बेलायतस्थित नेपालीहरुको प्रतिष्ठित संस्था तमु धीं यूकेले ‘२४ औँ गोर्खा कप २०२६’ सबै तयारी पूरा भएको जनाएको छ ।
संस्थाको मिचेटस्थित आफ्नै भवनमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे विस्तृत विवरण सार्वजनिक गरिएको हो ।
नेपालबाहिर आयोजना हुने नेपालीहरुको सबैभन्दा ठूलो र वृहत खेलकुद इभेन्ट मानिने गोर्खा कप आगामी मे २४ तारिखका दिन अल्डरशटस्थित क्विन्स एभिन्यू मैदानमा भव्य रुपमा सञ्चालन हुँदैछ ।
पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक एवं संस्थाका स्पोट्र्स सेक्रेटरी दीपक घलेले गोर्खा कपको गौरवमय इतिहास, खेलस्थलको व्यवस्थापन, सुरक्षा चुनौती तथा समग्र तयारीबारे जानकारी दिए । गत मार्च ९ मा सम्पन्न प्रमुख समीक्षा बैठकबाट प्राप्त सुझावलाई आत्मसात गर्दै यसपटकको इभेन्टलाई विगतभन्दा अझ परिष्कृत, व्यवस्थित र सुरक्षित बनाइएको संयोजक घलेले दाबी गरे ।

यस वर्ष प्रतियोगितामा कुल ५६ टिमले सहभागिता जनाउने निश्चित भएको छ । जसमा पुरुष (मेन) तर्फ ३८, भेट्रान्सतर्फ १६ र महिलातर्फ २ टिमबीच प्रतिस्पर्धा हुनेछ । सन् १९९६ मा ‘७–ए साइड’बाट सुरु भएको गोर्खा कप २४ औँ संस्करणसम्म आइपुग्दा ‘९–ए साइड’को वृहत स्वरुपमा स्थापित भइसकेको छ । नेपाली युवाहरु माझ खेल विकास, आपसी भेटघाट, लागूऔषधको लत न्यूनीकरण तथा स्थानीय बेलायती समुदायसँग समन्वय र समायोजन बढाउनु नै गोर्खा कपको मुख्य उद्देश्य रहेको आयोजकले प्रष्ट पारेको छ ।
यसपटक प्रतियोगिताको पुरस्कार राशिमा समेत आकर्षक वृद्धि गरिएको छ । मुख्य विधा (पुरुष) तर्फको विजेताले ३ हजार ५ सय पाउन्ड, १५ वटा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ हजार पाउन्डमा चित्त बुझाउनु पर्नेछ । यस्तै, भेट्रान्सतर्फको विजेतालाई १ हजार ८ सय पाउन्ड र उपविजेतालाई १ हजार २ सय पाउन्ड प्रदान गरिनेछ । महिलातर्फको विजेताले ६०० पाउन्ड र उपविजेताले ४०० पाउन्ड नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेलाई ‘लिजेन्ड अफ द गोर्खा कप’ उपाधिबाट समेत सम्मानित गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ३ लाख ५० हजार पाउन्ड (सवा ७ करोड रुपैयाँ बढी) खर्च हुने अनुमान गरिएको छ । खेल मैदानमा दर्शक र खेलप्रेमीहरुका लागि विशेष आकर्षणका रुपमा १२६ वटा स्टलहरु रहनेछन् । जसमा १९ वटा रेस्टुरेन्ट, ३८ वटा लत्ताकपडा पसल, ४६ वटा विज्ञापन स्टल, १७ वटा च्यारिटी स्टल, २ वटा बबल टी स्टल, ३ वटा आइसक्रिम भ्यान र एउटा केक सप रहनेछन् । यस वर्ष बालबालिकाको मनोरञ्जनका लागि बेलुन वाल, जेट प्लेन, डट गेम तथा फेरिस ह्विलसहितको विशेष ‘फन फेयर’ समेत थप गरिएको छ ।
बेलायतमा हालै बढाइएको सुरक्षा सतर्कताको स्तरलाई ध्यानमा राख्दै आयोजकले सुरक्षा व्यवस्थामा विशेष कडाइ गर्ने जनाएको छ । ब्रिटिश आर्मी, स्थानीय काउन्सिल र सञ्चारमाध्यमहरुसँग समन्वय गरी कार्यक्रमलाई मर्यादित बनाउन संस्था कटिबद्ध रहेको आयोजकले बताएको छ । मैदानभित्र मदिरा सेवन गर्न, ड्रोन उडाउन र कुनै पनि प्रकारका हतियार ओसारपसार वा बिक्री वितरण गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

यसपटक नेपालबाट अतिथि खेलाडीहरु ल्याउन नसकिए पनि स्कटल्यान्डको अन्डर–१५ टोलीबाट व्यावसायिक फुटबल खेलिरहेकी उदयमान नेपाली चेली मेलिसा रेग्मीको विशेष उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।
बिहान ठीक ९ बजेदेखि खेल सुरु भई राति ८ बजेभित्र समापन गरिसक्ने तालिका तय गरिएको छ । खेल हेर्नका लागि प्रतिव्यक्ति प्रवेश शुल्क ५ पाउन्ड तोकिएको छ । पार्किङका हकमा कार र मिनीबसका लागि ५ देखि १० पाउन्ड र ठूला कोचका लागि १५ पाउन्ड शुल्क निर्धारण गरिएको छ । आयोजकले कुल २२ हजार थान टिकट छापिएको र दर्शकको सहजताका लागि अनलाइनबाट पनि टिकट किन्न सकिने व्यवस्था मिलाएको छ ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा मिडिया सेक्रेटरी एसके गुरुङले पत्रकारहरूको बुँदागत परिचय गराएका थिए ।
कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य राख्दै गोर्खा कप गुरुङहरुको मात्र नभई समग्र नेपाली समुदायको गौरव भएकाले सबैलाई सहभागी भइदिन अपिल गरे । सोही अवसरमा आमा समूहकी पूर्व महासचिव यशोदा गुरुङले आमा समूहलाई ४० वटा मफलर हस्तान्तरण गरेकी थिइन्, जसलाई संस्थाका महिला अध्यक्ष कमलादेवी गुरुङले ग्रहण गरिन् ।

कार्यक्रममा संस्थाका पूर्व स्पोट्र्स सेक्रेटरी देव घले र ह्याम्पसायर इकाइ अध्यक्ष लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा सचिव विमल गुरुङले धन्यवाद ज्ञापन गर्दै प्रायोजकहरुबारे जानकारी गराएका थिए । महासचिव डा. विशाल गुरुङले स्वास्थ्य तथा सुरक्षासम्बन्धी ब्रिफिङसहित कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा तमू धीं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, वर्तमान उपाध्यक्षहरु कमलबहादुर गुरुङ, दिलमाया गुरुङ, पूर्वअध्यक्षहरु कमल गुरुङ, हरि गुरुङ, ज्ञाम गुरुङ, हितकाजी गुरुङ, रामचन्द्र गुरुङ (सूर्जे), ट्रष्टी सूर्य गुरुङ, सल्लाहकार दिलरास गुरुङलगायत कार्यसमितिका पदाधिकारी, सदस्य, सल्लाहकार, ट्रष्टीहरुको उपस्थिति थियो ।
तस्बिरः बीएफबीएस रेडियो
प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३ १७:५१