लमजुङ सदरमुकाम बेँसीशहरमा आगामी असोज १० गते ‘माया गुरुङ सांगीतिक साँझ’ कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रमबारे आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङले शनिबार बेँसीसहरमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गरेको हो।
वरिष्ठ लोकगायिका माया गुरुङ (देवीमाया थापा गुरुङ) को चार दशकभन्दा लामो सांगीतिक योगदानको सम्मान गर्दै आयोजना गर्न लागिएको कार्यक्रमबाट कलाकार कल्याणकारी कोष स्थापना गर्ने उद्देश्य राखिएको प्रतिष्ठानले जनाएको छ। बेँसीशहर नगरपालिका–८ स्थित फूलबारी मञ्चमा अपराह्न ४ बजेदेखि सुरु हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त लोक तथा दोहोरी कलाकारहरूको प्रस्तुति रहनेछ। कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति ३ सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ।
प्रतिष्ठानका अध्यक्ष प्रशान्त तामाङले नेपाली लोकसंगीतका अग्रज कलाकारको सम्मानसँगै कलाकारहरूको सामाजिक सुरक्षालाई संस्थागत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार कार्यक्रमबाट करिब ३० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। करिब १३ लाख रुपैयाँ खर्च कटाएर बचत हुने झन्डै १७ लाख रुपैयाँबाट ‘कलाकार कल्याणकारी कोष’ स्थापना गरिनेछ। उक्त कोष आर्थिक अभाव, स्वास्थ्य उपचार, दुर्घटना तथा अन्य आपत्कालीन अवस्थामा कलाकारलाई सहयोग गर्न प्रयोग गरिने उनले जानकारी दिए।
कार्यक्रम संयोजक अनुज अधिकारीले मौलिक नेपाली लोकभाकाको संरक्षण र प्रवर्द्धनसँगै अग्रज कलाकारप्रति सम्मान व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको बताए। कलाकारको जीवनयापन सहज बनाउन दीर्घकालीन रूपमा सहयोग पुग्ने गरी कल्याणकारी कोष स्थापना गर्ने लक्ष्य रहेको उनको भनाइ थियो।
बेँसीसहर नगरपालिका–५, नाल्मामा जन्मिएकी माया गुरुङ नेपाली लोकसंगीतको मौलिक पहिचान स्थापित गर्ने अग्रज गायिकामध्ये एक हुन्। पत्रकार सम्मेलनमा उनले सांगीतिक साँझ कार्यक्रम आफ्नो जीवनको सवैभन्दा महत्वपूर्ण कार्यक्रम हुने र सबैलाई हर तवरले सक्दो सहयोग गर्न आग्रह गरिन् ।
बाल्यकालदेखि नै गुरुङ समुदायको रोधी, मेलापात, विवाह, पूजापर्व र गाउँघरमा गुञ्जिने लोकभाकासँग हुर्किएकी उनले औपचारिक संगीत शिक्षा नलिए पनि गाउँकै सांस्कृतिक परिवेशलाई आफ्नो संगीत विद्यालय बनाइन्। करिब १२ वर्षको उमेरदेखि सार्वजनिक रूपमा गीत गाउन थालेकी उनी वि.सं. २०४० सालदेखि व्यावसायिक रूपमा लोकसंगीत क्षेत्रमा सक्रिय छिन्।
उनको सांगीतिक यात्राले राष्ट्रिय पहिचान भने वि.सं. २०४५ साल फागुन ७ गते प्राप्त गरेको थियो। रेडियो नेपालद्वारा आयोजित अञ्चलव्यापी खुला लोकगीत प्रतियोगितामा उमा गुरुङसँग मिलेर प्रस्तुत गरेको ‘गाउँशहरमा लमजुङ दरबार’ गीत प्रथम भएपछि उनले स्वर्ण पदक प्राप्त गरेकी थिइन्। त्यसपछि उक्त गीत रेडियो नेपालबाट नियमित प्रसारण हुँदै देशभर लोकप्रिय बनेको थियो। आज पनि यो गीत नेपाली लोकसंगीतका कालजयी सिर्जनामध्ये एक मानिन्छ।
चार दशकभन्दा लामो सांगीतिक यात्रामा उनले दुई सयभन्दा बढी लोकगीतमा स्वर दिएकी छन् भने ११ वटा गीति एल्बम सार्वजनिक गरिसकेकी छन्। ‘गाउँशहरमा लमजुङ दरबार’, ‘सैलुङे डाँडा नाल्माको’, ‘माया सरर’, ‘खुर्पेटो डोकोले’, ‘आइदेऊ सुखी लाइदेऊ पिरती’, ‘डाँडैको देवी देउराली’, ‘आशामारा चुरोट’ र ‘फलेसाँघु बजार’ उनका चर्चित गीत हुन्। उनका अधिकांश गीतले लमजुङ, गण्डकी क्षेत्र र गुरुङ समुदायको मौलिक संस्कृति, भाषा, भेषभूषा तथा ग्रामीण जीवनलाई उजागर गरेका छन्।
लोकसंगीतमा पुर्याएको योगदानका लागि गुरुङ रेडियो नेपालको स्वर्ण पदक, नेपाल सरकारको ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ पदक, गण्डकी प्रज्ञा प्रतिष्ठानको ‘गण्डकी प्रतिष्ठान नारी सम्मान’ लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भइसकेकी छन्। गत वर्ष लमजुङ सेवा समिति हङकङले आयोजना गरेको ‘मस्र्याङ्दी नाइट–६’ मा सहभागी हुँदै उनले पहिलो पटक विदेशमा सांगीतिक प्रस्तुति पनि दिएकी थिइन्।
प्रतिष्ठानले अग्रज कलाकारको सम्मान, नेपाली मौलिक लोकसंगीतको संरक्षण तथा कलाकारहरूको सामाजिक सुरक्षाका लागि स्थापना गर्न लागिएको कल्याणकारी कोषको अभियानलाई सफल बनाउन कलाकार, सञ्चारकर्मी, शुभेच्छुक तथा आम नागरिकलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।
कार्यक्रममा गण्डकी प्रदेशका प्राज्ञ सदस्य बसन्त अधिकारी, बेंसीशहर नगरपालिका ५ का वडाअध्यक्ष इन्द्रबहादुर गुरुङ, वडा नं. ८ की अध्यक्ष पवित्रा थापा राना, नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष सन्देश पौडेल, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठ, प्रतिष्ठानका पूर्वअध्यक्ष खेमजङ गुरुङलगायतले शुभकामना मन्तव्य राखे । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य चित्र दुराले गरेका थिए ।
प्रकाशित मिति: शनिबार, साउन ९, २०८३ १६:३७