बेलायतमा २५ मे आइतबार आयोजना गरिने गोर्खा कपको २३ औं संस्करणको भव्य तयारी गरिएको छ । अल्डरशट ह्याम्पसायरस्थित क्वीन्स एभिन्यू स्पोट्र्स फिल्ड (खेलमैदान) मा तमू धीं यूकेले एकैदिन मे २५ मा २३ औं गोर्खा कपको आयोजना गर्दैछ ।
आयोजकले तमू धीं यूकेले २३ औं गोर्खा कपको तयारीबारे जानकारी दिन मिचेटस्थित आफ्नो भवनमा शनिबार पत्रकार भेटघाट समेत आयोजना गरेको थियो ।
कार्यक्रममा संस्थाका खेलकुद सचिव एवम् गोर्खा कप संयोजक दीपक घलेले बिहान ९ः३० बजेबाटै खेल सुरु भएर साँझ ८ बजे समापन हुने जानकारी दिए । उनले यसपटक मेन क्याटेगोरिजतर्फ ३२, भेट्रानतर्फ १६ र महिलाको २ टिमले प्रतिष्पर्धा गर्ने जानकारी दिए ।
सन् १९९६ मा ७ ए साइडबाट सुरु भएको गोर्खा कप २३ औं संस्करण आइपुग्दा विदेशमा नेपालीले आयोजना गर्ने उत्कृष्ट र ठूलो कार्यक्रम बन्न पुगेको छ ।

प्रतियोगितामा मेन क्याटेगोरिज वीनरलाई ३ हजार पाउण्ड, रनर अप १८०० पाउण्ड, भेट्रान वीनर १५०० र रनर अपलाई एकहजार पाउण्ड एवं लेडिजतर्फ वीनरलाई ६ सय र रनर अप हुनेलाई ४ सय पाउण्ड नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने तमू धीं यूकेले जनाएको छ ।
गोर्खा कपमा प्यारासुट डिस्प्ले, नेपालबाट युरोपमा खेल्ने पहिलो महिला राष्ट्रिय खेलाडी सावित्रा भण्डारी (साम्बा) को प्रत्यक्ष उपस्थिति रहनेछ । यस्तै, गोरक घले र इंग्ल्याण्ड फुटबल टिमका खेलाडीहरुको सहभागिता रहनेछ । कार्यक्रममा सांस्कृतिक कार्यक्रम, स्वास्थ्य शिविर (दन्त परीक्ष) समेत गरिने आयोजकले जनाएको छ । कार्यक्रमस्थलमा अल्डरशट टाउन फुटबल क्लबले हालै जितेको एफए ट्रफीकपको ट्रफी समेत प्रदर्शनमा राखिनेछ ।
गोर्खा कपमा व्यापारिक, च्यारिटी, प्रहरीलगायतका कूल १२५ वटा स्टल रहनेछन् । सुरक्षा प्रवन्ध, फुड सेफ्टी र मादक पदार्थ प्रतिवन्ध (नो अल्कोहल पोलिसी) रहने आयोजकले जनाएको छ । गोर्खा कपमा हालसम्म उत्कृष्ट प्रदर्शन गर्ने १ जना खेलाडीलाई लिजेन्ड अफ द फुटबल सम्मान समेत प्रदान गरिने भएको छ । गोर्खा कपमा प्रवेश शुल्क ५ पाउण्ड र कार पार्क शुल्क पनि ५ पाउण्ड राखिएको छ । १२ वर्ष मुनीकालाई भने प्रवेश निःशुल्क दिइनेछ ।

आयोजकका अनुसार गोर्खा कपको अनुमानित खर्च ९० हजार पाउण्ड रहेको छ । गतवर्ष ७५ हजार पाउन्ड खर्च भएकोमा यसवर्ष बृद्धि हुने आयोजकले जनाएको छ । गोर्खा कपमा १५ देखि २० हजार जना दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा तमू धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले गोर्खा कपमा सहभागिताका लागि सवै बेलायतबासीलाई आग्रह गरे । उनले गोर्खा कप सवै नेपालीको प्रतिष्ठित कार्यक्रम भएको समेत बताए । उनले प्रचार प्रसारका लागि विशेष गरि नेपाल पत्रकार महासंघ र सहयोगी सबै सञ्चारकर्मीलाई अनुरोध आभार व्यक्त गरे ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिएका थिए । मिडिया सेक्रेटरी एस के गुरुङले सञ्चारकर्र्मीको परिचय गराएका थिए । संस्थाका अध्यक्ष गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङले सञ्चारकर्मीलाई टोकन अफ लभसहित सम्मान गरे ।
टिम ड्र संयोजक हिराबहादुर गुरुङ, सहसंयोजक कुमार घले र सल्लाहकार कुमार गुरुङले टिम ड्र गराएका थिए । अध्यक्ष गुरुङ, गोर्खा कप संयोजक दीपक घले, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ लगायतले ड्र गरेका थिए ।
टिम ड्रका सहसंयोजक कुमार घलेले मेन क्याटेगोरिजमा ४२ टिम र भेट्रानतर्फ १८ टिमले आवेदन दिएपनि सबैलाई लिन नसकिएको बताए ।

सो अवसरमा संस्थाका पूर्व अध्यक्ष तथा ट्रष्टी हितकाजी गुरुङ, ट्रष्टी एवं संस्थापक कोषाध्यक्ष सूर्य गुरुङ, सल्लाहकारहरु क्याप्टेन राजु गुरुङ, मेजर डेमबहादुर गुरुङ, ले. चन्द्र गुरुङ, डेभिड गुरुङ, धनकाजी गुरुङ, हुमकुमारी गुरुङ, सल्लाहकार एवम् आमा समूहकी संस्थापक अध्यक्ष पुनम गुरुङ, गोरे गुरुङ, लोक गुरुङ, मेजर कृष्ण गुरुङ, एबी गुरुङलगायतलाई अध्यक्ष गुरुङले सम्मान गरेका थिए ।
हर्क गुरुङ प्रतिष्ठानका तर्फबाट लोक गुरुङले अध्यक्ष गुरुङलाई प्रमाणपत्र प्रदान गरेका थिए । उक्त अवसरमा आजीवन सदस्यलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा आमा समूहकी पूर्व महासचिव यशोदा गुरुङले आमा समूह अध्यक्ष गुरुङलाई १० वटा टिसर्ट र ७ वटा टोपी हस्तान्तरण गरेकी थिइन् । यशोदाले गत वर्ष ४० वटा टिसर्ट प्रायोजन गरेकी थिइन् ।
उक्त अवसरमा तमू धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्व अध्यक्ष एवं एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङ, तमू धीं यूकेका पूर्व अध्यक्षहरुहरु रामचन्द्र गुरुङ, ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, हरि गुरुङ तथा सल्लाहकारहरु सूर्य गुरुङ, ले. रि. चन्द्रबहादुर गुरुङ, एनआरएन आइसीसी सदस्य दिलरास गुरुङ, डेभिड गुरुङ, पुनम गुरुङ, कार्य समितिका उपाध्यक्ष कमल गुरुङ, दिलमाया गुरुङ, सचिव विमल गुरुङ, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष विमला सेनेलगायतको उपस्थिति थियो । औपचारिक कार्यक्रमको सञ्चालन संस्थाका महासचिव डा. विशाल गुरुङले गरेका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२ १६:०४