समाजको समृद्धि र समावेशी विकासको मूल मर्म समाजवाद हो । तर जब हामी समाजवादको चर्चा गर्छौं त्यसले समेट्नुपर्ने सबै वर्ग, लिंग, जाति, क्षेत्र र सामाजिक तहको प्रतिनिधित्व हुनुपर्छ ।
दुर्भाग्यवश हाम्रो समाज अझै पनि लिंगको आधारमा भेदभावपूर्ण सोचमा गहिरिएको छ जसको प्रत्यक्ष असर महिलाको नेतृत्व क्षमतामा देखिन्छ । महिला नेतृत्वप्रति अविश्वास महिलालाई चुप लाग्नुपर्ने परम्परागत सोच अनि महिला जनप्रतिनिधिलाई पनि दोस्रो दर्जाको व्यवहार गर्ने प्रवृत्तिले हाम्रो समाज कति परम्परागत र पक्षपाती सोचले ग्रसित छ भन्ने स्पष्ट देखाएको महसुस गरेको छु ।
नेतृत्व गर्न नसक्ने सोचको जरो कहाँ छ ?
महिला नेतृत्व गर्न सक्दैनन् भन्ने सोच केवल कुनै एक समुदायको समस्या होइन यो त हाम्रो शिक्षा संस्कार र समाजको दीर्घकालीन संरचनागत सोचको परिणाम हो । बाल्यकालदेखि नै हामी छोरीहरुलाई धेरै नबोल, शिष्ट बन बाहिरको काम त केटाले गर्छन्, नेता त पुरुष नै हुनुपर्छ भन्ने ढाँचामा हामी महिलाहरु हुर्केको हुन्छौं । यही सोच हामी महिला जनप्रतिनिधि बनेपछि पनि समाजको व्यवहारमा देखिरहेको छौं ।
जब महिलाहरू सार्वजनिक बैठकमा सहभागी हुन्छन् प्रस्ताव राख्छन् तथा विचार दिन्छन् उनीहरूको कुरा मान्य हुँदैन । कहिले हाँसोको विषय बनाइन्छ, कहिले उहाँलाई त बुझिन्न भनेर विमुख गरिन्छ । महिला वडासदस्यले प्रस्तुत गरेको योजनालाई प्राथमिकतामा नराखिने वा यसमा पछि छलफल गरौँला भन्दै पन्छ्याइने प्रवृत्ति व्यापक रहेको पनि मैले महसुस गरेको छु ।
महिला जनप्रतिनिधिहरूको चुनौतिः
गाउँघरका हामी महिला वडासदस्यहरू दोहोरो दबाबमा छन् । एउटा त आफ्नै परिवार परिवारबाट कुनै साथ सहयोग परको कुरा, समाजको लागि कुनै राम्रो काम गरेता पनि त्यसको जस नदिने र समाजको रूढिवादी सोच अर्को त प्रशासनिक संरचनामा रहेको भेदभाव । उपाध्यक्ष, कोषाध्यक्ष जस्ता जिम्मेवार पदहरूमा महिलालाई सीमित गर्न खोजिन्छ, त्यहाँ पनि नीतिगत निर्णयमा सहभागिता होइन, कार्यान्वयनमा मात्र सीमित गरिन्छ ।
कतिपय अवस्थामा त महिलालाई बैठकको सूचना नै नदिइने निर्णय भइसकेपछि हस्ताक्षर गर्न लगाइने जस्ता कार्य पनि हुने गरेको छ । महिला सदस्यहरू आफ्ना विषयमा बोल्न खोज्दा तपाईं त नयाँ हुनुहुन्छ, अहिलेसम्म केही गर्नुभएको छैन भन्दै अनुभव छैन भन्ने जस्तो आरोप लगाइएको हामी महिलाहरुले अनुभव गरेका छौ ।
समाज सेवा र नेतृत्वमा अग्रसर महिलाहरूको निराशाः
केवल राजनीतिक हैसियतमै होइन समाज सेवामा लागिरहेका धेरै महिलाहरूले पनि यही चुनौति खेपिरहेका छन् । उनीहरूले विद्यालय सुधारदेखि स्वास्थ्य सेवा बालबालिका र महिला अधिकारका क्षेत्रमा निरन्तर काम गरे पनि समाजको आँखामा उनीहरूको योगदान सानो देखिन्छ ।
