लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा अवस्थित हामखोला झरनामा यही भदौ ६ र ७ गते पाँचौँ हामखोला झरना महोत्सव हुने भएको छ। महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ।
विश्वविख्यात अन्नपूर्ण पदमार्ग छेउमै पर्ने करिब ६० मिटर अग्लो हामखोला झरना पछिल्ला वर्षहरूमा लमजुङकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। बेसीशहर–चामे सडकसँग जोडिएको झरना सदरमुकाम बेसीशहरबाट मोटरसाइकलमा करिब १५ मिनेटमै पुग्न सकिन्छ। यही सहज पहुँचका कारण अहिले दैनिक डेढदेखि दुई सयसम्म आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुग्ने गरेका छन्।

महोत्सवका प्रवर्द्धक मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले हामखोला झरनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य महोत्सवको भएको बताए। “पर्यटनलाई पालिकाको आर्थिक समृद्धिको आधार बनाउने योजनाअनुसार झरनामा पूर्वाधार निर्माण तथा महोत्सवको आयोजना हुँदै आएको छ,” अध्यक्ष गुरुङले जानकारी दिए। उनका अनुसार महोत्सवले स्थानीयवासीको आयआर्जन बढाउन पनि ठूलो सहयोग गर्नेछ।
दुई दिनसम्म चल्ने महोत्सवमा चर्चित लोकदोहोरी गायक चिज गुरुङ, मञ्जु विकलगायतका कलाकारका साथै ‘स्क्र्याच जर्नी’ ब्याण्ड, स्थानीय कलाकार, आमा समूह, क्लब, विद्यालय र होमस्टेहरूको समेत प्रस्तुति रहनेछ। साथै स्थानीय उत्पादन, संस्कृति र परम्परालाई समेत महोत्सवमा प्राथमिकताका साथ प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ।
हामखोला झरनालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गाउँपालिकाले विगत केही वर्षयता लाखौँ रुपैयाँ लगानी गरिसकेको छ। सडकबाट झरनासम्म पुग्ने सिँढी, फलामे पुल, बार लगायतका पूर्वाधार निर्माण भइसकेका छन्। गाउँपालिकाले पर्यटनलाई मुख्य आर्थिक आधार बनाउने लक्ष्यअनुसार आगामी दिनमा पनि थप लगानी गर्ने जनाएको छ।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२ ०९:२८