बेलायतमा रहेका लमजुङको ईलमपोखरी क्षेत्रका नेपालीलाई एकताबद्ध गर्दै आएको ईलमपोखरी समाज यूकेको वार्षिक ग्रीष्मकालीन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
समाजले प्रत्येक वर्ष ल्होछार तथा ग्रीष्मकालीन कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्षको ग्रीष्मकालीन कार्यक्रम शनिबार, १५ अगस्टमा अल्डरशटस्थित एल्डरवुड लेजर सेन्टरको परिसरमा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित आयोजना गरिएको हो।
कार्यक्रमको उद्घाटन समाजका अध्यक्ष परशु गुरुङ, लमजुङ समाज यूकेका अध्यक्ष एवम् ईलमपोखरी समाजका निवर्तमान अध्यक्ष पूर्णराज गुरुङ, संस्थापक अध्यक्ष मोहनसिंह गुरुङ र लमजुङ समाज यूके आमा समूहकी अध्यक्ष तारा गुरुङले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा समाजका उपाध्यक्ष प्रकाश गुरुङले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव कुमार गुरुङले गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै लमजुङ समाज यूकेका अध्यक्ष एवम् ईलमपोखरी समाजका निवर्तमान अध्यक्ष पूर्णराज गुरुङले बेलायतमा रहेका नेपालीबीच आपसी एकता, सद्भाव र भाइचारा कायम गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले आफ्नो मौलिक भाषा, कला, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन समुदायस्तरका कार्यक्रम निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा लमजुङ समाज यूके आमा समूहकी अध्यक्ष तारा गुरुङ, लमजुङ समाजका निवर्तमान अध्यक्ष दलबहादुर गुरुङ, गोरखाली समाज यूकेकी अध्यक्ष टकमाया गुरुङ, गोरखा जिल्ला गुरुङ समाज यूकेका अध्यक्ष टेकमान गुरुङ, उनकी धर्मपत्नी चुन्नु गुरुङ तथा तनहुँ समाज यूकेका अध्यक्ष सन्त गुरुङलगायतको उपस्थिति थियो।
त्यस्तै, लमजुङ समाज यूके आमा समूहकी निवर्तमान अध्यक्ष माला घले, ईलमपोखरी समाज यूकेका मानार्थ सदस्य एवम् लमजुङ समाज यूकेका पूर्वअध्यक्ष बोहत गुरुङ, उनकी धर्मपत्नी लक्ष्मी गुरुङ तथा अर्की मानार्थ सदस्य इन्द्र गुरुङलगायतको सहभागिता थियो।
कार्यक्रममा गोरखाली समाज यूकेकी अध्यक्ष टकमाया गुरुङ, गोरखा जिल्ला गुरुङ समाज यूकेका अध्यक्ष टेकमान गुरुङ तथा उनकी धर्मपत्नी चुन्नु गुरुङ र तनहुँ समाज यूकेका अध्यक्ष सन्त गुरुङलाई खादा, क्रेगी र क्रमु लगाएर सम्मान गरिएको थियो। नेपालबाट बेलायत पुगेका कलाकारहरू प्रिया गुरुङ, मञ्जु विक र लक्ष्मी गुरुङलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो।
यस्तै, पत्रकारितामार्फत समुदायमा पुर्याएको योगदानको कदर गर्दै गोर्खा मिडियाका मिलन गुरुङलाई खादा तथा प्रशंसापत्र प्रदान गरिएको थियो। कार्यक्रममा समाजका संस्थापक अध्यक्ष मोहनसिंह गुरुङ, तारा गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए।
