लमजुङको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा पर्यटकीय गन्तव्यको राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘प्रथम टुर दि लमजुङ–२०२६’ आयोजना गरिने भएको छ।
लमजुङ साइक्लिङ संघले शनिबार मर्स्याङ्दी गाउँपालिका ८, भुलभुले हामखोलामा पत्रकार सम्मेलन गर्दै आगामी भदौ १९, २० र २१ गतेसम्म ३ दिन २ रात सञ्चालन हुने साइकल यात्रामा देशभरबाट करिब ४ सय साइकल यात्री सहभागी हुने जनाएको छ ।
संघका अध्यक्ष ध्रुवराम प्रधानका अनुसार कार्यक्रमले लमजुङलाई साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। उनले साइकल यात्रामार्फत जिल्लाको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्य राखिएको बताए।
कार्यक्रमको उद्घाटन बेँसीसहर नगरपालिका–८, शेरा चोकबाट हुनेछ। पहिलो दिन बेँसीसहर आसपासका क्षेत्रको यात्रा गरिनेछ । दोस्रो दिन बेँसीशहरबाट चण्डीडाँडा, बिन्दाबेँसी, बाग्लुङपानी, कपुरगाउँ हुँदै प्रसिद्ध पर्यटकीय गाउँ घलेगाउँसम्म साइकल यात्रा गराइने छ। तेस्रो दिन घलेगाउँबाट नायु, घनपोखरा, रोप्लेफाँट, साम्बा चोक, सुरुङमार्ग, भुलभुले हुँदै हमखोला झरनामा पुगेर कार्यक्रम समापन हुनेछ। सम्पूर्ण यात्रा करिब ४० किलोमिटर दूरीको रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ। सहभागीलाई आधिकारिक टी–सर्ट, कार्यक्रम ब्याग, दुई रातको आवास, ३ दिनको भोजन, घलेगाउँमा सांस्कृतिक कार्यक्रम तथा खाजा, पानी, फलफूल, ऊर्जा पेय र चकलेटलगायत रिफ्रेसमेन्टको व्यवस्था गरिने आयोजकले जनाएको छ। कार्यक्रम सञ्चालनका लागि करिब २८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य लमजुङको पर्यटन प्रवर्द्धन गर्नुका साथै नेपालमा साइकल पर्यटनको विकासलाई प्रोत्साहन गर्नु हो। यससँगै खेलकुदमार्फत स्वस्थ जीवनशैलीको प्रवर्द्धन, वातावरणमैत्री यातायातको सन्देश प्रवाह, युवा पुस्तालाई साहसिक पर्यटनतर्फ आकर्षित गर्ने, स्थानीय कला, संस्कृति, परम्परा र आतिथ्य व्यवसायलाई प्रवर्द्धन गर्ने तथा स्थानीय आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य राखिएको छ।
कार्यक्रमले विभिन्न जिल्लाबाट सहभागी हुने साइकल यात्रीबीच अनुभव आदानप्रदानको अवसर सिर्जना गर्ने विश्वास पनि आयोजकको छ। ग्रामीण क्षेत्रमा पर्यटकको आगमन बढ्दा स्थानीय होटल, होमस्टे, कृषि उत्पादन तथा साना व्यवसायमा प्रत्यक्ष आर्थिक लाभ पुग्ने अपेक्षा गरिएको छ। साथै पर्यावरण संरक्षण र दिगो पर्यटनको अवधारणालाई व्यवहारमा उतार्न पनि कार्यक्रमले सहयोग पुर्याउने आयोजकको भनाइ छ।
कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, बेँसीसहर नगरपालिका, क्व्होलासोथर गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका साथै विभिन्न सरकारी र निजी संस्थाले सहयोग गर्ने भएका छन्। आयोजकले सहभागीको सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने जनाएको छ।
पत्रकार सम्मेलनमा अध्यक्ष प्रधानले यस वर्षबाट सुरु हुन लागेको ‘टुर दि लमजुङ’ लाई आगामी वर्षहरूमा अझ बृहत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकल महोत्सवका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। उनले कार्यक्रम सफल बनाउन सञ्चारमाध्यम, सरकारी निकाय, निजी क्षेत्र, स्थानीय समुदाय तथा खेलप्रेमी सबैसँग सहयोग र सहभागिताका लागि आग्रह गरे।
लमजुङमा पहिलो पटक आयोजना हुन लागेको यस प्रकृतिको साइकल यात्राले जिल्लाको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास आयोजकको छ। पछिल्ला वर्षहरूमा साहसिक पर्यटनप्रति बढ्दो आकर्षणका बीच आयोजना हुन लागेको यो कार्यक्रमले लमजुङका पर्यटकीय गन्तव्यलाई राष्ट्रियस्तरमा थप चिनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
पत्रकार सम्मेलनको सञ्चालन संघका आजीवन सदस्य प्रतिजङ तामाङले गरेका थिए ।
प्रकाशित मिति: शनिबार, साउन २, २०८३ १८:०८