लमजुङको दोर्दी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६७ करोड ७२ लाख ९६ हजार रुपैयाँको बजेट पारित गरेको छ।
गाउँसभाको १९औँ अधिवेशनअन्तर्गत असार १० गते बसेको पहिलो बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट सोमबार बसेको दोस्रो बैठकले आर्थिक विधेयक र विनियोजन विधेयकसँगै सर्वसम्मतिले पारित गरेको हो।
पारित बजेटअनुसार चालु तथा प्रशासनिक खर्चका लागि ८ करोड ६८ लाख ८८ हजार रुपैयाँ विनियोजन गरिएको छ। वडागत चालु तथा पुँजीगत कार्यक्रमका लागि ३ करोड ८३ लाख ५० हजार, स्वास्थ्य तथा आयुर्वेदतर्फ ५४ लाख ४६ हजार, शिक्षा, युवा तथा खेलकुदतर्फ ७४ लाख ९५ हजार, कृषि तथा पशुपन्छी विकासतर्फ ४८ लाख तथा महिला, बालबालिका, दलित, ज्येष्ठ नागरिक र अपांगता लक्षित कार्यक्रमका लागि २८ लाख ९५ हजार रुपैयाँ छुट्याइएको छ।
त्यस्तै, न्यायिक समितिको सचिवालय तथा कानुनतर्फ ३ लाख ५० हजार, वन, वातावरण, विपद् व्यवस्थापन, पुनःस्थापना, राहत तथा उद्धारका लागि ६२ लाख ५० हजार र समपूरक कोषका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।
बजेटमा संघीय सरकारबाट प्राप्त हुने सशर्त चालु अनुदान २७ करोड ८० लाख, सशर्त पुँजीगत अनुदान ३० लाख, विशेष अनुदान १ करोड ५५ लाख र समपूरक अनुदान १ करोड ५० लाख रुपैयाँ समावेश गरिएको छ। प्रदेश सरकारबाट समपूरक अनुदानतर्फ ६० लाख र विशेष अनुदानतर्फ ४० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। गाउँपालिका स्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि १७ करोड ३३ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ५८ करोड ७६ लाख ४ हजार रुपैयाँको आय–व्यय अनुमान गरेको थियो। जेठ मसान्तसम्म आन्तरिक आम्दानी ८६ लाख ३९ हजार रुपैयाँ संकलन भएको छ भने वित्तीय समानीकरण अनुदानतर्फ अनुमानित बजेटको ९१।७ प्रतिशत मात्र निकासा भएको जनाएको छ।
खर्चतर्फ चालु शीर्षकमा विनियोजित ४० करोड ५९ लाख ५० हजार रुपैयाँमध्ये जेठ मसान्तसम्म २८ करोड १८ लाख ७५ हजार रुपैयाँ अर्थात् ६९ दशमलव ४३ प्रतिशत खर्च भएको छ। पुँजीगततर्फ विनियोजित १९ करोड १६ लाख १९ हजार रुपैयाँमध्ये ५ करोड ८९ लाख ५९ हजार रुपैयाँ अर्थात् ३० दशमलव ७७ प्रतिशत मात्रै खर्च भएको छ। यस अवधिसम्म कुल ३४ करोड ८ लाख ३५ हजार रुपैयाँ अर्थात् ५७ दशमलव ३ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ।
सोमबारको गाउँसभा बैठकले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक–२०८३, विनियोजन विधेयक–२०८३, न्यायिक समितिको वार्षिक प्रतिवेदन र लेखा समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।
गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष विच्छबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
नोटः यहाँहरुले यो समाचार प्रयोग गर्न सक्नुहुन्छ ।
प्रकाशित मिति: सोमबार, असार १५, २०८३ १९:२०