ग्रीष्मकालीन कार्यक्रमअन्तर्गत बाह्य खेलकुदतर्फ पुरुषका लागि भलिबल र फुटबल तथा महिलाका लागि भकुण्डो पासलगायतका मनोरञ्जनात्मक खेल आयोजना गरिएको थियो। बाह्य खेलकुद सहसचिव मनोज गुरुङको संयोजकत्वमा सञ्चालन गरिएको थियो।
समाजका सल्लाहकार हरि गुरुङ र लोकप्रिय गायिका मञ्जु विकबीच प्रस्तुत ठाडोभाकाको जुहारीले कार्यक्रममा थप रौनक थपेको थियो। सहभागी तथा दर्शकहरूले ठाडोभाकाको जुहारीमा रमाउँदै मनोरञ्जन लिएका थिए।
सांस्कृतिक सचिव मोतीप्रसाद गुरुङको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा पूर्वी लमजुङमा लोकप्रिय बाह्रमासे घाटु नाच प्रस्तुत गरिएको थियो। सन् २०१६ को नेपाली मेलामा नृत्यतर्फ प्रथम भएका जुम्ल्याहा श्रेया गुरुङ र तारा गुरुङले विशेष प्रस्तुति दिएका थिए।
सविता गुरुङको उद्घोषणमा सञ्चालित सांस्कृतिक कार्यक्रममा कलाकारहरू लक्ष्मी गुरुङ, प्रिया गुरुङ र मञ्जु विकले दमदार गायन तथा नृत्य प्रस्तुत गरेका थिए। कलाकारहरूको प्रस्तुतिमा सहभागी दर्शकहरू नाच्दै रमाएका थिए।
कार्यक्रममा आकर्षक पुरस्कारसहित भाग्योदय चिट्ठासमेत आयोजना गरिएको थियो। समाजका सचिव मनोज गुरुङ र कार्यसमिति सदस्य एवम् कार्यक्रम उद्घोषक सविता गुरुङले चिट्ठा कार्यक्रम सञ्चालन गरेका थिए।
महिला मनोरञ्जनात्मक खेलअन्तर्गत समाजकी प्रथम महिला नन्दा गुरुङले प्रायोजन गरेको पुरस्कारमा समाजकी सल्लाहकार एवम् लमजुङ समाज यूकेकी पूर्वअध्यक्ष जुना गुरुङ प्रथम तथा कमला गुरुङ द्वितीय भएकी थिइन्। आमा समूहको मनोरञ्जनात्मक खेल सचिव कुमार गुरुङ र उपा गुरुङले व्यवस्थापन गरेका थिए।
कार्यक्रममा स्थानीय कलाकारहरू शिल्बु गुरुङ, इली गुरुङ, श्रेया गुरुङ र तारा गुरुङलाई समाजका अध्यक्ष परशु गुरुङ, सचिव कुमार गुरुङ, सांस्कृतिक सचिव मोतीप्रसाद गुरुङ र नन्दा गुरुङले उपहार प्रदान गर्दै धन्यवाद तथा बिदाइ गरेका थिए।
कार्यक्रमका लागि समाजका सल्लाहकार एवम् लमजुङ समाज यूकेका पूर्वअध्यक्ष तुलाराम गुरुङको संयोजकत्वमा डि–लाउन्ज रेस्टुरेन्ट एन्ड बारले बार्बिक्यु तथा खानाको व्यवस्था गरेको थियो।
कार्यक्रमको सुरक्षा तथा प्राथमिक उपचारको जिम्मेवारी समाजका उपाध्यक्ष प्रकाश गुरुङले सम्हालेका थिए भने ध्वनि व्यवस्थापन डिनेश गुरुङले गरेका थिए।
कार्यक्रममा समाजका सदस्य स्वर्गीय ज्ञानबहादुर गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। समाजका अध्यक्ष परशु गुरुङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, कलाकार, अतिथि, सदस्य तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रम समापन गरेका थिए।
ईलमपोखरी समाज यूकेले बेलायतमा रहेका ईलमपोखरी क्षेत्रका नेपालीबीच आपसी सम्बन्ध, सद्भाव र एकतालाई थप बलियो बनाउँदै आफ्नो मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले वर्षमा दुईपटक ल्होछार र ग्रीष्मकालीन कार्यक्रम आयोजना गर्दै आएको छ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३ २२:१२