लमजुङका उच्च तथा ग्रामीण भेगमा असार लाग्नुअघि नै धान रोपाईं सुरु भएको छ ।
पर्याप्त चिस्यान, सिँचाइ सुविधा र पछिल्ला दिनमा भएको वर्षासँगै जिल्लाका विभिन्न फाँटमा किसानहरू रोपाईंमा जुटेका हुन् ।
कृषि विकास कार्यालय लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीका अनुसार लेकाली क्षेत्रमा, जहाँ पर्याप्त चिस्यान छ, त्यहाँ धान रोपाईं सुरु भइसकेको छ । चिस्यान र सिँचाइ पुगेका स्थानमा रोपाईं सुरु भएको र विस्तारै तल्लो क्षेत्रमा पनि रोपाईं बढ्ने उनले बताए ।
क्व्होलासोथार गाउँपालिका–४ भुजुङको घिम्चेफाँट, क्व्होलासोथार गाउँपालिका–५ सिङ्दीको तम्रखेत तथा मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुको घेर्मुफाँटमा किसानले धान रोप्न थालेका छन् । भुजुङका यमबहादुर गुरुङले घिम्चेफाँटमा शनिबारदेखि धान रोपाइँ सुरु भएको बताए । उनका अनुसार गाउँलेले तामरे (ताक्मरे) प्रजातिको धान रोप्न थालेका छन् । स्थानीय जातको ताक्मरे धान भुजुङमा मात्र खेती गर्ने गरिएको गाउँलेहरूको दाबी छ ।
स्थानीय तुलबहादुर गुरुङका अनुसार घिम्चे खेतमा सिँचाइको व्यवस्था रहेकाले जेठ अन्तिमसम्म आधाभन्दा बढी खेतमा धान रोपिसकिन्छ । क्व्होलासोथार गाउँपालिका–४ भुजुङका वडाध्यक्ष नारायण गुरुङका अनुसार घिम्चेफाँटमा धान रोपिसकेपछि तल्ह्यु, राम्चे, कौंदी, किज्गुँलगायत स्थानमा धान रोप्ने गरिन्छ । मकै खेती नगरिने घिम्चे फाँटमा सुरुमै धान रोप्ने चलन रहेको उनले बताए । अन्य फाँटमा भने असारमा मकै भाँचेर धान रोपाइँ गरिन्छ ।
उनले भने, ‘भुजुङको घिम्चेमा लगाएको धान असोजमै भित्र्याइन्छ । त्यसपछि उक्त स्थानमा गाईभैंसीका गोठ ल्याएर राखिन्छ । गोठहरू विस्तारै अन्य फाँट तथा स्वाँरातर्फ सरेपछि गहुँ, जौलगायत बाली लगाइन्छ ।’
क्व्होलासोथार गाउँपालिका–५ सिङ्दीका वडाअध्यक्ष गीतबहादुर गुरुङले सिङ्दीमा आइतबारदेखि रोपाइँ सुरु भएको बताए । सोमबारदेखि धमाधम खेत रोपाइँ सुरु भएको छ । स्थानीय वर्तमाया गुरुङले गाउँका वासिन्दा धान रोप्न व्यस्त हुन थालेको बताइन् ।
यता, मर्स्याङ्दी गाउँपालिका–५ को घेर्मुफाँटमा पनि सोमबारदेखि धान रोपाइँ सुरु भएको छ । घेर्मुफाँटकी धनकुमारी गुरुङ (तमुस्यो काशी) का अनुसार गाउँले किसान सबैजना जुटेर धान रोप्न थालेका छन् । स्थानीय बिर्ख गुरुङले घेर्मुफाँटका लागि सिँचाइको व्यवस्था रहेको र पछिल्ला दिनहरूमा पानी पनि पर्न थालेकाले पानीको अभाव नभएको बताए ।
उनका अनुसार घेर्मुफाँटमा मार्सी र केही हाइब्रिड धान रोप्न थालिएको छ । यहाँ जौधान, गोरीलगायत स्थानीय जातका धान पनि खेती गरिँदै आएको छ । पछिल्लो वर्षहरूमा हाइब्रिड धान रोप्ने क्रम बढेको वडाध्यक्ष घनश्याम घलेले बताए ।
लमजुङको भुजुङभन्दा माथि यस क्षेत्रमा बस्ती छैन । मर्स्याङ्दीको घेर्मुभन्दा माथि गाउँ र खेत भए पनि धानबाली नहुने स्थानीय किसान बताउँछन् । घेर्मुफाँटमा धान रोप्न थालेपछि तल्लो क्षेत्रका बाहुनडाँडा, भुलभुलेलगायत स्थानमा पनि धान रोपाइँ सुरु हुने गर्छ । पश्चिमोत्तर क्षेत्रमा भुजुङ र उत्तरी क्षेत्रमा घेर्मुमा धान रोपाइँ सुरु भएपछि लमजुङका तल्लो क्षेत्रमा रोपाइँको चहलपहल बढ्छ ।
कृषि विकास कार्यालयका अनुसार लमजुङमा कुल ६१ हजार ८ सय १९ हेक्टर खेतीयोग्य जमिन रहेको छ । यसमध्ये ४५ हजार ५० हेक्टरमा खेती गरिन्छ । गत आर्थिक वर्ष ९ हजार २ सय ९९ हेक्टरमा धान रोपाइँ हुँदा ३५ हजार ३ सय ३६ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष ८२ हेक्टरमा चैते धान रोपिएकोमा उत्पादन आउन बाँकी रहेको रेग्मीले बताए ।
लमजुङका राइनासटार, धमिलिकुवा, भलाखर्क, चक्रतीर्थ, रामचोकबेंसी, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, परेवाडाँडा, सुन्दरबजार, सत्रसयलगायतका ठूला फाँटमा बढी धान खेती हुने गरेको छ ।
ग्रामीण भेगमा स्थानीय जातका धान रोपिँदै आए पनि तल्लो क्षेत्रका फाँटमा रामधान, सुनौलो सुगन्ध, सुख्खा–२, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्रलगायत उन्नत जातका धान लगाइँदै आएको छ । यस्तै लोकनाथ, गोरखनाथ, यूएस–३१२, मकवानपुर, वर्षे–३००४, मनसुलीलगायतका हाइब्रिड जातका धान पनि खेती गरिन्छ । पानी कम हुने क्षेत्रमा किसानले सुख्खा–१, सुख्खा–२ र सुख्खा–३ जातका धान लगाउने गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३ १७:२५