुमारी गुरुङ छन् । गुरुङ भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा अध्ययन–अनुसन्धानमा जीवन समर्पण गरेका गुरुङको निधनले समुदायले अपूरणीय क्षति व्यहोरेको गुरुङ समुदायका अगुवाहरूले बताएका छन् ।
साहित्यकार एकेन्द्र गुरुङद्वारा श्रद्धाञ्जली
बेलायतमा रहेका पूर्व प्रधानाध्यापक तथा साहित्यकार एकेन्द्र गुरुङले पैंडी इन्द्रबहादुर गुरुङको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनले गुरुङ भाषा, संस्कार र संस्कृतिका ‘चम्किला नक्षत्र’को अवसान भएको उल्लेख गर्दै गुरुङ जिल्ला पञ्चायत लमजुङका दुई कार्यकाल उपसभापति, गाउँफर्क राष्ट्रिय अभियानका अध्यक्ष तथा विभिन्न विद्यालय र पूर्वाधार निर्माण समितिमा रहेर उनले पुर्याएको योगदान स्मरण गरेका छन् ।
जीवनको उत्तरार्धमा गुरुङ भाषा, संस्कृति र इतिहासको अध्ययन, अनुसन्धान तथा लेखनमा सक्रिय रहेको र उनका दर्जनौं कृति प्रकाशित भएको उल्लेख गरिएको छ । ‘गुरुङ सांस्कृतिक दिग्दर्शन’ तथा गुरुङ भाषाको शब्दकोष नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको जनाइएको छ ।
उनले गुरुङको निधनले समुदायमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२ ०९:५८