प्रजातन्त्र स्थापनापछि २०४८ सालदेखि प्रतिनिधि सभा, संविधान सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्य गरी लमजुङबाट २४ जना सांसद निर्वाचित भएका छन्।
पछिल्लो ३१ वर्षमा प्रत्यक्षतर्फ ११ जना, समानुपातिकतर्फ १२ जना र राष्ट्रिय सभातर्फ १ जना निर्वाचित भएका हुन्। निर्वाचनमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का ९/९ जना सांसद निर्वाचित भएका छन् भने माओवादी हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६ जना सांसद बनेका छन्। कांग्रेस र एमालेका २/२ जनाले ३/३ पटक चुनाव जितेका छन्।
२०४८, २०५१ र २०५६ मा कांग्रेसले लमजुङका दुवै निर्वाचन क्षेत्र एकछत्र जितेको इतिहास छ। २०६४ र २०७० को संविधान सभा निर्वाचन तथा संघीयतापछि २०७४ र २०७९ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भने मिश्रित परिणाम देखिएको छ।
दलगत निर्वाचितको अवस्थाः
कांग्रेसबाट प्रतिनिधि सभा (संविधान सभासमेत) सदस्यमा प्रत्यक्षतर्फ ४ जना र समानुपातिकतर्फ १ जना निर्वाचित भएका छन्। प्रदेश सभामा प्रत्यक्षतर्फ २ जना र समानुपातिकतर्फ २ जना सांसद बनेका छन्।
एमालेबाट प्रतिनिधि सभा (संविधान सभासमेत) सदस्यमा प्रत्यक्षतर्फ २ जना, समानुपातिकतर्फ ३ जना र राष्ट्रिय सभामा १ जना निर्वाचित भएका छन्। प्रदेश सभामा प्रत्यक्षतर्फ २ जना (पृथ्वीसुब्बा गुरुङसमेत) र समानुपातिकतर्फ २ जना निर्वाचित भएका छन्।
माओवादी (हाल नेकपा) बाट प्रतिनिधि सभा (संविधान सभासमेत) सदस्यमा प्रत्यक्षतर्फ २ जना र समानुपातिकतर्फ ३ जना निर्वाचित भएका छन्। प्रदेश सभामा समानुपातिकतर्फ १ जना सांसद बनेका छन्।
२०४८ः कांग्रेसको सुरुवाती दबदबाः
२०४८ को निर्वाचनमा लमजुङ क्षेत्र नं. १ मा तत्कालीन संयुक्त जनमोर्चाका देवप्रसाद गुरुङलाई पराजित गर्दै कांग्रेसका रामचन्द्र अधिकारी निर्वाचित भए। उनले १६ हजार ६ सय ७८ मत ल्याए भने गुरुङले १० हजार ७ सय ८९ मत पाए। त्यसबेला एमालेले केशवलाल श्रेष्ठको उम्मेदवारी फिर्ता गरी गुरुङलाई समर्थन गरेको थियो।
क्षेत्र नं. २ मा एमालेका पृथ्वीसुब्बा गुरुङलाई पराजित गर्दै कांग्रेसका रामबहादुर गुरुङ १९ हजार ९ सय २२ मतसहित विजयी भए। पृथ्वीसुब्बा १२ हजार ८ सय ६१ मतमा रोकिए।
२०५१ः पुनः कांग्रेसकै पकडः
२०५१ मा क्षेत्र नं. १ बाट रामचन्द्र अधिकारी र क्षेत्र नं. २ बाट रामबहादुर गुरुङ पुनः निर्वाचित भए। रामचन्द्रले १३ हजार २ सय २३ मत ल्याए भने एमालेका केशवलाल श्रेष्ठ ९ हजार ७ सय २९ मतमा सीमित भए।
क्षेत्र नं. २ मा रामबहादुरले १५ हजार ९ सय २० मत प्राप्त गरे। पृथ्वीसुब्बा गुरुङ १४ हजार ३ सय ४२ मतमा रोकिए। पछि रामचन्द्र अधिकारी स्वास्थ्य सहायक मन्त्री बने।
२०५६ः पुनः कांग्रेसको जितः
२०५६ को आम निर्वाचनमा रामबहादुर गुरुङ क्षेत्र नं. १ बाट १६ हजार ६ सय ५ मतसहित विजयी भए। एमालेका मायानाथ अधिकारी १४ हजार ३ सय ५२ मतमा पराजित भए।
क्षेत्र नं. २ मा कांग्रेसका हरिभक्त अधिकारी १९ हजार २६ मतसहित विजयी भए। एमालेका पृथ्वीसुब्बा गुरुङ १८ हजार ६ सय ९९ मतमा पराजित भए। एमाले विभाजन हुँदा तत्कालीन मालेका डोलबहादुर (डीबी) कार्कीले १ हजार १ सय ६९ मत ल्याएका थिए, जसका कारण पृथ्वीसुब्बा पराजित भए।
रामबहादुर गुरुङ जलस्रोत राज्यमन्त्री बने। हरिभक्त अधिकारीको २०७८ सालमा निधन भएको छ।
२०६४ः कम्युनिष्ट (एमाले–माओवादी) उदयः
२०६४ को पहिलो संविधान सभा निर्वाचनमा क्षेत्र नं. १ बाट तत्कालीन नेकपा (माओवादी) का बुद्धिराम गुरुङ २१ हजार ४४ मतसहित विजयी भए। कांग्रेसका तुलसीनारायण श्रेष्ठ १० हजार ५ सय ३२ मत र एमालेका मायानाथ अधिकारी ९ हजार १ सय ८६ मतमा सीमित भए।
