बेंसीशहर नगरपालिका–११ स्थित चिती तिलाहारमा सञ्चालन भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट ८०५ जनाले सेवा लिएका छन्। साउन ६ र ७ गते चितीथला स्वास्थ्य चौकीको परिसरमा सञ्चालन भएको शिविरमा ५८४ जना महिला र २२१ जना पुरुषले सेवा लिएका हुन्।
स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने उद्देश्यले आयोजित उक्त शिविरमा काठमाडौंस्थित ग्रीन सिटी अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा दिएको थियो। मुटुरोग विशेषज्ञ डा। शोभा कार्कीको नेतृत्वमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको हो।

शिविरमा सहभागीहरूले सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप र मधुमेह जाँच, मुटुको धड्कन जाँच (इको कार्डियोग्राफी), ईसीजी, भिडियो एक्स–रे, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने भिआइए परीक्षण, स्त्रीरोगसम्बन्धी परामर्श, र पाठेघरमा रिङ पेशरी राख्ने सेवा निःशुल्क पाएका थिए। साथै, आवश्यक औषधिहरू पनि निःशुल्क वितरण गरिएको थियो।

बेंसीशहर नगरपालिका–११ का वडाध्यक्ष शिवप्रसाद जोशीका अनुसार शिविरमा सेवा लिनेहरूमध्ये थप उपचार आवश्यक पर्नेहरूलाई ग्रीन सिटी अस्पताल, काठमाडौंमा एक्स–रे, ईसीजी, अल्ट्रासाउन्ड, जनरल वार्ड सेवा लगायतमा २० प्रतिशत र शल्यक्रियामा १५ प्रतिशत छुट सुविधा प्रदान गरिनेछ।

शिविर वडा कार्यालय र चिती तिलाहार आमा समूहको संयुक्त आयोजनामा सम्पन्न भएको हो। यसको आर्थिक तथा प्राविधिक सहयोग मुटु फाउन्डेशन नेपाल, मनोज एसोसिएसन फ्रान्स र नमस्ते ग्रेनोबल फ्रान्सले गरेका हुन्। स्थानीय सरकार, सामाजिक संस्था र जनसमुदायको सहकार्यमा सम्पन्न यो शिविरबाट धेरै नागरिक लाभान्वित भएका छन्।
प्रकाशित मिति: बुधबार, साउन ७, २०८२ २०:१२