लमजुङको दोर्दी गाउँपालिकाले खेलकुद, कृषि, पर्यटन र संस्कृतिलाई एउटै थलोमा समेट्दै प्रथम दोर्दी खेलकुद, कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८२ आयोजना गर्ने भएको छ।
महोत्सव पुस ८, ९ र १० गते गाउँपालिकाको नौथर शेरास्थित खेलमैदानमा हुनेछ। शुक्रबार बेँसीसहरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गाउँपालिकाले महोत्सवको जानकारी गराएको हो।
गाउँपालिका अध्यक्ष युवराज अधिकारीका अनुसार पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, आन्तरिक व्यापार विस्तार तथा लोककला–संस्कृतिको संरक्षण महोत्सवको मुख्य उद्देश्य हो। ‘महोत्सवले दोर्दी गाउँपालिकाको समग्र पहिचान निर्माणमा टेवा पुर्याउनेछ,’ उनले भने। महोत्सवमार्फत गाउँगाउँमा रहेका होमस्टे र पदमार्गहरूको प्रचार–प्रसार गरिने पनि उनले बताए।
महोत्सवअन्तर्गत गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता, कृषि मेला तथा प्रदर्शनी, उत्कृष्ट कृषक सम्मान, सांस्कृतिक झाँकी र लोकनृत्य, आमा समूहहरूको खुला नृत्य प्रतियोगिता, विद्यालय तथा शिक्षक सम्मानलगायत कार्यक्रम समेटिएका छन्। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेका अनुसार कृषि मेला तथा प्रदर्शनीमा स्थानीय कृषि उपज, नगदे बाली, पशुपालन, मौरीपालन, तरकारी, फलफूल, कृषियन्त्र र प्रविधि प्रदर्शन गरिनेछ। ‘यसले कृषकलाई नयाँ प्रविधिबारे जानकारी दिनुका साथै स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पुर्याउनेछ,’ उनले भने। उत्कृष्ट कृषकलाई सम्मान गर्दै व्यवसायिक कृषितर्फ प्रोत्साहन गर्ने योजना पनि रहेको छ।
रोजगार संयोजक धर्मराज गुरुङले महोत्सवले युवालाई खेलकुदतर्फ आकर्षित गर्ने, महिला समूहको सक्रियता बढाउने र स्थानीय रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने बताए। ‘स्थानीय प्रतिभा पहिचान गरी जिल्लादेखि राष्ट्रिय स्तरसम्म दोर्दीलाई चिनाउने अवसर महोत्सवले दिनेछ,’ उनले भने।
आयोजकका अनुसार महोत्सवका लागि करिब १७ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ। गाउँपालिका, स्थानीय समुदाय र सरोकारवालाको सहकार्यमा महोत्सवलाई सफल बनाइने जनाइएको छ।
पत्रकार भेटघाट कार्यक्रममा गाउँपालिका लेखा अधिकृत ताराचन्द्र ढकाल, सूचना प्रविधि अधिकृत रञ्जित श्रेष्ठ, दोर्दी युवा तथा खेलकुद विकास समितिका अध्यक्ष डिलबहादुर आलेलगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन रोजगार संयोजक धर्मराज गुरुङले गरेका थिए।
प्रकाशित मिति: शनिबार, पुस ५, २०८२ ११:११