तमु धीं यूकेको आयोजनामा बेलायतमा बसोबास गर्ने तमु (गुरुङ) समुदायले आफ्नो नयाँ वर्ष ‘त ल्हो’ आगमनको अवसरमा भव्य रुपमा ल्होछार मनाएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा २७ डिसेम्बरका दिन विशेष कार्यक्रमको आयोजना गरेर तमु धीं यूकेले यसवर्षको ल्होछार मनाएको हो।
औपचारिक कार्यक्रमको नेपाली दूतावास, लन्डनका कार्यवाहक राजदूत वीपिन दुवाडी, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, तमु फोरमका निर्देशक राजु गुरुङ, तमु प्हे ल्हु संघका अध्यक्ष क्या। डेमबहादुर गुरुङ, कार्यक्रम संयोजक परशु गुरुङ तथा आमन्त्रित कलाकार केशबहादुर गुरुङ र सलोमी गुरुङले एकसाथ दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए। कार्यक्रममा देव घलेले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएका थिए।

कार्यक्रममा तमु ल्होछारको शुभकामना व्यक्त गर्दै नेपाली दूतावास, लन्डनका कार्यवाहक राजदूत दुवाडीले तमु धीं यूकेले गोर्खा कप र नेपाली मेला जस्ता कार्यक्रममार्फत नेपाल र नेपाली पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न योगदान गरेको भन्दै खुशी व्यक्त गरे।
कार्यक्रममा हेलिसा गुरुङ र विष्णु गुरुङले स्वागत नृत्य प्रस्तुत गरे। कार्यक्रममा एकेन्द्र गुरुङ प्रमुख सम्पादक रहेका प्रकाशित बेलायतका तमु समुदायको मुखपत्र ‘फ्रेसी’ को लोकार्पण गरिएको थियो।
कार्यक्रममा अशोक गुरुङ, बिन्दु गुरुङ घले, मोहनजङ गुरुङ, संगीता गुरुङ, कुमार गुरुङ, लिडिया गुरुङ, पद्म गुरुङ, प्रकाश गुरुङ र पञ्चा गुरुङलाई सामुदायिक पुरस्कारबाट सम्मान गरिएको थियो।
तमु प्रतिभा पुरस्कारबाट सिभाली गुरुङ र रेखमाया गुरुङलाई सम्मान गरिएको थियो। यसवर्ष ‘डा. हर्क अवार्ड’ जीसीएससीमा ११ वटा ए (स्टार) प्राप्त गर्ने अविरल गुरुङलाई प्रदान गरिएको छ। उक्त अवार्डसंगै उनले ५ सय पाउन्ड नगद, ट्रफी र प्रशंसा पत्र पाएका छन्।

कार्यक्रममा ब्रिगेडियर जनरल अनुप शाह, लेफ्टिनेन्ट अबिराज शाह र लेफ्टिनेन्ट कर्णेल ललित गुरुङलाई सम्मान गरिएको थियो। साथै नेपालबाट आएका तमु ह्युला छोँ धीं गुरुङ राष्ट्रिय परिषद्का उपाध्यक्ष मनोज गुरुङलाई स्वागत तथा सम्मान गरिएको थियो।
पहिलो चरणको औपचारिक कार्यक्रम महासचिव डा. विशाल गुरुङ र सचिव विमल गुरुङले सञ्चालन गरेका थिए।
सांस्कृतिक कार्यक्रममा नेपाल आइडल सिजन–६ की उपविजेता सलोमी गुरुङ र चर्चित युवा गायक केशबहादुर गुरुङले आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन दिलाएका थिए। कार्यक्रममा स्थानीय कलाकारहरूले समेत आकर्षक नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रम संयोजक एवम् तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङका अनुसार परम्परागत गुरुङ भेषभूषाहरु चोलो, घलेक, फरिया, निलो पटुकी, पिरुमाला, भाङ्ग्रा, बख्खु, सेतो कछाड, ढाका टोपीलगायतमा सजिएका गुरुङ समुदायको बाक्लो उपस्थितिले कार्यक्रमलाई भव्य बनाएको थियो। उनले कार्यक्रम सफल भएको बताए।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले उपस्थित सबैजनालाई धन्यवाद व्यक्त गर्दै नयाँ ‘त ल्हो’ ले सबैको परिवारमा सुख, शान्ति र समृद्धिको कामना गरे।
आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङले कार्यक्रम सफल बनाउन आमा समूहको सक्रिय भूमिका रहेको भन्दै सबैप्रति धन्यवाद ज्ञापन गरिन्। सांस्कृतिक कार्यक्रम हेलिसा गुरुङ र अमुशा गुरुङले सञ्चालन गरेका थिए।
तस्बिरः गोर्खा मिडिया
प्रकाशित मिति: शनिबार, पुस १९, २०८२ २०:५०