सामाजिक सञ्जाल आजको युगको सबैभन्दा प्रभावशाली सार्वजनिक चौतारी हो, जहाँ विचारहरू बोल्छन्, चेतनाहरू टकराउँछन् र व्यक्तित्वहरू उजागर हुन्छन्।
यहाँ व्यक्त गरिएका शब्दहरू केवल अक्षरहरूको संयोजन मात्र होइनन्, ती व्यक्तिको सोच, संस्कार, चेतना र चरित्रका जीवन्त प्रतिबिम्ब हुन्।
फरक विचार हुनु स्वाभाविक हो। असहमति लोकतन्त्रको सुन्दरता हो, बहस यसको शक्ति हो र आलोचना यसको प्राण हो। तर जब तर्क कमजोर पर्न थाल्छ, तथ्यहरूको आधार खस्किन थाल्छ र विचारले आफ्नो बल गुमाउँछ, तब केही मानिसहरू गाली, अपशब्द र व्यक्तिगत आक्रमणको सहारा लिन पुग्छन्। त्यस्तो क्षणमा बहस समाप्त हुन्छ र व्यक्तिको वास्तविक स्तर प्रकट हुन थाल्छ।
सत्यसँग जुध्न नसक्ने र तथ्यसँग प्रतिस्पर्धा गर्न नसक्नेहरू प्रायः आक्रोशलाई आफ्नो हतियार बनाउँछन्। उनीहरुलाई लाग्छ कि अपमान, गाली र चरित्रहत्याले विचारलाई दबाउन सकिन्छ। तर, वास्तविकता यसको ठीक विपरीत हुन्छ। गालीले लक्ष्य बनाइएको व्यक्तिलाई भन्दा बढी गाली गर्ने व्यक्तिको चेतना, संस्कार र व्यक्तित्वलाई सार्वजनिक गरिरहेको हुन्छ।
सभ्य र जिम्मेवार नागरिकको परिचय उसको भाषामा झल्किन्छ। ऊ असहमति व्यक्त गर्दा पनि सम्मानको सीमा नाघ्दैन, आलोचना गर्दा पनि मर्यादा बिर्सिँदैन र विरोध गर्दा पनि विवेक गुमाउँदैन। किनकि उसलाई थाहा हुन्छ, शब्दहरू क्षणिक रूपमा उच्चारण भए पनि तिनले निर्माण गर्ने छवि दीर्घकालसम्म जीवित रहन्छ।
त्यसैले सामाजिक सञ्जालमा सत्यको पक्षमा उभिँदा, तथ्य प्रस्तुत गर्दा वा गलत प्रवृत्तिको विरोध गर्दा कसैले गाली गर्छ भने त्यसलाई हारको रुपमा होइन, तपाईंको विचारसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न नसकेको संकेतका ररुपमा लिनुहोस्। त्यस्तो अवस्थामा आक्रोशले होइन, धैर्यले, प्रतिशोधले होइन, विवेकले र गालीले होइन, तथ्यले जवाफ दिनु नै सबैभन्दा ठूलो विजय हो।
इतिहासका पानाहररुले बारम्बार प्रमाणित गरेका छन् गालीले सत्यलाई पराजित गर्न सकेको छैन, अपशब्दले विचारलाई रोक्न सकेको छैन र भीडको कोलाहलले तथ्यको उज्यालोलाई कहिल्यै ढाक्न सकेको छैन। अन्ततः विजयी हुने सत्य नै हो, बलियो हुने तर्क नै हो र सम्मानित हुने विवेक नै हो।
सामाजिक सञ्जाललाई घृणा, आक्रोश र अपशब्दको अखडा होइन, ज्ञान, विचार र सभ्य संवादको विद्यालय बनाऔँ। गालीको भाषा होइन, चेतनाको भाषा बोलौँ। पूर्वाग्रह होइन, तथ्यको पक्षमा उभिऔँ। किनकि अन्ततः मानिसको वास्तविक उचाइ उसको पद, सम्पत्ति वा शक्तिले होइन, उसले प्रयोग गर्ने भाषा, व्यवहार र प्रस्तुत गर्ने विचारले निर्धारण गर्दछ।
(लेखक अनेरास्ववियु लमजुङका अध्यक्ष हुन्)
प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३ १२:२२