लमजुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उमेश ढुंगानासहित ३२ जनाविरुद्ध सवारी दर्ता प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।
ढुंगाना गत पुस १७ गतेदेखि जिल्ला प्रशासन कार्यालय लमजुङमा सिडिओका रूपमा कार्यरत छन् । उनी लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका तत्कालीन सचिव (सहसचिव) हुँदा भएको सवारी दर्ता अनियमिततामा मुछिएको आयोगको दाबी छ ।
आयोगका अनुसार यातायात व्यवस्था कार्यालय नेपालगञ्ज, बाँकेमा भारतीय चोरीका तीन सवारीसाधन आर्थिक लेनदेनमार्फत दर्ता गरिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानका क्रममा राष्ट्रसेवक र गैर–राष्ट्रसेवक प्रतिवादीहरूको मिलेमतोमा भन्सार छली गरी गैरकानुनी रूपमा नेपाल ल्याइएका ‘ब्रेजा’ सवारीलाई सरकारी अभिलेखमा प्रविष्ट गरी वैध बनाइएको पुष्टि भएको आयोगले जनाएको छ ।
बागमती प्रदेश ०१–०२६ च ७९४४ र बा १६ च ९१८३ नम्बरका सवारीसम्बन्धी नक्कली प्रज्ञापनपत्र, झुट्टा रसिद तथा गलत पत्र ब्यहोरा तयार गरी सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) जारी गरिएको आयोगको आरोप छ । सवारी धनीलाई जानकारी नदिई सरकारी अभिलेखमा प्रविष्ट गरी भन्सार छली सवारीलाई वैध बनाउने बदनियत देखिएको आयोगको दाबी छ ।
अनुसन्धानका क्रममा दर्ता प्रक्रियामा संलग्न कर्मचारीहरूले प्रचलित कानुनविपरीत छानबिन समिति गठन गरेको, प्रतिवेदन मिलेमतोमा अघि बढाएको तथा कसुरसँग सम्बन्धित कागजात लुकाउने र नष्ट गर्ने प्रयास गरेको तथ्य फेला परेको आयोगले जनाएको छ । केही सरकारी अभिलेख प्रतिवादीहरूको घर ठेगानाबाट बरामद भएको पनि उल्लेख गरिएको छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिम ढुंगानामाथि कैद र जरिवानाको मागदाबी गरेको छ ।
मुद्दामा यातायात व्यवस्था कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख लोकबहादुर सुनार, वरिष्ठ लेखा अधिकृत दिनेश सिंह ठाकुर, अधिकृत नरभूपाल पौडेल, कम्प्युटर अधिकृत शक्ति ठाकुर, मेकानिकल सुपरभाइजर पुष्करराज शर्मा र सुशीलकुमार शर्मा, अधिकृत प्रेमप्रसाद उपाध्याय, काशीलाल अधिकारी, वरिष्ठ शाखा अधिकृत रविन्द्र केसी, अधिकृत मधुकरजंग शाह, नायब सुब्बा चित्रबहादुर महतारा, गोपाल शर्मा, मुकुन्दराज केसी, सहायक लेखापाल ओमराज गिरी, कम्प्युटर अपरेटर ९करार० मनोज गिरीलगायत प्रतिवादी बनाइएका छन् ।
यसैगरी लुम्बिनी प्रदेश मन्त्रालयका उपसचिव रमेश गौतम, वरिष्ठ शाखा अधिकृत प्रदीप खनाल, मेकानिकल इन्जिनियर भरतकुमार कार्की तथा यातायात व्यवस्था कार्यालय साना–ठूला सवारी, एकान्तकुना, ललितपुरका अधिकृत हरिबहादुर विष्ट र प्रकाश अधिकारीसमेत प्रतिवादी रहेका छन् ।
गैर–राष्ट्रसेवकतर्फ बब्लु अली अन्सारी, सुनिला देवी चौधरी, अनिस तामाङ, बलीराम यादव, सूर्यकला पण्डित क्षेत्री घिमिरे, शरदकुमार गोराथोकी, राजकुमार चौधरी, गोकुलप्रसाद श्रेष्ठ, नीता भुर्तेल महर्जन, गेहेन्द्र पौडेल र महेशकुमार नेपालीविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२ २२:३०