लमजुङमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली लमजुङ मर्स्याङ्दी क्वार्टर फाइनलमा प्रवेश गरेका छन्।
आइतबार सदरमुकाम बेंसीसहरस्थित सहजी खेलमैदानमा सम्पन्न पहिलो खेलमा एनआरटीले भानु युनाइटेड (चक्रपथ, काठमाडौं) लाई १–० गोल अन्तरले पराजित गर्यो। एनआरटीका चेतन चौधरीले खेलको ११औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। उत्कृष्ट प्रदर्शन गरेका चेतन ‘म्यान अफ द म्याच’ घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार पाए।
दोस्रो खेलमा घरेलु टोली लमजुङ मर्स्याङ्दीले सूर्यपुर चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्यो। खेलको पहिलो हाफको इन्जुरी समयमा समीर तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको २०औँ मिनेटमा एरोन थापाले अर्को गोल थपे। सूर्यपुर चितवन गोलरहित रह्यो। यस खेलमा समीर तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगिताअन्तर्गत सोमबार बिहान ११ बजे सातदोबाटो फुटबल क्लब र लालीगुराँस युवा क्लब भुजुङबीच पहिलो खेल हुनेछ। त्यस्तै, दोस्रो खेल दिउँसो २ बजे ठडराई समाज र समाजकल्याण काठमाडौंबीच हुने आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष टेकजङ गुरुङले जानकारी दिए।
प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछ। साथै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
गत वर्षसम्म सेमिफाइनलमा पराजित दुई टोलीलाई प्रदान गरिँदै आएको २–२ लाख रुपैयाँको पुरस्कार भने यस वर्षदेखि हटाइएको आयोजकले जनाएको छ।
प्रकाशित मिति: आइतबार, पुस १३, २०८२ २१:४५