हरिबोधिनी एकादशीका अवसरमा शुक्रबार लमजुङका विभिन्न नदी किनारमा भक्तजनको घुइँचो लाग्यो ।
बिहानैदेखि नदीमा स्नान, पूजापाठ र फूलको तोरण तार्नेहरूको चहलपहलले मर्स्याङ्दी नदी आसपासका क्षेत्रमा छुट्टै रौनक छाएको थियो ।
मर्स्याङ्दी गाउँपालिका–३, ८ र ९ को सीमावर्ती क्षेत्र खुदीबेनीमा मर्स्याङ्दी नदीमाथि फूलको तोरण तारिएको थियो । स्थानीयले बाबियोको डोरीमा फूल उनेर तयार पारेको तोरण डोलीमा बोकेर गाउँबाट भजनकीर्तन र नाचगानसहित नदी किनारसम्म ल्याएका थिए । त्यसपछि नदीमाथि तोरण तारेर पूजापाठ गरेका थिए ।
खुदीबेनीदेखि तनहुँ सीमाक्षेत्र पाउँदीसम्मका नदी किनार ठाउँठाउँमा दिनभर भक्तजनको चहलपहल रह्यो । सदरमुकाम बेँसीशहरको कर्पुरेश्वर, भोटेओडारको बेलघारी र मध्यनेपालको शिशाघाटमा पनि विशेष रुपमा फूलको तोरण तारिएको थियो । पाउँदीमा तोरण तार्न सशस्त्र प्रहरीले डुंगामार्फत सहयोग गरेको थियो ।
मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले खुदीबेनीमा लाग्ने एकादशी मेला यस क्षेत्रकै चर्चित धार्मिक मेला रहेको बताए । स्थानीयले परम्परादेखि नै नदीमाथि फूलको तोरण तारेर पूजापाठ गर्दै एकादशी मनाउँदै आएको उनले बताए ।
हरिबोधिनी एकादशीलाई वर्षका ठूला एकादशीमध्ये प्रमुख मानिन्छ । धार्मिक विश्वासअनुसार यस दिन भगवान् विष्णु चार महिनाको योगनिद्राबाट जाग्ने गर्छन् । हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको यस दिन विवाह गराइने र चतुर्मास समाप्त हुने धार्मिक मान्यता छ ।
एकादशीका अवसरमा पाउँदी र शिशाघाटलगायतका स्थानमा पूजाआजा तथा दर्शनका साथै घरायसी सरसामानको खरिदबिक्री पनि भएको थियो । मेलामा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले बताए ।
मर्स्याङ्दी, खुदी, मादी, मिदिमङ र चेपेलगायतका नदी किनारमा स्नान, पूजापाठ र मेलाको चहलपहलले हरिबोधिनी एकादशीको रौनक छाएको थियो ।
प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३ ११:४९