बेलायतमा बसोबास गर्दै आएका भूतपूर्व गोर्खा सैनिक तथा नेपाली समुदायका ज्येष्ठ नागरिकलाई लक्षित गरी ‘वेलस्ली सामुदायिक बगैँचा’ निर्माण गरिएको छ ।
ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको पहलमा निर्माण गरिएको बगैँचाको शनिबार (१४ नोभेम्बर) मा उद्घाटन गरिएको छ ।
रश्मूर बरो काउन्सिलका मेयर काउन्सिलर पिटर क्युल्लम र जीआरएनसीकी अध्यक्ष लीला सेलिङ माबो लिम्बूले संयुक्त रूपमा बगैंचाको उद्घाटन गरे । उद्घाटनअघि बौद्ध धर्मगुरु अमृत गुरुङ र हिन्दू धर्मगुरु मधुसूदन सापकोटाले धार्मिक विधिअनुसार पूजापाठ गरेका थिए।
वेलस्ली सामुदायिक बगैँचा फूल र तरकारी रोप्ने थलो मात्र नभई बेलायतमा रहेका नेपाली अग्रजहरूको सक्रिय जीवन, स्वास्थ्य र सामाजिक सम्बन्धलाई प्रवर्द्धन गर्ने साझा स्थलका रूपमा विकास गर्ने लक्ष्य राखिएको जीआरएनसीले जनाएको छ। विशेषगरी भूतपूर्व गोर्खा सैनिक तथा उनीहरूका परिवारका ज्येष्ठ सदस्यले आफ्नो पुर्ख्यौली कृषि सीप र अनुभवलाई पुनः उपयोग गर्दै फलफूल, सागसब्जी तथा मौसमी फूल उत्पादन गर्न सक्नेछन्।
बेलायतको व्यस्त जीवनशैलीमा एक्लोपन महसुस गर्न सक्ने ज्येष्ठ नागरिकलाई घरबाहिर निस्कने, शारीरिक गतिविधिमा सहभागी हुने र साथीभाइसँग भेटघाट गर्ने अवसर प्रदान गर्नु परियोजनाको अर्को उद्देश्य हो।
मेयर क्युल्लमले सामुदायिक बगैँचाको अवधारणाको प्रशंसा गर्दै यस्ता पहलले ज्येष्ठ नागरिकलाई सक्रिय, स्वस्थ र सामाजिक रूपमा जोडिराख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
जीआरएनसीकी अध्यक्ष लिम्बूले बगैँचा उद्घाटनलाई संस्थाले अघि बढाएका सामुदायिक परियोजनामध्ये ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरिन्। उनका अनुसार यो परियोजना सामूहिक प्रयास, समर्पण, सहकार्य र सहयोगीहरूको उदारताको परिणाम हो।
बगैँचा निर्माणको प्रारम्भिक अवधारणा ल्याउने प्रहरी सामुदायिक सहयोग अधिकृत दुर्गा थापा र हेथर चाक्लीप्रति उनले विशेष आभार व्यक्त गरिन्। त्यस्तै, परियोजनाको सुरुवाती चरणदेखि सहयोग गर्ने अवकाशप्राप्त क्याप्टेन विष्णु श्रेष्ठ, ट्रस्टी अवकाशप्राप्त क्याप्टेन ग्यारी घले, अवकाशप्राप्त क्याप्टेन महेन्द्र लिम्बू, शोभा गुरुङ, दिलबहादुर थापा, स्वर्गीय फागुहाङ लिम्बू, पूर्वअध्यक्ष रामधन राई र निवर्तमान अध्यक्ष मान गुरुङलगायतको योगदानको स्मरण गरिन्।
जग्गा हस्तान्तरण गर्नुअघि दूषित माटोको उपचार तथा व्यवस्थापनमा सहयोग पुर्याउने ग्रेनजर पीएलसी, लुसी क्रफोर्ड र उनको टोलीलाई पनि उनले धन्यवाद दिइन्। बगैँचा निर्माणका लागि फर्नबरो विमानस्थल कोष, क्यान इन्टरनेसनल, डा. बलराम ढकाल र गोविन्द बेल्वासेले अनुदान तथा आर्थिक सहयोग उपलब्ध गराएका थिए।
