बेलायतको पश्चिम लन्डनस्थित केम्प्टन पार्क आइतबार दिनभर नेपालकै झल्कोमा रंगिएको थियो। नेपाली राजदूतावासको सहकार्यमा तमू धीं यूकेले आयोजना गरेको १६ औं नेपाली मेलामा करिब १२ हजार दर्शकको सहभागिता रह्यो। घोडा दौडका लागि निर्मित सो पार्क एकदिनका लागि नेपाली कला, संस्कृति र परम्पराको प्रदर्शनीस्थल बनेको थियो।
सन् २००९ देखि निरन्तर हुँदै आएको यो मेलाले पछिल्ला वर्षहरूमा अझ भव्य स्वरुप पाउँदै गएको आयोजक संस्थाका अध्यक्ष जुमकाजी गुरुङले बताए। उनका अनुसार मेलाले नेपालभित्रका विविध जातजाति, धर्म, भेषभूषा र संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय समुदायलाई नेपाल चिनाउने अवसर दिएको छ।

मेला संयोजक तथा उपाध्यक्ष कमल गुरुङका अनुसार यसपटक ३५ भन्दा बढी सांस्कृतिक झाँकी र १५ भन्दा बढी लोकनृत्य प्रस्तुत गरिएको थियो। भक्तपुरको गाइजात्रादेखि गुरुङ समुदायको घ्याब्रे, पच्यु र लामा नाच, मगर, राई, क्षत्रीलगायत समुदायको र्याली र लोपोन्मुख दुरा जातिको सांस्कृतिक प्रस्तुति मेलामा आकर्षण बने। कोरियन नृत्यसहितका आधुनिक प्रस्तुति पनि मेलामा समावेश गरिएका थिए।
नेपाली हस्तकला, परम्परागत भेषभूषा, व्यवसायिक तथा च्यारिटी स्टलसहित ७० भन्दा बढी स्टल राखिएको थियो। स्टल संयोजक दिलमाया गुरुङका अनुसार सहभागीहरूले नेपाली परिकार, कपडा, गहना र हस्तशिल्पसँगै आधुनिक उत्पादन र च्यारिटीमार्फत सहयोग गर्ने अवसर पाए।

मेलामा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कूलमान घिसिङ, गण्डकी प्रदेशका पूर्वमन्त्री संसाद बेदबहादुर गुरुङ (श्याम) लगायतको उपस्थिति थियो। गायिका तथा पूर्वसांसद कोमल ओली, कलाकार पवित्रा गुरुङ, प्रिया गुरुङ, विमल परियार, कृष्ण रेउले र आशराम गुरुङले प्रस्तुतिलाई जीवन्त बनाए। हङकङको गुरुङ फिल्म एसोसिएसनकी अध्यक्ष माया गुरुङ र अमेरिकाबाट आएकी कलाकार एन्सर्ज गुरुङ पनि विशेष आकर्षण बनेका थिए।

मेलामा पुराना साथीहरूबीचको पुनर्मिलनका भावुक क्षणहरू पनि साटासाट भए। कास्की मादी गाउँपालिका–२, ताङतिङका पूर्ववडाअध्यक्ष एकजङ गुरुङले ३० वर्षपछि खिलाङका साथीलाई भेट्दा मनमा अपार खुशी लागेको बताए। यस्ता भेटघाटले विदेशमा रहेका नेपालीबीच आत्मीय सम्बन्ध अझ प्रगाढ बनाएको सहभागीहरूको भनाइ छ।
तमू धीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङले मेला नेपाली समुदायबीच एकता सुदृढ गर्न, संस्कृतिको संरक्षणमा योगदान पुर्याउन र पर्यटन प्रवर्द्धनमा सहयोगी बन्ने विश्वास व्यक्त गरे। संस्कृतिविद् तथा लेखक एकेन्द्र गुरुङले बेलायतमा यो मेला ‘मिनी नेपाल’ को परिचय दिलाउँदै आएको उल्लेख गरे। महासचिव डा. विशाल गुरुङले भने, ‘नेपाली मौलिकता जोगाउन, नयाँ पुस्तामा संस्कृतिको पुस्तान्तरण गर्न र नेपाल चिनाउन मेलाको भूमिका दिनानुदिन बढ्दै गएको छ।’

एकैदिनमा १२ हजारभन्दा बढी दर्शकले अवलोकन गरेको यसपटकको नेपाली मेला बेलायतमा मात्र नभई युरोपका विभिन्न देश, नेपाल र अमेरिका हुँदै आएका नेपालीहरूको साझा सांस्कृतिक भेटघाट बनेको छ। उत्साहित सहभागी, रंगीन झाँकी, परम्परागत नृत्य, आकर्षक स्टल र चर्चित कलाकारहरूको उपस्थिति मिलेर केम्प्टन पार्क साँच्चै नेपालकै प्रतिबिम्ब बनेको तमू धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले सुनाए ।
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२ ०३:४४