लमजुङको दोर्दी र दूधपोखरी गाउँपालिकाको सिमाना नजिकै रहेको लेकाली भूभाग लिपे लेकमा फुल्ने लालीगुराँसलाई केन्द्रविन्दु बनाएर ‘लिपेमा फुल्ने लालीगुराँस’ नामक वृत्तचित्र निर्माण गरिएको छ।
मुसारा फिल्म्स प्रालिले नेपाल पर्यटन बोर्डको सहकार्यमा निर्माण गरेको २० मिनेट लामो वृत्तचित्र सोमबार राजधानी काठमाडौंमा विशेष समारोहबीच सार्वजनिक गरिएको हो। कार्यक्रममा वृत्तचित्र प्रदर्शनसँगै सम्मान तथा सांस्कृतिक प्रस्तुतिहरू पनि समावेश गरिएको थियो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले कार्यक्रममा सम्बोधन गर्दै नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले धनी भएको बताए। उनले यस्ता वृत्तचित्रमार्फत ग्रामीण भेगको पर्यटन प्रवर्द्धन गर्न सकिने र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन सकिनेमा जोड दिए।

वृत्तचित्रमा लमजुङको पूर्व–उत्तर क्षेत्रमा पर्ने लिपे डाँडामा मौसमअनुसार फुल्ने लालीगुराँसका दृष्यसँगै सो क्षेत्रबाट देखिने विभिन्न हिमशृंखलाका मनोरम दृश्यलाई कैद गरिएको छ। यसले सो क्षेत्रमा पाइने प्राकृतिक सुन्दरता र पर्यटन सम्भावनालाई उजागर गरेको छ।
वृत्तचित्रका निर्माता तथा मुसारा फिल्म्सका प्रबन्धक शंकर गुरुङका अनुसार, “यो हाम्रो पहिलो वृत्तचित्र हो। यसमार्फत लिपे डाँडा र वरपरका पर्यटनस्थलको प्रचार–प्रसार गर्ने उद्देश्य लिइएको छ।” उनले उक्त वृत्तचित्र मुसारा फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत पनि हेर्न सकिने जानकारी दिए।
कार्यक्रममा लमजुङको राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङ, मर्स्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी र दूधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङलाई स्थानीयस्तरमा पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदानका लागि सम्मान गरिएको थियो।
साथै, गुरुङ समुदायको मौलिक कला–संस्कृति झल्कने नृत्य तथा सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२ ०६:३७