रश्मूर बरो काउन्सिल, उपमेयर जीब बेल्वासे, पूर्वकाउन्सिलरहरू चार्ल्स चौधरी, प्रवेश केसी र नाडिया मार्टिन साथै वर्तमान काउन्सिलरहरू उत्तरबहादुर गुरुङ, सोफी पोर्टर र धन सार्कीलगायतको सहयोगप्रति पनि अध्यक्ष माबोले कृतज्ञता व्यक्त गरिन्।
परियोजनाका संयोजक तथा जीआरएनसीका उपाध्यक्ष डा. विशाल गुरुङले बगैँचा निर्माणको जिम्मेवारी सम्हाल्न पाउँदा खुसी लागेको बताए। अल्डरशट आसपास बसोबास गर्ने नेपाली आमाबुबाको मानसिक तथा शारीरिक स्वास्थ्यमा सकारात्मक योगदान पुर्याउनुका साथै उनीहरूले गाउँघरमा सिकेको परम्परागत कृषि सीप र अनुभवलाई पुनः प्रयोग गर्ने अवसर यसले प्रदान गर्ने उनको विश्वास छ।
उनले अभियानलाई सफल बनाउन अल्डरशट आसपासका अग्रज व्यक्तित्व तथा सम्पूर्ण नेपाली समुदायको साथ, सहयोग र सहभागिता आवश्यक रहेको बताए।
परियोजनाको आवश्यक कागजी प्रक्रिया व्यवस्थापनमा जीआरएनसीका महासचिव अवकाशप्राप्त लेफ्टिनेन्ट सुनील रानाले भूमिका निर्वाह गरेका थिए। निर्माण तथा उद्घाटन कार्यक्रम सफल बनाउन धर्मगुरु अमृत गुरुङ, मधुसूदन सापकोटा, विमल गुरुङ, दिलरास गुरुङ, श्रेया गुरुङ, अनिल थापासहित संस्थाका ट्रस्टी, सल्लाहकार, कार्यसमिति सदस्य तथा स्वयंसेवकले सहयोग गरेका थिए।
अध्यक्ष लिम्बूले संस्थाका पूर्वअध्यक्षहरू रामचन्द्र गुरुङ, रोहित गुरुङ, ओम थापा काउचा र रामधन राईसहित सम्पूर्ण अग्रज, ट्रस्टी क्याप्टेन (अवकाशप्राप्त) तम ढेगा, सल्लाहकारहरू शेर सुनुवार, सन्त गुरुङ र एकेन्द्र गुरुङ, नेफिन यूकेका सल्लाहकार ज्ञाम गुरुङ, तमुधीं यूके आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ तथा प्रहरी सामुदायिक सहयोग अधिकृतहरूप्रति पनि आभार व्यक्त गरिन्।
उनका अनुसार वेलस्ली सामुदायिक बगैँचा एउटा हरियाली क्षेत्र मात्र नभई सामुदायिक एकता, मित्रता र सहकार्यको प्रतीक हो। यसले सबै उमेर समूहका मानिसलाई एकै ठाउँमा भेटघाट गर्ने, आराम गर्ने र प्रकृतिसँग रमाउने अवसर प्रदान गर्नेछ।
जीआरएनसीले वेलस्ली सामुदायिक बगैँचालाई भूतपूर्व गोर्खा परिवारका ज्येष्ठ नागरिकमा सीमित नराखी समुदायका सबै उमेर समूहका मानिसका लागि साझा भेटघाट र मनोरञ्जनको हरियाली स्थलका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
बेलायतमा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली ज्येष्ठ नागरिकका लागि आफ्नै गाउँघरको खेतीपाती र सामुदायिक जीवनशैलीको झल्को दिने यो पहलले पुस्ताबीचको सम्बन्ध बलियो बनाउनुका साथै नेपाली मौलिक सीप र संस्कृतिलाई नयाँ परिवेशमा जीवन्त राख्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३ २१:४०