नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई मर्स्याङ्दी गाउँपालिकाले विशेष सम्मान गर्ने भएको छ। सावित्राको दीर्घकालीन योगदान, अन्तर्राष्ट्रिय उपलब्धि र गाउँको गौरव बढाएकोमा गाउँपालिकाले उनलाई सम्मान गर्न लागेको हो।
कार्यक्रम मर्स्याङ्दी गाउँपालिकाको कार्यालयस्थित राष्ट्रकवि माधव प्रसाद घिमिरे बैठक कक्ष, भुलभुले, लमजुङमा हुनेछ। साउन ८ गते दिउँसो साढे १२ बजेदेखि सुरु हुने कार्यक्रममा साम्बासँग गाउँपालिकाभित्र रहेका अण्डर–१९ फुटवल खेलाडीहरुसंग अन्तरक्रिया समेत हुने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।
सावित्रा भण्डारीको घर मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानी पामचोक बाँसबोटे हो। सुदूर गाउँबाट सुरु भएको उनको यात्रा अहिले अन्तर्राष्ट्रिय फुटबलसम्म फैलिएको छ।
हालै मात्र साम्बा न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लब सँग अनुबन्धित भएकी छन्। अष्ट्रेलियाको ए–लिग महिला फुटबल को नयाँ सिजनका लागि क्लबले उनलाई अनुबन्ध गरेको हो। यसअघि उनले फ्रान्सको एन अभान्ट ग्वेंगाम्प क्लबबाट खेलेकी थिइन् र सामाजिक सञ्जालमार्फत उक्त क्लबसँगको यात्रा समाप्त भएको जानकारी गराएकी थिइन्।
सावित्राको फुटबल यात्रा निकै अन्तर्राष्ट्रिय बनिसकेको छ। उनले इजरायल, भारत, माल्दिभ्स लगायतका देशमा विभिन्न लिगमा सहभागी भइ नेपालको प्रतिनिधित्व गरिसकेकी छन्। नेपाली महिला फुटबलको इतिहासमै सर्वाधिक गोलकर्तामध्ये एक सावित्राको योगदानले देशकै खेलकुद क्षेत्रमा प्रेरणा प्रदान गरेको छ।
गाउँपालिकाले आयोजना गर्न लागेको यो सम्मान कार्यक्रमले स्थानिय युवामा थप उत्साह जगाउने विश्वास लिइएको छ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०८२ १६:०४