बेलायतको लण्डनस्थित केम्पटन पार्कमा आज आइतबार १६औं नेपाली मेला भव्य रूपमा आयोजना हुँदैछ। तमू धीं यूकेले नेपाली दूतावासको सहकार्यमा आयोजना गर्न लागेको यो मेलाका लागि मञ्च व्यवस्थापनदेखि स्टल निर्माणसम्मका सबै तयारी पूरा गरिएको आयोजकले जनाएका छन्। अध्यक्ष जुमकाजी गुरुङका अनुसार उद्घाटन कार्यक्रम मात्र बाँकी रहेको छ।
सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको नेपाली मेलाले सबै जातजातिको धर्म, संस्कृति, भेषभूषा र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्दै आएको छ। यसपटक पनि बेलायतका विभिन्न स्थानबाट हजारौँ नेपालीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
मेलामा प्रमुख अतिथि रूपमा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे रहनेछन् भने उज्यालो नेपाल अभियन्ता कुलमान घिसिङ विशेष अतिथि हुनेछन्। त्यसैगरी गण्डकी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य बेदबहादुर गुरुङ (श्याम), पूर्व सांसद एवम् लोकप्रिय गायिका कोमल ओलीलगायत अतिथि हुने कार्यक्रम तय गरिएको छ।
मेला संयोजक कमल कोने गुरुङका अनुसार यसपटक अपांगता भएका व्यक्ति र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई प्रवेश तथा पार्किङ शुल्कमा छुट दिने व्यवस्था गरिएको छ। साथै, बेलायतस्थित विभिन्न देशका कूटनीतिक नियोग, नेपाल र युरोपका प्रतिनिधिहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको छ।
महासचिव डा. विशाल गुरुङले मेलाको मौलिकता जोगाउन ठूलो परिवर्तन नगरिएको र भविष्यमा युवापुस्तालाई अझ बढी प्रोत्साहन दिँदै निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे। वरिष्ठ उपाध्यक्ष परशु गुरुङले दोस्रो पुस्ताले पनि यसलाई निरन्तरता दिने प्रयास भइरहेको भन्दै स्वागत मन्तव्य दिएका थिए।
‘मिनी नेपाल’ का रूपमा परिचित यस मेलामा विभिन्न जातजाति, संघसंस्था तथा सांस्कृतिक समूहहरूको झाँकी प्रदर्शन, लोकनृत्य, संगीत प्रस्तुति, हस्तकला, परम्परागत भेषभूषा, व्यवसायिक तथा च्यारिटी स्टलसहित नेपाली खानाका स्टलहरू राखिनेछन्। स्टल संयोजक तथा तमू धीं यूकेकी उपाध्यक्ष दिलमाया गुरुङका अनुसार सहभागीहरूलाई नेपालकै वातावरण अनुभूति हुने गरी विविध कार्यक्रम प्रस्तुत गरिनेछ।
आयोजकले बेलायतवासी सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई मेलालाई सफल बनाउन आह्वान गरेका छन्।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२ १२:३२