बेलायतको मध्य लन्डनदेखि करिब १३ माइल पश्चिममा रहेको केम्प्टन पार्क रेसकोर्स आइतबार नेपाली कला, संस्कृति र परम्पराले रंगियो।
घोडा दौडका लागि प्रसिद्ध उक्त मैदानमा आयोजित १७ औं नेपाली मेला यसपटक नेपालमा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला पीडितका लागि सहयोग जुटाउने सन्देशसहित सम्पन्न भएको छ।
नेपाली त्रिकोणात्मक झण्डाले मेलामा छुट्टै रौनक थपेको थियो। इङ्ल्यान्डसँगै वेल्स, स्कटल्यान्ड र नर्दन आयरल्यान्डका विभिन्न स्थान तथा युरोपका स्पेन, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, जर्मनीलगायत देशमा बस्दै आएका नेपालीसमेत मेलामा पुगेका थिए। बेलायतस्थित नेपाली समुदायको ठूलो सांस्कृतिक जमघटका रूपमा स्थापित मेलामा यसपटक करिब १० हजार सहभागी भएको आयोजकको दाबी छ। नेपाली दूतावास लन्डनको सहकार्यमा तमु धीं यूकेले मेला आयोजना गर्दै आएको छ।
मेलाले नेपाली कला, संस्कृति, परम्परा र सामुदायिक एकताको उत्सवसँगै बाढीपहिरो प्रभावित नागरिकका लागि मानवीय सहयोगको सन्देश दिएको तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले बताए। ‘यसपटकको मेला केवल संस्कृति र मनोरञ्जनमा सीमित रहेन, मातृभूमिमा आइपरेको विपत्तिमा सहयोग गर्ने अवसर पनि बनेको छ,’ उनले भने।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भइरहेका बेला पूर्वनिर्धारित कार्यक्रम भएकाले मेला निरन्तरता दिइएको आयोजकले जनाएको छ। मेलाबाट प्राप्त सम्पूर्ण नाफा तथा थप सहयोग नेपालका बाढीपीडितका लागि पठाइने भएको छ। तमु धीं यूकेले नाफाको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा पठाउने जनाएको छ।
मेलाकै दिन बाढीपीडितका लागि ५ हजार पाउन्डभन्दा बढी रकम संकलन भएको मेला संयोजक एवं तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङले बताए। उनका अनुसार मेलाबाट संकलित रकममध्ये खर्च कटाएर बाँकी रकम नेपाल पठाइनेछ। तमु धीं यूकेको खातामा रहेको रकमसमेत थप गरी सहयोग गरिने उनले बताए।
तमु धीं यूकेका ट्रस्टी एकेन्द्र गुरुङले विगतका वर्षमा मेला कला, संस्कृति, परम्परा र मनोरञ्जनको उत्सवमा केन्द्रित रहे पनि यसपटक विपद्का बेला मातृभूमिसँग जोडिने माध्यम बनेको बताए। ‘मातृभूमिमा आइपरेको दुःखमा सहयोग गर्नु हाम्रो दायित्व हो,’ उनले भने।
मेलामा बेलायतभरिका ४२ नेपाली संघसंस्थाले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। २१ समूहले नृत्य प्रतियोगितामा सहभागिता जनाएका थिए। नेपाली समाजको विविधता, मौलिक संस्कृति, जातीय भेषभूषा, कला, परम्परा र जीवनशैली झल्काउने झाँकी तथा सांस्कृतिक प्रस्तुतिले केम्प्टन पार्कलाई दिनभर नेपालमय बनाएको तमु धीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङले बताए।
मेला सफल बनाउन तमु धीं यूकेको कार्यसमिति, आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङसहित पदाधिकारी, सदस्य तथा करिब २ सय स्वयंसेवक परिचालन गरिएको मेला संयोजक कमल गुरुङले बताए।
यस वर्षको एम्बासडर कप २०२६ झाँकी तथा नृत्य दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्दै पासा पुचः गुठी यूकेले जितेको छ। लगातार तेस्रोपटक उपाधि जित्दै उसले ह्याट्रिक गरेको हो। मगर संघ यूके फर्स्ट रनरअप र किरात राई यायोक्खा यूके सेकेन्ड रनरअप बने। उनीहरूले क्रमशः १ हजार ५ सय, ७ सय र ५ सय पाउन्ड पुरस्कार पाए।
एनआरएनए कप पनि पासा पुचः गुठी यूकेले जितेको छ। झाँकीतर्फ पासा पुचः गुठी यूके पहिलो, मगर संघ यूके दोस्रो र बर्न्ट ओक नेपाली समाज यूके तेस्रो भए। नृत्यतर्फ तनहुँ समाज यूके पहिलो, पासा पुचः गुठी यूके दोस्रो र किरात राई यायोक्खा यूके तेस्रो बने।
मेलामा नेपालबाट पुगेका कलाकार राजु लामा, राजु गुरुङ, दीप कोके गुरुङ, पशुपति राई, श्रीजना सुब्बा, प्रिया गुरुङ, रजनी गुरुङ, लक्ष्मी गुरुङलगायतले प्रस्तुति दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले विदेशमा रहेका नेपाली समुदायले कला, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। नेपाली मेलाले बेलायतमा रहेका विभिन्न समुदायलाई एक ठाउँमा जोड्नुका साथै नयाँ पुस्तालाई भाषा, संस्कृति र पहिचानसँग जोड्ने काम गरेको उनको भनाइ थियो।
कार्यक्रममा पूर्वउपसभामुख इन्दिरा राना मगर, सांसद मिङ्मा डेभिड शेर्पा, हरि बुढा मगर, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष डेमबहादुर गुरुङ, गायक राजु लामा, मेडवे बरो काउन्सिलकी पूर्वमेयर काउन्सिलर निना गुरुङ, नेपाल पत्रकार महासंघ यूकेकी अध्यक्ष बिमला सेने, एभरेस्ट टाइम्सका एसके गुरुङ, डा। दूत पुन र नगेन्द्र नेम्बाङलगायतलाई सम्मान गरिएको थियो।
मेलामा नेपाली खाना, व्यापारिक तथा च्यारिटी स्टल, स्वास्थ्य शिविर र राफल ड्रलगायत गतिविधि सञ्चालन गरिएको स्टल व्यवस्थापन संयोजक एवं तमु धीं यूकेकी उपाध्यक्ष दिलमाया गुरुङले बताइन्।
नेपाली मेला बेलायतमा रहेका नेपाली समुदायको सांस्कृतिक पहिचान, एकता र पुस्तान्तरणको महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको तमु धीं यूकेका सल्लाहकार दिलरास गुरुङले बताए। तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष पर्शु गुरुङका अनुसार यसपटक विपद्का बेला मातृभूमिप्रतिको दायित्व निर्वाह गर्ने सन्देशसमेत मेलाले दिएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३ १२:५१