तमू धीं यूकेले नेपाली दूतावासको सहकार्यमा आगामी अगष्ट २४ (भदौ ८ गते) आइतबार लन्डनमा १६ औं नेपाली मेलाको आयोजना गर्ने भएको छ। संस्थाले मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। मेलाको अनुमानित खर्च करिब ५१ हजार पाउन्ड हुने अनुमान गरिएको छ।
सन् २००९ देखि निरन्तर हुँदै आएको नेपाली मेलाले सबै जातजातिको धर्म, संस्कृति, भेषभूषा र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्दै आएको छ। हरेक वर्षझैँ यसपटक पनि बेलायतका विभिन्न स्थानबाट हजारौँ नेपालीहरूको सहभागिता रहनेछ।
कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे रहनेछन् भने उज्यालो नेपाल अभियन्ता कुलमान घिसिङ विशेष अतिथि हुनेछन्। मेला संयोजक कमल कोने गुरुङका अनुसार नेपाली संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन र नेपाली समुदायबीचको एकता बलियो बनाउन यो मेला आयोजना गरिएको हो।
अध्यक्ष जुमकाजी गुरुङले नेपाली मेला तमू धीं यूकेको मात्र नभई सम्पूर्ण नेपाली समुदायको साझा पर्व भएको बताए। उनले यसलाई सफल बनाउन सबैको सहभागिताको आग्रह गर्दै, मेलाबाट हुने आम्दानी सामाजिक कार्यमा खर्चिने जानकारी दिए। गत वर्षको मेला र गोर्खा कपबाट संकलित रकम लमजुङमा च्यारिटीका लागि प्रयोग गरिएको उल्लेख गरे।

यसपटकको मेलामा अपांगता भएका व्यक्ति र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई प्रवेश तथा पार्किङ शुल्क नलाग्ने व्यवस्था गरिएको छ। साथै बेलायतस्थित विभिन्न देशका कूटनीतिक नियोग, नेपाल तथा युरोपबाट पनि सहभागिता रहने अपेक्षा गरिएको छ।
महासचिव डा। विशाल गुरुङले मेलाको मौलिकता जोगाउन ठूलो परिवर्तन नगरिएको बताए। उनले आगामी दिनमा युवाहरूलाई अझ प्रोत्साहन दिँदै मेलालाई निरन्तरता दिन योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे। वरिष्ठ उपाध्यक्ष परशु गुरुङले दोस्रो पुस्ताले पनि यसलाई निरन्तरता दिने प्रयास भइरहेको भन्दै स्वागत मन्तव्य दिएका थिए।
नेपाली मेला ूमिनी नेपालू को रूपमा परिचित छ। यसमा ३५ भन्दा बढी जातजाति, संघसंस्था तथा सांस्कृतिक समूहहरूको झाँकी प्रदर्शन, १५ भन्दा बढी लोकनृत्य तथा संगीत प्रस्तुति हुनेछन्। साथै, हस्तकला, परम्परागत भेषभूषा, व्यवसायिक तथा च्यारिटी स्टलसहित करिब ७० भन्दा बढी नेपाली खानाका स्टल राखिनेछन्। स्टलहरूको व्यवस्थापन स्टल संयोजक तथा तमू धीं यूकेकी उपाध्यक्ष दिलमाया गुरुङले गर्ने जानकारी दिइन्।
प्रतियोगितामा ‘एम्बासडर कप’ अन्तर्गत प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः ११०० पाउन्ड, ७०० पाउन्ड र ५०० पाउन्ड नगद पुरस्कार दिइनेछ। त्यस्तै, उत्कृष्ट झाँकी प्रदर्शनका लागि पनि प्रथम, द्वितीय र तृतीय हुनेलाई ५००, ३०० र २०० पाउन्ड प्रदान गरिनेछ। मेलामा आकर्षक सुनका गहनासहितको लक्की ड्रको समेत व्यवस्था गरिएको छ।
बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म चल्ने यो भव्य महोत्सव नेपाल र नेपालीहरूको गौरव बनेको छ। आयोजकले बेलायतवासी सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई सफल बनाउन आग्रह गरेका छन्।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२ ०८:४९