संसारलाई राम्रो बनाउने सपना सबैले देख्छन्, तर त्यो सपना तब मात्र साकार हुन्छ, जब सही मानिसहरु समयमै बोलेर, उठेर, अघि सर्छन् । आज हामीले जुन संसार देखिरहेका छौं–अन्याय, भ्रष्टाचार, हिंसा, अत्याचार र स्वार्थको गन्धले भरिएको–यसको मुख्य कारण केवल ‘नराम्रो मान्छे’ होइनन्, बरु ती ‘राम्रा मान्छे’ हुन्, जो मौन छन् ।
नराम्रो मानिसको स्वभाव नै हुन्छ–स्वार्थी बन्ने, अरुलाई दबाउने, नियम तोड्ने र गलत बाटो अपनाउने । तर, जब समाजमा राम्रा, शिक्षित, इमानदार र निडर मानिसहरु मौन रहन्छन्, त्यतिबेला गलतहरुले ठाउँ पाउँछन् । उनीहरू बोल्दैनन्, विरोध गर्दैनन्, जिम्मेवारी लिंदैनन्, परिणामस्वरुप समाज अँध्यारोको दिशा तिर डोरिन्छ ।
इतिहासले बारम्बार देखाएको छ–जब सत्यको पक्षधरहरुले चुप्पी साधे, तब असत्यले उन्मुक्ति पायो । जब नायकहरुले डरले मुख बन्द गरे, तब खलनायकहरूले गद्दारीको झन्डा फहराए । मौनता कहिल्यै समाधान होइन, यो त अपराधीहरुको सहायक बन्ने दुःखद् चुप्पी हो ।
एक जना शिक्षकले विद्यालयमा भ्रष्टाचार देखे, तर बोल्न डराए । एक जना कर्मचारीले घूस खाँदै गरेको दृश्य देखे, तर उ नजर झुकाएर हिँडे । एउटा सचेत नागरिकले छिमेकमा अन्याय भयो, तर उसले आँखा चिम्लियो । यस्तो मौनता समाजका लागि घातक हुन्छ ।
यसो हुँदा हुँदै पनि हामी परिवर्तन चाहन्छौं । तर परिवर्तन त केवल तब सम्भव हुन्छ, जब राम्रो सोंच भएका, सच्चा मन भएका, निडर हृदय भएका मानिसहरुले चुप बस्न छाड्छन् । तिनले आवाज उठाउँछन्, कलम चलाउँछन्, पाइलाहरू अघि बढाउँछन् ।
हामीले बुझ्नुपर्छ–
मौन बस्ने ‘राम्रो मानिस’ अपराध गर्नेमध्ये एक होइन, तर उनी गलतलाई मौन सहमति दिइरहेका हुन्छन् । त्यसैले आजको सबैभन्दा ठूलो आवश्यकता हो–राम्रो मान्छेले बोल्न सुरु गरुन्, अन्यायविरुद्ध उठून् र समाजको नेतृत्व लिऊन् ।
संसार त्यसैले राम्रो बन्नेछ, किनभने अब राम्रा मान्छे मौन रहने छैनन् ।
(लेखकः मर्स्याङ्दी गाउँपालिका ४, मिप्राबासी हुन् ।)
प्रकाशित मिति: सोमबार, साउन ५, २०८२ ०९:४७