स्थानीय उत्पादनको प्रदर्शन र बिक्रीसँगै पर्यटकीय गन्तव्यको प्रचार गर्ने उद्देश्यले लमजुङको मर्स्याङ्दी गाउँपालिकामा तेस्रो मर्स्याङ्दी महोत्सव तथा कृषि मेला आयोजना हुने भएको छ।
पुस ८ देखि १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा गाउँपालिकाभित्रका कृषि, पशुपालन, पर्यटन, कला र संस्कृतिलाई प्राथमिकताका साथ प्रस्तुत गरिने भएको छ।
गाउँपालिकाका नौवटै वडामा उत्पादित कृषि उपज, स्थानीय परिकार, घरेलु तथा हस्तकलाका सामग्रीलाई महोत्सवमा प्रदर्शनी र बिक्रीका लागि राखिनेछ। किसानले उत्पादन गरेका वस्तुलाई उपभोक्ता तथा बजारसम्म पुर्याउने अवसर सिर्जना गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ।
महोत्सवमा कृषि तथा पशुपन्छी प्रदर्शनी, स्थानीय उत्पादनको बिक्री, खाना महोत्सव, सांस्कृतिक कार्यक्रम र राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति रहनेछन्। यसका साथै जिल्लास्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगितासमेत आयोजना गरिनेछ।
महोत्सवमा २० हजार दर्शक सहभागी गराउने र करिब चार करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए। उनका अनुसार महोत्सवले स्थानीय किसान, व्यवसायी, उद्यमी र पर्यटन व्यवसायीलाई आफ्ना उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने साझा अवसर प्रदान गर्नेछ। गाउँपालिकाले महोत्सवबारे जानकारी दिन आइतबार मर्स्याङ्दी गाउँपालिका ३, हर्सिङ डाँडामा पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
गाउँपालिकाले महोत्सवलाई स्थानीय उत्पादनको प्रवर्द्धनमा मात्र सीमित नराखी पर्यटकीय क्षेत्रको पहिचान विस्तार गर्ने अवसरका रूपमा समेत लिएको छ। हर्सिङडाँडा, सिउरुङ, घनपोखरा, भुस्मे, भलामचौर, जगत तातोपानी कुण्ड, बाह्रपोखरीलगायतका पर्यटकीय स्थलको प्रचारप्रसार गरिनेछ।
महोत्सव व्यवस्थापनका लागि गाउँपालिका अध्यक्षको संयोजकत्वमा एक सय २५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। व्यवस्थापन, प्रचारप्रसार, सांस्कृतिक कार्यक्रम, कृषि प्रदर्शनीलगायतका कामलाई व्यवस्थित बनाउन ११ वटा उपसमितिसमेत बनाइएको गाउँपालिकाले जनाएको छ।
महोत्सव सञ्चालनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। करिब ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको महोत्सवका लागि जलविद्युत् आयोजना, टिकट बिक्री, प्रायोजन र स्टल भाडाबाट थप स्रोत जुटाउने तयारी गरिएको छ।
कृषि उत्पादनको बजारीकरण, स्थानीय उद्यमशीलताको विकास र पर्यटन प्रवर्द्धनलाई एकैसाथ अघि बढाउने लक्ष्यसहित आयोजना हुन लागेको महोत्सवले मर्स्याङ्दी क्षेत्रको आर्थिक तथा पर्यटकीय गतिविधिमा टेवा पुर्याउने अपेक्षा गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले बताए ।
पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष जुनामाया थापा, सवै वडाका वडाअध्यक्षहरु, जनप्रतिनिधि, कर्मचारीलगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३ २२:०३