३६ वर्ष, अर्थात् झण्डै चार दशकको यो लामो कालखण्ड । तपाईंले नेपाल सरकारको एउटा इमानदार सिपाही बनेर बिताउनुभयो। एउटा सामान्य स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीको ढोकाबाट सुरु भएको तपाईंको यो यात्रा, अस्पताल, जनस्वास्थ्य कार्यालय, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत हुँदै पुनः स्वास्थ्य शाखा प्रमुखको गरिमामय ओहोदामा पुगेर विश्राम लिँदैछ। यो केवल एउटा कर्मचारीको अवकाश होइन, यो त स्वास्थ्य सेवा र प्रशासन सेवाको मिश्रित एक योद्धा एवं सरकारको अभिन्न एउटा सिङ्गो “इतिहास” को बिदाइ हो।
नेपालको कर्मचारीतन्त्रमा थुप्रै अनुहारहरू आउँछन्। तर, केही यस्ता व्यक्तित्वहरू हुन्छन्, जसको पदचापले इतिहासको पानामा गहिरो छाप छोडेको हुन्छ। ती विरलै कर्मयोगीहरूमध्ये एक हुनुहुन्छ—त्रिलोक चन्द्र गुरुङ। बुबाको जागिरे जीवनको दौरानमा मलेसियाको विदेशी माटोमा जन्मिएर नेपालको गाउँबस्तीमा स्वास्थ्य र प्रशासनको ज्योति छर्ने उहाँको झण्डै चार दशक लामो यात्रा आज एउटा गौरवपूर्ण मोडमा आइपुगेको छ।
१. जन्म र पारिवारिक पृष्ठभूमि
उहाँको जीवनकथा कुनै चलचित्रभन्दा कम छैन। उहाँको जन्म विदेशी भूमि मलेसियाको ब्रिटिस क्यान्टोन्मेन्टमा भएको थियो। ब्रिटिस सेनामा कार्यरत बुबा हिराजित गुरुङ र ममतामयी आमा पार्बती गुरुङको कोखबाट तत्कालीन आनन्दबन गाउँ पञ्चायत–३, शंकरनगर, रूपन्देही, हाल सुनवल नगरपालिका, नवलपरासी मूल थलो ठेगाना भई जागिरकै सिलसिलामा लमजुङलाई कर्मथलो बनाउनुभएको र सोही जागिरका कारण स्थायी रूपमा लमजुङको बासिन्दा बन्नुभएको उहाँको परिवारमा हाल १ छोरा, १ छोरी, बुहारी र १ नाति र श्रीमती हुनुहुन्छ। ३६ वर्ष जागिरे जीवनको यात्रामा कहिल्यै नथाकी अघि बढ्न सक्ने ऊर्जा नै उहाँको रगतमा बगेको त्यही सिपाहीको छोरो हुनुको केही अंश पनि हो। उहाँका लागि आफ्नो परिवार केवल एउटा घर मात्र होइन, बरु ३६ वर्षे सङ्घर्षपूर्ण यात्राको एउटा बलियो खम्बा पनि हो।
२. जागिरे जीवनः स्वास्थ्यको मलमदेखि प्रशासनको बागडोरसम्म
वि.सं. २०४६ सालको कुरा हो, जब देशमा राजनीतिक परिवर्तनको लहर चल्दै थियो। २०४६ असोज ३ गते अस्थायी र सोही वर्ष पुस २३ गते स्थायी नियुक्ति लिएर उहाँले लमजुङको बाग्लुङपानी स्वास्थ्य चौकीबाट आफ्नो जागिरको यात्रा सुरु गर्नुभयो। त्यतिबेलाका ती कच्ची बाटो हिँडेर घरदैलो गर्दै सेवा प्रवाह गर्नुपर्ने, सामान्य बिरामी परीक्षणदेखि सुत्केरी सेवा सम्म दिनुपर्ने जस्ता अभावमा गुज्रिएको तत्कालीन स्वास्थ्य सेवालाई झेल्दै दुर्गम बस्तीहरूमा उहाँले नागरिकको स्वास्थ्यका लागि दिनरात नभनी काम गर्नुभयो।
उहाँको कार्यकुशलताकै कारण उहाँले पदोन्नतिमा पनि फड्को मार्दै जानुभयो। २०६३ सालमा जिल्ला सुपरभाइजर, २०६४ मा जनस्वास्थ्य निरीक्षक र २०७४ मा जनस्वास्थ्य अधिकृत पदमा पुग्नुभयो। उहाँको सेवा यात्रा लमजुङ अस्पताल, सूर्यपाल उपस्वास्थ्य चौकी हुँदै जिल्ला जनस्वास्थ्य कार्यालयसम्म फैलियो।
