तमु धीं यूकेले बेलायतमा आयोजना गरेको आजीवन सदस्य रात्रिभोज कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। नेपालीको बाक्लो बसोबास रहेको अल्डरशटस्थित एम्पायर हलमा १८ अक्टोबर २०२६ मा आयोजित कार्यक्रममा संस्थाका आजीवन सदस्य, सल्लाहकार, समाजसेवी तथा बेलायतका विभिन्न क्षेत्रमा सक्रिय नेपाली समुदायका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो।
तमु धीं यूकेले संस्थामा योगदान पुर्याउने आजीवन सदस्यको सम्मान, संस्थागत योगदानको कदर तथा तमु समुदायबीचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले हरेक वर्ष रात्रिभोज आयोजना गर्दै आएको छ। यस वर्षको कार्यक्रममा पनि संस्थाप्रति योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्नुका साथै तमु समुदायको मौलिक संस्कृति, भेषभूषा र सांगीतिक परम्पराको प्रवर्द्धन गरिएको थियो।
कार्यक्रममा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, तमु प्ये ल्हुसंघ यूकेका अध्यक्ष क्या. डेमबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, क्या. राजु गुरुङ तथा वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक परशु गुरुङलगायतको उपस्थिति रहेको थियो। बेलायतका विभिन्न बरोका नेपाली मेयर, काउन्सिलर, संस्थाका मानार्थ सदस्य तथा समुदायका अगुवाहरू पनि कार्यक्रममा सहभागी थिए।
कार्यक्रमको उद्घाटन अध्यक्ष जुमकाजी गुरुङ, कार्यवाहक राजदूत दुवाडी, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, क्या। राजु गुरुङ र वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक परशु गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए।
कार्यक्रममा तमु धीं यूकेले यस वर्ष संस्थाका सल्लाहकार सन्तकुमार गुरुङ, कोलप्रसाद गुरुङ, बेनकुमार गुरुङ, ललितमान गुरुङ, ह्यारी गुरुङ र चन्द्रबहादुर गुरुङलाई ‘आदर्श तमु २०२६’ सम्मान प्रदान गरेको थियो।
यस्तै, समाजसेवी तथा कार्यसमितिका पूर्वसदस्य लिडिया गुरुङ र समाजसेवी बिन्दु गुरुङलाई ‘आदर्श तमुस्यो २०२६’ सम्मानबाट सम्मानित गरिएको थियो।
दक्षिणपूर्वी क्षेत्रमा ‘सेभेन सिस्टर्स’का रूपमा परिचित ८ दिदीबहिनी पार्वती (माइला) गुरुङ, कमला गुरुङ, विष्णु गुरुङ, कमला गुरुङ, तारा गुरुङ, कमला गुरुङ, बेनिता गुरुङ र लक्ष्मी गुरुङलाई पनि सम्मान गरिएको थियो। यसैगरी, जंगबहादुर गुरुङ र काठमाडौंको सुनधारामा ओम आशीर्वादलगायत होटल व्यवसाय सञ्चालन गर्दै आएका विजय गुरुङलाई विशेष सम्मान प्रदान गरिएको थियो।
तमु समुदायको मौलिक पहिरन र सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित पहिरन प्रतियोगितामा पुरुषतर्फ कूलचन्द्र गुरुङ प्रथम र दिक्पाल गुरुङ दोस्रो भएका थिए। महिलातर्फ बिनु गुरुङ प्रथम र यामकुमारी गुरुङ दोस्रो भएका थिए।
कार्यक्रममा तमु धीं यूकेले नेपालमा सञ्चालन गरेका सामाजिक गतिविधि पनि प्रस्तुत गरिएको थियो। भोटेकोशी बाढीपीडितलाई राहत वितरण तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम हस्तान्तरण गर्न अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा बेलायतबाट नेपाल गएको छ सदस्यीय टोलीका गतिविधिबारे जानकारी गराइएको थियो। साथै, तमु सांस्कृतिक प्रतिष्ठान नेपालको गतिविधि समेटिएका भिडियोसमेत प्रदर्शन गरिएको थियो।
कार्यक्रमको तमु धीं यूकेका ट्रस्टी, पूर्वप्रधानाध्यापक, साहित्यकार, चलचित्र निर्माता एवं वरिष्ठ गीतकार एकेन्द्र गुरुङको रचनामा तयार भएको ‘तमु धीं यूके श्रद्धाको मन्दिर हो’ बोलको गीत विमोचन गरिएको थियो। पवित्र गुरुङ र विजय गुरुङको स्वर रहेको उक्त गीतले संस्थाप्रतिको सम्मान र आत्मीयतालाई अभिव्यक्त गरेको छ।
यसैगरी, तमु धीं लन्डन इकाइका महासचिव एवं युवा साहित्यकार विकास गुरुङ ‘रक’को रचनामा पवित्र गुरुङले स्वर दिएको ‘हे भगवान् के विपत् हो यो’ बोलको गीत पनि सार्वजनिक गरिएको थियो।
तमु धीं यूकेकी सांस्कृतिक सहसचिव बिनु गुरुङको संयोजनमा सम्पन्न सांस्कृतिक कार्यक्रममा बेलायत आएकी गायिका पवित्र गुरुङ र प्रिय गुरुङले गीत प्रस्तुत गरेका थिए। शिवदास गुरुङलगायत स्थानीय कलाकारका प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए।
तमु समुदायको मौलिक संस्कृति, कला र संगीतलाई उजागर गर्नुका साथै सामाजिक एकता र संस्थागत सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रमले सहभागीहरूबीच आत्मीयता र सद्भाव अभिवृद्धि गरेको थियो।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन वरिष्ठ उपाध्यक्ष परशु गुरुङले गरेका थिए । महासचिव डा. विशाल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।
प्रकाशित मिति: बिहीबार, कात्तिक ५, २०८३ २२:५२