लमजुङको मर्स्याङ्दी गाउँपालिका–८, भुलभुलेस्थित हामखोला झरनामा ‘पाँचौं हामखोला झरना महोत्सव–२०८२’ शुक्रबार र शनिबार विविध कार्यक्रमसहित सम्पन्न भएको छ।
मर्स्याङ्दी गाउँपालिकाको प्रवर्द्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा दुई दिनसम्म चलेको महोत्सवमा आकर्षक सांस्कृतिक प्रस्तुति, स्थानीय उत्पादनको प्रदर्शन र पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमसमेत समावेश गरिएको थियो।

महोत्सवको दोस्रो दिन चर्चित राष्ट्रिय लोकदोहोरी गायक चिज गुरुङ, गायिका मञ्जु विक, स्क्र्याच जर्नी ब्याण्ड, विभिन्न क्लब, आमा समूह, विद्यालय तथा स्थानीय कलाकारहरूले प्रस्तुत गरेका आकर्षक सांस्कृतिक कार्यक्रमहरूले हजारौं दर्शक–श्रोताहरूलाई मन्त्रमुग्ध पारे। पहिलो दिन मर्स्याङ्दीका उपज प्रितम गुरुङलगायतले प्रस्तुति दिएका थिए।
महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभा सदस्य जमिन्द्रमान घलेले पर्यटनलाई ग्रामीण अर्थतन्त्र सबल बनाउन सकिने उल्लेख गर्दै कृषिसँग जोडेर प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।

समापन कार्यक्रममा बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, उप–प्रमुख पदमा गुरुङ, क्व्होलासोथार गाउँपालिका पूर्वअध्यक्ष प्रेमबहादुर घलेलगायतको उपस्थिति थियो। पहिलो दिन दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, मर्स्याङ्दी गाउँपालिका उपाध्यक्ष जुना माया थापा, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, प्रहरी नायव उपरीक्षक रेशम बोहरा, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठलगायत सहभागी भएका थिए।

महोत्सवले सांस्कृतिक कार्यक्रममार्फत मात्र नभई मर्स्याङ्दी गाउँपालिका भित्रका साम्बा चोक, नेपालकै पहिलो सुरूङमार्ग, हामखोला झरना, ङादी ड्यामसाइड, जलविद्युत संरचना लगायत नयाँ पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसारमा समेत योगदान पुर्याएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए।

स्थानीय कलाकारहरूले आफ्नो प्रतिभा देखाउने अवसर पाएको यस महोत्सवबाट होटल, यातायात तथा अन्य व्यवसाय पनि प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। आगामी वर्षहरूमा महोत्सवलाई अझ व्यवस्थित र नवीन आयामसहित अघि बढाइने प्रवर्द्धक मर्स्याङ्दी गाउँपालिकाले जनाएको छ।
महोत्सव हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष अशोक वाइबाको अध्यक्षतामा सम्पन्न भएको हो।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२ ११:४८