संघीयता कार्यान्वयनपछि २०७३ सालदेखि क्व्होलासोथार गाउँपालिकामा स्वास्थ्य संयोजकको रूपमा काजमा रहेर काम गर्दै आउनुभएको उहाँको २०७६ सालमा पालिका स्वास्थ्य शाखा प्रमुखको रूपमा समायोजन भयो। तर, उहाँको कार्यक्षेत्र स्वास्थ्य सेवामै मात्र सीमित रहेन। २०७७ चैत २६ देखि २०८० भदौ १८ सम्म उहाँले क्व्होलासोथार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको गुरुत्तर जिम्मेवारी सम्हाल्नुभयो। एउटा स्वास्थ्य प्राविधिकले कसरी सफल प्रशासक बनेर स्थानीय सरकार चलाउन सक्छ भन्ने उदाहरण समग्र राष्ट्रलाई उहाँले पालिकाको विकास र योजना कार्यान्वयनमा प्रशासनिक भूमिका खेली देखाउनुभएको छ।
३. सांगठनिक यात्राः अन्याय विरुद्धको ‘अविचलित योद्धा’
त्रिलोक चन्द्र गुरुङ केवल एक कर्मचारी मात्र हुनुहुन्नथ्यो, उहाँ कर्मचारी आन्दोलनका एउटा ‘सबल’ योद्धा पनि हुनुहुन्थ्यो। २०४८ सालमा निजामती कर्मचारी सङ्गठनको आह्वानमा भएको रिले अनसनमा सहभागी भएकै कारण उहाँले राजनीतिक प्रतिशोधको कडा प्रहार सहनुपर्यो। तत्कालीन सत्ताले उहाँलाई लमजुङबाट लखेटेर पर्वत पुर्यायो। तर, त्यो सरुवा उहाँका लागि सजाय होइन, बरु संघर्षको अर्को पाठशाला बन्यो।
उहाँको सांगठनिक कद कति उच्च छ भन्ने कुरा निजामती कर्मचारी सङ्गठन, लमजुङको ६ पटकसम्म अध्यक्ष भएको तथ्यले नै पुष्टि गर्छ। जिल्लाभरका कर्मचारीहरूलाई साङ्गठनिक चेत भर्ने र उनीहरूको पिरमर्कामा अभिभावक बन्ने उहाँको शैली अद्वितीय थियो। पछि उहाँले निजामती कर्मचारी सङ्गठनको केन्द्रीय सदस्य, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको केन्द्रीय उपाध्यक्ष र केन्द्रीय अनुशासन आयोगको अध्यक्ष जस्तो उच्च ओहोदामा रहेर राष्ट्रिय स्तरमै कर्मचारी आन्दोलन र सुशासनको नेतृत्व गर्नुभयो। साथै साङ्गठनिक यात्रामा लाग्दै गर्दा राजनीतिक पक्षबाट बेलाबखतमा सही विचारको नेतृत्व र आवाज बुलन्द गर्दा समेत आशा गरेको राजनीतिक पक्षबाट तिरस्कार र अवमूल्यनको सिकार हुँदै गर्दा पनि हार नमानी, विचलित नभई बुलन्द आवाज उठाउने कर्मचारी योद्धाको रूपमा पनि उहाँलाई चिन्न सकिन्छ।
४. मानवीय पक्षः एक सरल अभिभावक र आध्यात्मिक हृदय
उहाँ जति बाहिरबाट कठोर र दृढ देखिनुहुन्छ, भित्रबाट त्यति नै कोमल र आध्यात्मिक हुनुहुन्छ। उहाँ आफूभन्दा साना र तल्लो तहका कर्मचारीहरूसँग यति सरल हुनुहुन्थ्यो कि उनीहरूले उहाँमा अभिभावक पाउँथे। जस्तोसुकै कठिन परिस्थितिमा पनि विचलित नभई समस्या समाधान गर्ने उहाँको कला सबैका लागि अनुकरणीय छ। समन्वयकारी भूमिका खेल्ने र सबैलाई समेटेर लैजाने उहाँको स्वभावले नै उहाँलाई ‘स्वास्थ्य क्षेत्रको धरोहर’ का रूपमा स्थापित गर्यो। उहाँको ३६ वर्षे कार्यकालले के सिकाउँछ भने पद अस्थायी हो, तर कर्म र मानिसहरूसँग कमाएको सम्बन्ध स्थायी हो।
५. व्यक्तिगत अंशः
म आज ती दिनहरू सम्झिरहेको छु, जब यो कार्यक्षेत्रको वास्तविकता र रहनसहन पनि थाहा नभएकाहरूलाई जागिरको यो संसारमा औंला समातेर हिँड्न सिकाउने, करियरको बलियो ‘बेस’ बनाइदिनका लागि उत्प्रेरित गर्ने र असल सेवकको स्वरूपमा कयौं स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा उभ्याउने शिल्पकार तपाईं हुनुहुन्छ। तपाईंले तिनलाई केवल फाइल पल्टाउन सिकाउनुभएन, बरु प्रतिकूल परिस्थितिमा कसरी अडिग रहने र संकटमा कसरी धैर्य नगुमाउने भन्ने जीवन दर्शन सिकाउनुभयो।
