अब फेरि तीज आउँदैछ। हाम्रो नेपाली नारीहरूको लागि तीज भनेको एउटा ठूलो चाड हो। बर्सेनि साउन महिना सकिएपछि आउने तीजमा हामी महिलाहरू धुमधामले नाचगान गर्छौं, सिङ्गारिन्छौं, घर फर्किन्छौं र माइतीसँग रमाइलो गर्छौं। तर आजभोलीको तीज पहिले जस्तो रहेन। तीजको नाममा अनेक कुरा हुन थालेको छ—देखासिकी, खर्च, गीतसंगीतको नाममा अश्लीलता अनि तीजको असली मर्म बिर्सिन थालिएको छ। हामीले बाल्यकालमा हेरेको तीज अहिलेको भन्दा फरक थियो। आमाहरूले सादा कपडामा तीज मनाउँथे, गाइने गीतहरूमा आफ्नो पीडा र वेदना पोख्थे। माइती गएकी छोरी खुसी हुन्थी, साथीभाइसँग मिलेर घरको आँगनमा नाचिन्थ्यो अनि पूजापाठ गरिन्थ्यो। त्यही तीज आज फेरिएर होटलको भित्ताभित्र गइसकेको छ। अब तीज नारी मुक्ति चाड हैन, फेसन देखाउने प्रतियोगिता जस्तै बनेको छ।
तीजमा देखिएका गलत धारणा र विकृति
आजकाल तीज भन्ने बितिकै महिलाले आन्तरिक सन्तुलनको होइन बाह्य सजावटको चाड बनाइरहेका छन्। धेरै ठाउँमा तीजको नाममा मदिरा सेवन, अत्यधिक खर्च अनि होटेलमा पार्टी गरेर नाचगानको नाममा असल संस्कृतिलाई गाली गरिन थालिएको छ। पहिलेदेखि तीज भनेको व्रत बस्ने, शिव–पार्वतीको पूजा गर्ने र आफ्नो मनका कुरा गीतमा पोख्ने एउटा परम्परा थियो। तर आजकल कतिपय गीतहरूले तीजको नाममा अश्लील शब्द प्रयोग गर्छन्, नारीलाई हेपिएको देखाउने शैलीमा अतिरञ्जित कुरा गर्छन्। कुनै गीतले भन्छ—‘दाइले यो दिएन, भाउजुले त्यो दिएन’ भने अर्को गीतमा—‘श्रीमान त यस्तो छ, माइती त उस्तो छ’ भन्ने शैलीले परिवारभित्र नै मनमुटाव निम्त्याउन थालिएको छ। यसरी तीज गीतले समाजमा गलत धारणा फैलाउन थालेको मैले महसुस गरेको छु।
समाजले तीजलाई कसरी हेर्छ ?
आजकल समाज पनि तीजलाई थोरै संकोच र थोरै आलोचनाको नजरले हेर्न थालेको छ। किनभने धेरै ठाउँमा तीजको नाममा देखिने गतिविधि परम्परासँग मेल खान छाडेको छ। सासू–बुहारीबीचको सम्बन्ध राम्रो बनाउने, छोरी र आमा–बुबाबीचको मायालाई बलियो बनाउने चाड तीज नै हो। तर अहिले समाजले तीजलाई देखासिकी र खर्चिलो झमेला भनेर हेर्न थालेको छ। कतिपयले तीजलाई नारी विद्रोहको चाड भनेका छन्। तर नारी विद्रोहको नाममा परिवारप्रति तिरस्कार गर्ने, सम्बन्धमा दूरी ल्याउने काम गर्नु भनेको तीजको असली भावना होइन। नारी अधिकार भन्ने कुरा तीजको पनि सार हो, तर त्यो अधिकार प्रेम, आत्मसम्मान र समर्पणमा आधारित हुनुपर्छ भन्ने मलाई लाग्छ।
तीज कसरी मनाउँदा राम्रो देखिन्छ ?
