मानिसको जीवनलाई सरल तर गहिरो रूपमा बुझ्न चाहिने हो भने, यसलाई अंग्रेजी अक्षरको ‘एबीसीडी’ सँग तुलना गर्न सकिन्छ।
जीवनको यो सानो तर अर्थपूर्ण सूत्रभित्र जीवनको गहिरो दर्शन लुकेको हुन्छ।
यहाँ ‘बी’ बर्थ अर्थात जन्म र ‘डी’ डेथ अर्थात मृत्यु, जीवनका दुई अटल सत्य हुन्। यी यस्ता सत्य हुन्, जसलाई न कसैले टार्न सक्छ, न कसैले परिवर्तन गर्न सक्छ। हामी कहिले जन्मिन्छौँ र कहिले मृत्युको काखमा पुग्छौँ भन्ने कुरा हाम्रो नियन्त्रणभन्दा बाहिरको विषय हो।
तर, ‘बी’ बर्थ अर्थात् जन्म र र ‘डी’ डेथ अर्थात मृत्युबीचको बीचको ‘सी’ च्यालेन्ज अर्थात चुनौति नै जीवनको वास्तविक यात्रा हो। यही चुनौतिहरुको उतार–चढावले जीवनलाई अर्थपूर्ण बनाउँछ। कहिले सफलताको उज्यालोले मन झलमल्ल बनाउँछ, त कहिले असफलताको अँध्यारोले मन भारी बनाउँछ। कहिले आशाको किरणले ऊर्जा दिन्छ, त कहिले निराशाका बादलले आकाश ढाक्छ।
जीवनको बाटो सधैँ समथर हुँदैन। कहिले उकालो, कहिले ओरालो, कहिले घुम्ती, त कहिले अवरोधहरूले भरिएको हुन्छ। तर यिनै कठिन मोडहररु पार गर्दै अघि बढ्नु नै जीवनको वास्तविक सुन्दरता हो।
यी सबै अवस्थाहरूको बीचमा एउटा सबैभन्दा निर्णायक तत्व हुन्छ, त्यो हो ‘ए’ एटिच्युड अर्थात दृष्टिकोण ।
चुनौतिहरु सबैको जीवनमा आउँछन्, तर सबैले त्यसलाई एउटै तरिकाले सामना गर्दैनन्। कसैले समस्यालाई हारको संकेत ठान्छ भने कसैले त्यही समस्यालाई सिकाइ, अवसर र नयाँ सम्भावनाको ढोका ठान्छ। यही सोचको भिन्नताले जीवनको दिशा र गन्तव्य तय गर्छ।
सकारात्मक दृष्टिकोण भएको मानिसले चुनौतिलाई अवसरमा बदल्न सक्छ। ऊ असफलताबाट पनि अनुभव बटुल्छ, निराशाबाट पनि आशाको ज्योति निकाल्छ र कठिनाइलाई पनि प्रेरणाको स्रोत बनाउँछ। तर नकारात्मक सोच भएको मानिसले सानो अवरोधलाई पनि ठूलो पहाड ठान्छ र आफ्नै यात्रामा अवरोध खडा गर्छ।
यसैले जीवनको वास्तविक शक्ति बाहिरी परिस्थितिमा होइन, आफ्नै सोच, विश्वास र दृष्टिकोणभित्र लुकेको हुन्छ। यदि हाम्रो सोच सकारात्मक, दृढ र आशावादी भयो भने जीवनका चुनौतिहरु डर लाग्दा पहाड होइनन्, उकालो चढेपछि देखिने सुन्दर दृश्य र नयाँ सम्भावनाहरूको संसार बन्न सक्छन्।
अन्ततः,
जन्म र मृत्यु जीवनका निश्चित सत्य हुन्, तर ती दुईको बीचमा आउने चुनौतीहरूलाई कसरी सामना गर्ने भन्ने कुरा हाम्रो दृष्टिकोणले निर्धारण गर्छ।
त्यसैले जीवनलाई उज्यालो, सफल र अर्थपूर्ण बनाउन चाहने हो भने परिस्थितिलाई बदल्नुभन्दा पहिले आफ्नै सोच र दृष्टिकोण बदल्न सिक्नुपर्छ।
किनकि,
जीवनको ‘एबीसीडी’ मा सबैभन्दा शक्तिशाली अक्षर वास्तवमा ‘ए’ एटिच्युट अर्थात दृष्टिकोण नै हो, जसले साधारण जीवनलाई असाधारण यात्रामा बदल्ने क्षमता राख्छ।
(लेखक अनेरास्ववियु लमजुङका अध्यक्ष हुन्)
प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२ १५:४४