लमजुङको दोर्दी गाउँपालिकाले एक वडा, एक रात, एक छाक कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाका वडाहरुमा रहेका गाउँलाई पर्यटकीय गाउँ बनाउने उद्देश्यले गाउँपालिकाले उक्त कार्यक्रम ल्याएको हो ।
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले चालु आर्थिक वर्षबाट उक्त कार्यक्रम ल्याएको हो । कार्यक्रमका लागि गाउँपालिकाले पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तरगत बजेट व्यवस्थापन गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले वडा नं. ८ को खिन्चोक गाउँबाट एक वडा, एक रात, एक छाक कार्यक्रम सुरुवात गरेको छ । गाउँपालिकाले होमस्टे प्रवद्र्धनका लागि अन्तरक्रिया कार्यक्रमसहित खिन्चोकबाट एक वडा, एक रात, एक छाक कार्यक्रमको सुरुवात गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए ।

उनका अनुसार होमस्टे सञ्चालन सुरु गरिएका वडाहरुमा चालु आर्थिक वर्षबाट एक वडा, एक रात, एक छाक कार्यक्रम लागू हुनेछ । यस कार्यक्रम अन्तरगत गाउँपालिकाले कार्यपालिकाको घुम्ती बैठकहरु राख्ने, सामाजिक संघसंस्थाहरुलाई होमस्टे गाउँमा बैठक राख्न तथा घुम्न प्रेरित गर्ने, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालन गर्नेलगायत कार्यक्रम राखिएका छन् ।
दोर्दी गाउँपालिकामा वडा नं. २ को सल्लाबोट, ३ को श्रीमञ्ज्याङ लामागाउँ, ६ को ताँजे, ७ को लप्सीबोट दैलुङ, ८ को टाप गाउँ र खिन्चोक गाउँ र ९ को माझगाउँ गरी ७ वटा होमस्टेहरु दर्ता गरी सञ्चालनमा ल्याएका छन् । यी गाउँहरुका झण्डै ५० घरमा होमस्टे सञ्चालन गरिएको गाउँपालिका रोजगार संयोजक धर्मराज गुरुङले जानकारी दिए । यी होमस्टेमा करिब २ सय २५ बढी पर्यटकलाई राख्न सकिने गरी होमस्टेको व्यवस्थापन गरिएको उनले बताए ।

एक वडा, एक रात, एक छाक कार्यक्रम अन्तरगत होमस्टे गाउँमा होमस्टे सञ्चालन र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया, आवश्यक भौतिक पूर्वाधार, पाहुनाको स्वागत सत्कार, अर्गानिक खानपान, सरसफाइलागयतबारे छलफलहरु समेत गरिने भएका छन् । सोमबार खिन्चोक गाउँमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पर्यटन प्रवद्र्धनका माध्ययमबाट गाउँलाई समृद्ध बनाउन सकिने भएकाले यसतर्फ सवैको ध्यान केन्द्रीत हुन आवश्यक रहेको बताए । उनले गाउँपालिकामा शुन्य विन्दूबाट पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु सुरु गरिएको र यसमा गाउँका सवै स्थानीयले सकरात्मक सहयोग गर्न आग्रह गरे ।

उपाध्यक्ष विच्छबहादुर घलेले दोर्दी गाउँपालिकाले कृषि, पर्यटन र जलविद्युतका माध्ययमबाट समृद्ध बनाउन सकिने भएकाले कृषि र पर्यटनतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले हिजो परम्परागत रुपमा आफूलाई मात्रै पुग्ने गरी कृषि पेशा अंगाल्दै आएकोमा अव व्यावसायिक हुनुपर्नेमा जोड दिए । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले होमस्टेलाई थप व्यवस्थित, आवश्यक पूर्वाधार, सञ्चालन, तालिम, व्यवस्थापनलगायतमा गाउँपालिका सदैव तयार रहेको बताए ।
कार्यक्रममा वडाअध्यक्ष नारान घले, ग्रामीण पर्यटन प्रवद्र्धन समिति, बन्सारका अध्यक्ष कन्यालाल घले, अध्यक्ष सिंहबहादुर घले, होमस्टे सञ्चालक तमाया घलेलगायतले होमस्टे सञ्चालनका लागि आवश्यक पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा वडा नं. ९ का वडाअध्यक्ष आशिष तामाङ, कार्यपालिका सदस्य अम्बिका मरहट्ठा, लेखा अधिकृत ताराचन्द्र ढकाल, प्रशासकीय अधिकृत ससबहादुर पुन, गाउँपालिका र वडाका जनप्रतिनिधि, कर्मचारी, आमा समूह, युवा क्लव, बुद्धिजीविसहित स्थानीयको उपस्थिति थियो । कार्यक्रममा जनै पूर्णिमा मेलाका लागि ऐतिहासिक एवम् पर्यटकीय मेमे पोखरी जाने पर्यटकहरुलाई यात्रा सफलताको शुभकामना ज्ञापन गरिएको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिका रोजगार संयोजक धर्मराज गुरुङले गरेका थिए ।
कार्यक्रममा सहभागीलाई खिन्चोक बेंसीस्थित शितल आमा समूहका अध्यक्ष मनदेवी घलेको नेतृत्वमा र खिन्चोक गाउँस्थित दोर्दी आमा समूह अध्यक्ष काशीमाया घलेको नेतृत्वमा स्वागत सम्मान गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२ १०:३३