हामी महिलाहरूले अब तीजको असली मर्म सम्झिन जरुरी छ। तीज भनेको आफ्नो घरमा व्यस्त जीवन बिताइरहेकी नारीका लागि एक दिन आरामको, सम्झनाको, माइतीसँग भावनाको आदानप्रदान गर्ने अवसर हो। यो दिनमा गीत गाएर, मनका कुरा पोखेर साथै आफन्तहरूसँग भेटघाट गरेर नारीले मानसिक हल्का हुने अवसर पाइन्छ। तीजमा देखासिकी, अनावश्यक खर्च र होटेल ड्रिंक पार्टीको सट्टा परिवारमै सादा तीज मनाउने चलन बढाउनु पर्छ। पूजा गरेर, सादा खाना खाएर अनि आफन्तहरू सँग बसेर रमाइलो गर्ने तीज नै साँचो तीज हो जस्तो मलाई लाग्छ। गीत गाउनु, नाच्नु अनि रमाइलो गर्नु आफैँमा गलत होइन, तर त्यसको सन्देश सकारात्मक र मर्यादित हुनु जरुरी छ। हामी महिलाहरू आफैँ सचेत हुनुपर्छ—हाम्रो गीतले अरूको मन दुखाएको त छैन, हामीले कसैलाई लक्षित गरेर रमाइलो त गरिरहेका छैनौं—यस्ता कुरालाई हामीले ख्याल गर्न जरुरी छ।
नयाँ पुस्तालाई के सिकाउने ?
आजका छोरी–नातिनीहरूले तीज बुझ्ने हो भने हामी आफैँले सही बाटो देखाउनु पर्छ। तीज केवल लुगा फेर्ने, गहना देखाउने र फेसबुक–इन्स्टाग्राममा फोटो हाल्नेमात्रै चाड होइन । तीजको मूल मर्म, भावना, संस्कार र नारीको आत्मबल के हो भन्ने कुरा नयाँ पुस्तालाई देखाउनु जरुरी छ । तीजको सही अर्थ भनेको आफन्तसँग भेटघाट, श्रद्धा र समर्पण, आत्मशुद्धि, एकता र प्रेम हो। हामी महिलाहरूले एकअर्कालाई सहयोग गर्ने, मायाँ गर्ने साथै दुःख–सुख बाँड्ने अवसर हो जस्तो मलाई लाग्छ।
हामी महिलाहरुले तीजमा समाजलाई कस्तो सन्देश दिने ?
तीज एउटा सकारात्मक सन्देश दिन सक्ने चाड हो। महिलाहरूको शक्तिलाई सशक्त रूपमा प्रस्तुत गर्ने माध्यम हो। तीजले समाजमा भन्न सक्छ—महिला अब निरीह छैन, महिला अब आत्मनिर्भर छ, उसले परिवारलाई जोगाउँछ र संस्कारलाई थाम्छ। हामी सबै मिलेर तीजलाई राम्रो संस्कार, सकारात्मकता र आत्मबलको चाड बनाऔं। यसले न त पुरुषलाई दोष दिनु पर्छ, न त आफूलाई अबला बनाउनु पर्छ। नारी अब सशक्त छ, तर उसको शक्ति प्रेममा छ, करुणामा छ र संयममा छ।
निष्कर्षः
तीज हाम्रो नारी जीवनको एउटा मिठो अध्याय हो। यो पर्वमा हामीले आफूलाई सम्झन पाउँछौं, आफन्तसँग रमाउन पाउँछौं, आस्थामा बस्न पाउँछौं। तर आजको तीजमा केही कुराहरू गलत दिशातर्फ जाँदै छन्, जुन हाम्रो मौलिकता, संस्कार र समाजलाई असर पार्न सक्छ।
हामी सबै मिलेर तीजलाई फेरि उस्तै सरल, सस्तो र साँचो बनाउन सक्छौं। सादा तीज, साँचो तीज, सभ्य गीत र शान्त मन—यही हो असली तीज, नारीको आत्मा झल्किने चाड। आउनुहोस्, यसपालिको तीजलाई संस्कार, सादगी र समर्पणसँग मनाऔं। धन्यवाद ।
(लेखकः अखिल नेपाल महिला संघ क्व्होलासोथार गाउँ पालिका कमिटीका सचिव हुन् । उनी क्व्होलासोथार गाउँपालिका ५, सिङ्दीका वडा सदस्य समेत हुन् ।)
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२ ०४:३०