क्षेत्र नं. २ बाट पृथ्वीसुब्बा गुरुङ पहिलो पटक एमालेबाट १९ हजार ५ सय ८३ मतसहित विजयी भए। कांग्रेसका दिलबहादुर घर्ती १३ हजार ६ सय ९९ मत र माओवादीका मधु अधिकारी गुरुङ ९ हजार ४ सय ९५ मतमा पराजित भए।
त्यसपछि शान्ति प्रक्रियापछि कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा पृथ्वीसुब्बा गुरुङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने।
यसै निर्वाचनबाट एमालेका डोलबहादुर (डीबी) कार्की र माओवादीकी हिमकुमारी सुनार समानुपातिक संविधान सभा सदस्य बने।
२०७०ः मिश्रित परिणामः
संविधान सभाको दोस्रो निर्वाचन २०७० मा क्षेत्र नं. १ बाट एमालेका जमीन्द्रमान घले ११ हजार ३ सय ९९ मतसहित विजयी भए। कांग्रेसका टकराज गुरुङ १० हजार ४ सय ११ मतमा पराजित भए। तत्कालीन एकीकृत नेकपा (माओवादी) का देवेन्द्र पराजुली ६ हजार ३ सय ५५ मतमा तेस्रो स्थानमा रहे।
क्षेत्र नं. २ बाट कांग्रेसका चन्द्रबहादुर कुँवर विजयी भए। पृथ्वीसुब्बा गुरुङ १४ हजार ९३ मतमा पराजित भए। एनेकपा (माओवादी) का पारसमणि पौडेल ५ हजार २ सय ९५ मतसहित तेस्रो स्थानमा रहे।
यस निर्वाचनबाट कांग्रेसका दिलबहादुर घर्ती, एमालेका टुकाभद्र हमाल र भीष्मनाथ अधिकारी समानुपातिक संविधान सभा सदस्य बने।
२०७४ः संघीय संरचनापछिः
नयाँ संविधान लागू भएपछि २०७४ मा लमजुङ एउटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सीमित भयो। एमाले–माओवादी वाम गठबन्धनका देवप्रसाद गुरुङ ३९ हजार ४ सय ६८ मतसहित विजयी भए। कांग्रेसका दिलबहादुर घर्ती ३१ हजार ६७ मतमा पराजित भए।
राष्ट्रिय सभामा एमालेकी दीपा बस्नेत गुरुङ निर्वाचित भइन्।
प्रदेश (२) बाट पृथ्वीसुब्बा गुरुङ २३ हजार ८८ मतसहित विजयी भई गण्डकी प्रदेश का पहिलो मुख्यमन्त्री बने। कांग्रेसका कृष्णप्रसाद कोइराला १५ हजार १ सय २२ मतमा पराजित भए।
प्रदेश (१) बाट एमालेका धनञ्जय दवाडी विजयी भए। यस निर्वाचनमा प्रदेशतर्फ एमालेका मायानाथ अधिकारी र माओवादी केन्द्रकी मधु अधिकारी गुरुङ समानुपातिक सांसद बने।
२०७९ः संघमा एमाले–प्रदेशमा कांग्रेसः
२०७९ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका देवप्रसाद गुरुङ, एमालेका पृथ्वीसुब्बा गुरुङसँग पराजित भए। देवप्रसादले ३१ हजार ७ सय ९१ मत ल्याउँदा पृथ्वीसुब्बाले ३४ हजार ९ सय ८५ मत पाए। यस निर्वाचनबाट माओवादी केन्द्रकी उर्मिला माझी समानुपातिक सांसद बनिन्। पृथ्वीसुब्बा गुरुङ पछि सञ्चारमन्त्री बने।
प्रदेश (१) बाट कांग्रेसका टकराज गुरुङ १८ हजार ५ सय १५ मतसहित विजयी भए। एमालेका जमीन्द्रमान घले १७ हजार ३ सय ४५ मतमा पराजित भए।
प्रदेश (२) बाट कांग्रेसका भेषबहादुर पौडेल १९ हजार ५ सय ६० मतसहित विजयी भए। एमालेका कृष्णप्रसाद अधिकारी १८ हजार ८ सय १० मतमा पराजित भए। टकराज गुरुङ आर्थिक मामिलामन्त्री र पौडेल वन तथा वातावरणमन्त्री छन्।
यस निर्वाचनबाट प्रदेशतर्फ कांग्रेसका पार्वती तामाङ र टीकाकुमारी बस्याल तथा एमालेकी यशोदा रिमाल समानुपातिक सांसद निर्वाचित भए।
अबको जित कस्कोः
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै छ। लमजुङमा १२ जनाले उम्मेदवारी दिएका छन्। कुल मतदाता १ लाख ३७ हजार १ सय २४ जना छन्, जसमा ६९ हजार ५ सय २४ महिला र ६७ हजार ६ सय पुरुष छन्।
२०७९ को निर्वाचनको तुलनामा यसपटक ३ हजार ४ सय मतदाता थपिएका छन्।
यसपटकको निर्वाचन रोचक देखिएको छ । कांग्रेस–एमालेको दबदबामा अहिले रास्वपा पनि मिसिएको छ । अबको निर्वाचन कस्ले जित्ला ? सर्वत्र चासोको विषय बनेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२ १०:०४