मैले तपाईंलाई धेरै रूपमा देखें। विशेषगरी ट्रेड युनियन र सांगठनिक राजनीतिको एउटा निडर योद्धाका रूपमा तपाईंले कर्मचारीको हकहितका लागि चालेका साहसी कदमहरू हाम्रा लागि सधैं प्रेरणाका स्रोत बन्नेछन्। राजनीतिक खिचातानीका ती कठिन मोडहरूमा कतिपय मानिसहरू स्वार्थका लागि ढल्किरहँदा, तपाईं भने एउटा चट्टानझैं आफ्नो सिद्धान्त र संगठनको मर्यादामा उभिनुभयो। कर्मचारीको पसिनाको मूल्य र अन्याय विरुद्ध गर्जन सक्ने तपाईं जस्तो अभिभावक पाउँदा हामीले सधैं सुरक्षित महसुस गर्यौँ।
हामीसँगै हिँडेका ती उकाली–ओरालीहरू, कार्यालयको कामको चापका बीचमा गरिएका ती मिठा ठट्टाहरू र हाँसोका फोहोराहरू आज चलचित्रको पर्दाजस्तै मानसपटलमा सहकर्मी हामी सबैमा घुमिरहेका हुनेछन्। कहिलेकाहीँ काम बिग्रँदा सम्झाउनका लागि कराएको, झोक्किएको र पछि फेरि सम्झाएको ती पलहरू आज सम्झँदा भविष्यका ती कठिन अवस्थाहरूमा आँखाले अनि मनले फेरि पनि तपाईंलाई खोजिरहनेछन्। तपाईंको त्यो हप्काइमा पनि एउटा गुरुको सुधार गर्ने चाहना र एउटा अभिभावकत्व लुकेको हुन्थ्यो। ती झोक्किएका पलहरू नै आज हाम्रो लागि सबैभन्दा ठूला मार्गनिर्देशन बनेका छन्।
समयको अन्तराल र भूगोलको दूरीले हामीलाई भोलि टाढा बनाउला, तर तपाईंले जीवनमा छर्नुभएको कयौं स्वास्थ्यकर्मीहरूको करियरको यो जग कहिल्यै कमजोर हुने छैन। भलै ती सबैजना सम्पर्कमा रहलान् या नरहलान्, तर तपाईंको अवकाशको समयको सूचनासँगै तपाईंको स्मरण अवश्य गर्नेछन्। कार्यालयमा बस्दै गर्दा तपाईंको त्यो ओजपूर्ण आवाज, कार्यकक्षमा सुनिने तपाईंको पदचाप र हरेक समस्याको समाधान निकाल्ने तपाईंको शैलीको अभाव सधैं खड्किरहनेछ। कार्यालयका कुनाकुनाले तपाईंको उपस्थिति खोजिरहनेछ, र तपाईंको अनुपस्थितिमा यो कार्यस्थल सधैं फिक्का महसुस हुनेछ।
जागिरबाट अवकाश मिल्ला, तर तपाईंको अनुभव र तपाईंले रोपेका सेवाका बिरुवाहरूबाट हामी कहिल्यै अवकाश चाहँदैनौँ।
उपसंहारः नयाँ अध्यायको सुरुवात
झण्डै ३६ वर्षको लामो र सफल यात्रापछि आज उहाँ सेवानिवृत्त हुँदै हुनुहुन्छ। तर, ऊर्जावान् र निष्ठावान् व्यक्तित्वका लागि यो विश्राम होइन, बरु समाजसेवाको अर्को नयाँ अध्यायको सुरुवात मात्र हो।
बुबा हिराजित र आमा पार्बती गुरुङले देख्नुभएको एउटा असल छोराको सपना उहाँले आफ्नै कर्मले साकार पार्नुभएको छ। सेवानिवृत्त पछिको उहाँको जीवन आध्यात्मिक शान्ति, सुस्वास्थ्य र सुखमय रहोस्। लमजुङको माटो र नेपालको स्वास्थ्य क्षेत्रले अनि क्व्होलासोथारका हरेक गोरेटो र मोडहरूले तपाईं जस्तो समर्पित ‘योद्धा’ लाई सधैं गर्वका साथ सम्झिरहनेछन्। यहाँको आगामी समय उत्कृष्ट रहोस्, सफल रहोस्, आरामदायी रहोस्। सहयात्राका क्रममा कयौं बाधा–अप्ठ्यारा परिस्थितिलाई सामना गर्ने क्रममा भएका तिता–मिठा भोगाइहरूले जीवन जिउन थप ऊर्जा प्रदान गर्नेछन्।
हार्दिक शुभकामना।
(लेखकः क्व्होलासोथार गाउँपालिका–९,
साल्मेभन्ज्याङ स्वास्थ्य चौकी प्रमुख हुन्)
प्रकाशित मिति: सोमबार, चैत ९, २०८२ ११:१३