कतिपय महिलाहरूले घरेलु हिंसा विरुद्ध बोल्दा घरको कुरा बाहिर लगेर के फाइदा भन्ने उल्टो टिप्पणी सुन्नुपरेको छ । महिलाहरूले सचेतनाका कार्यक्रम गरे महिलाहरुलाई समेटेर समूह बनाए गाउँका छोरीहरूलाई आत्मनिर्भर बनाउन तालिम दिए यी सबै कार्यहरूलाई खाली देखावटी भनेर उडाइन्छ ।
मर्यादाक्रममा पनि भेदभावः
हाम्रो समाजमा देखिने लिंगीय भेदभाव मर्यादाक्रमको सूचीमा समेत प्रस्ट देखिन्छ । कुनै पनि सार्वजनिक सानातिना कार्यक्रममा समेत महिला वडा सदस्य तथा वडा सदस्यलाई अन्तिम स्थानमा राख्ने वडाअध्यक्ष पछि आउने क्रमलाई विभिन्न टोल सुधार समिति एवं गाउँका आयोजना तथा उपभोक्ता समितिका पदाधिकारीहरुलाई राखे पछि अनि मात्रै वडा सदस्यको पालो आउने साथै महिलाको उपस्थिति केवल औपचारिकताका रूपमा सीमित गर्ने प्रवृत्ति अझै कायम छ । यस्ता व्यवहारले महिलाहरूमा आत्मगौरव गुम्ने खतरा मात्रै होइन समाजले नै एउटा सकारात्मक परिवर्तनको अवसर गुमाइरहेको हुन्छ ।
समाजवादको आत्मा समावेशीताः
यदि हामी साँचो अर्थमा समाजवादको अभ्यास गर्न चाहन्छौं भने महिला नेतृत्वलाई सम्मान दिनुपर्ने हुन्छ । महिला जनप्रतिनिधिहरूलाई समान मर्यादा, निर्णय गर्ने स्वतन्त्रता र योजना निर्माणमा बराबरको भूमिका दिनु पर्दछ । समाज सेवा गर्ने महिलाहरूको योगदानलाई कदर गर्दै तिनीहरूलाई अगाडि बढाउने वातावरण तयार पार्नु नै समाज परिवर्तनको मूल आधार हो ।
मेरो बिचारमा समाधान के हो ?
- सचेतना कार्यक्रमः लैंगिक समानताको विषयमा गाउँगाउँमा निरन्तर जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
- महिला नेतृत्व तालिमः महिला जनप्रतिनिधिहरूलाई नेतृत्व विकास, नीति निर्माण र सार्वजनिक प्रस्तुतिकरणको तालिम दिन आवश्यक छ ।
- प्रोत्साहन नीतिः सक्रिय महिला सदस्यहरूलाई पुरस्कृत गर्ने उदाहरणीय कार्यलाई प्रसारण गर्ने अभ्यास गरिनुपर्छ ।
- संस्थागत सुधारः वडास्तरमा नै महिला प्रस्तावहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गराउने कानुनी संरचना निर्माण हुनुपर्छ ।
- मर्यादाक्रम सुधारः सार्वजनिक कार्यक्रममा लैंगिक समानताका आधारमा मर्यादाक्रम निर्धारण गरिनुपर्छ ताकि महिला सदस्यको आत्मसम्मान कायम रहोस् ।
हाम्रो समाज परिवर्तनको मूल चाबी महिलाहरूको सशक्त सहभागिता हो । नेतृत्वका अवसर महिलालाई दिइनु भनेको केवल समानता कायम गर्नु मात्र होइन समृद्धि र शान्तिको बाटोमा समाजलाई अगाडि बढाउनु हो । महिला वडासदस्यहरूको पीडा केवल उनीहरूको व्यक्तिगत पीडा होइन त्यो त सम्पूर्ण महिलाहरूको साझा आवाज हो । यो आवाजलाई बुझ्ने सम्मान गर्ने र साथ दिने समय यही हो । अब समय आइसकेको छजसले महिला नेतृत्वलाई अविश्वास गर्छ तिनीहरूलाई व्यावहारिक कामद्वारा जवाफ दिने । महिला अगाडि बढ्छन् , नेतृत्व गर्छन् , परिवर्तन ल्याउँछन् र समाजवादको असली प्रतिबिम्ब यही हो ।
बर्तामाया गुरुङ
महिला वडा सदस्य
क्व्होलासोथार गाउँपालिका वडा नं. ५, सिङ्दी, लमजुङ ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२ १२:५२