नेपालको रसुवा र भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोले देशलाई गहिरो शोकमा डुबाएको थियो। दैवको खेल, प्रकृतिको प्रकोप र मानिसले चाहेर पनि रोक्न नसक्ने विपत्तिका कारण उत्पन्न दुःखद खबर नेपालमा मात्र सीमित रहेन, बेलायतसम्म आइपुग्यो। मातृभूमिमा परेको यो पीडा बेलायतमा रहेका हामी नेपालीहरूको मनमा पनि उत्तिकै गहिरो गरी गढेको थियो।
तमु धीं यूकेको आयोजनामा हरेक वर्ष बेलायतस्थित नेपाली राजदूतावासको सहकार्यमा, बेलायतमा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरूलाई समेटेर नेपाली मेला आयोजना गरिँदै आएको छ। यस वर्ष म उक्त नेपाली मेलाको संयोजकको जिम्मेवारीमा थिएँ।
नेपाली मेलामा सहभागी हुने विभिन्न संघसंस्थाबाट कोही झाँकीमा त कोही सांस्कृतिक नृत्य प्रस्तुतिमा सहभागी हुने जानकारी आइरहेको थियो। त्यस्तै, विभिन्न व्यवसायीबाट कोही नेपाली खानाका परिकारसहित, कोही नेपाली हस्तकला र नेपाली लुगाका सामग्रीसहित साथै यूकेमा व्यापार व्यवसाय गरिरहेका विभिन्न व्यावसायिक संस्थाबाट विज्ञापनका स्टल राखेर सहभागी हुने जानकारी आइरहेको थियो। ती सबै विवरण संकलन गर्दै, दिनरात नभनी, एकै दिनमा सम्पन्न गर्नुपर्ने मेलाको कार्यक्रम तालिका मिलाउने काम भइरहेको थियो। सहभागी संघसंस्थाहरूको संख्या बढ्दै जाँदा सबैलाई समेटेर समय व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण बन्दै गएको थियो।

तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ, अध्यक्ष जुम काजी गुरुङ साथै संस्थाका अन्य मान्यजनहरुसँग मिलेर कसरी सबै संघसंस्थालाई उचित स्थान र अवसर प्रदान गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुँदै म कार्यक्रमको तालिका तयार गर्न व्यस्त थिएँ।
तर, अचानक मातृभूमिबाट आएको दुःखद खबरले हाम्रो सम्पूर्ण उत्साहमाथि शोकको बादल छाइदियो।
हामी स्तब्ध भयौँ। मन आत्तियो, होसहवास उड्यो। नेपाली मेलाको संयोजकको जिम्मेवारीमा रहेकाले त्यो बाढीपहिरोले मलाई व्यक्तिगत रुपमा मात्र होइन, समग्र तमु धीं यूके र नेपाली मेलालाई नै ठूलो चोट पुर्याएजस्तो महसुस भयो। मनमा पीडा, अन्योल र असह्य छटपटी छायो। न राम्ररी सुत्न सकियो, न खान नै सकियो। एकातिर मातृभूमिमा परेको विपत्तिको पीडा थियो भने अर्कोतिर नजिकिँदै गरेको नेपाली मेलाबारे गम्भीर निर्णय लिनुपर्ने अवस्था थियो।

यसैबीच, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट फोन आउन थाले। इमेलमार्फत पनि सन्देशहरु प्राप्त हुन थाले। देश शोकमा डुबेको बेला नेपाली मेला स्थगित गर्नुपर्छ भन्ने आवाजहरु उठ्न थाले। विभिन्न सुझाव र विचारहरु आउन थाले। कतिपय संघसंस्थाले मेलामा सहभागी नहुने निर्णय गरिसकेका थिए।
नेपाली मेला आयोजना हुने दिन नजिकिँदै थियो। अब हामीले एउटा महत्त्वपूर्ण निर्णय लिनैपर्ने भयो।
नेपाली मेला स्थगित गर्ने कि निरन्तरता दिने ?
यो केवल एउटा कार्यक्रम गर्ने वा नगर्ने भन्ने प्रश्न थिएन। यो मातृभूमिप्रतिको हाम्रो दायित्व, दुःखमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रतिको हाम्रो संवेदना र विदेशमा रहेर पनि देशका लागि केही गर्न सकिन्छ भन्ने हाम्रो विश्वाससँग जोडिएको निर्णय थियो।
अन्ततः हामीले दुःखलाई शक्तिमा बदल्ने निर्णय गर्यौँ।
नेपाली मेला स्थगित नगरी त्यसलाई निरन्तरता दिने र मेलाबाट बचत हुने सम्पूर्ण रकम नेपालमा रसुवा–भोटेकोशी बाढीपहिरोबाट प्रभावित पीडितहरूको राहत तथा सहयोग कोषमा प्रदान गर्ने निर्णय गर्यौँ।
यो निर्णय केवल तमु धीं यूकेको निर्णय थिएन, यो दुःखमा परेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरुसँगै उभिने मानवीय भावनाको निर्णय थियो। हामीले महसुस गर्यौँ–शोकलाई व्यक्त गर्ने एउटा बाटो मौन बस्नु हुन सक्छ, तर अर्को बाटो दुःखमा परेकाहरुको घाउमा मलम लगाउन सक्रिय हुनु पनि हो।

हाम्रो निर्णयको समाचार चारैतिर फैलियो। धेरै नेपालीहरूको मन छोयो। सुरुमा सहभागी नहुने निर्णय गरेका केही संघसंस्थाहरूबाट समेत पुनः सहभागी हुने सकारात्मक खबर आउन थाल्यो। प्रत्यक्ष रुपमा विपत्तिबाट प्रभावित परिवारहरुबाट पनि हाम्रो निर्णयप्रति खुसी व्यक्त गर्दै, ‘हामी आउँछौँ, मेलामा सहभागी हुन्छौँ र बाल्टी–बाल्टीमा सहयोग रकम संकलन गर्छौँ’ भन्ने उत्साहजनक सन्देशहरु प्राप्त हुन थाले।
ती सन्देशहरुले हाम्रो मनमा नयाँ ऊर्जा थप्यो । दुःखले थिचिएको मनमा आशा पलायो। हामीले लिएको निर्णय सही दिशातर्फको एउटा मानवीय प्रयास रहेछ भन्ने अनुभूति भयो।
नेपाली मेला केवल कला, संस्कृति, भेषभूषा, खानपान र मनोरञ्जन प्रस्तुत गर्ने उत्सव मात्र रहेन। त्यो दिन नेपाली मेला परदेशमा बसेर पनि मातृभूमिको दुःखमा सँगै उभिन सकिन्छ भन्ने एकताको प्रतीक बन्यो। नेपाली जहाँ रहे पनि आफ्नो देश र देशवासीप्रतिको माया कहिल्यै कम हुँदैन भन्ने सन्देश प्रवाह भयो।
साँच्चै, त्यो दिन लिइएको निर्णयले नेपाली मेला, तमु धीं यूके र बेलायतमा रहेका सम्पूर्ण नेपालीहरुको शिर उँचो बनायो।

हामीले बुझ्यौँ–संस्थाको वास्तविक महानता उसले आयोजना गर्ने भव्य कार्यक्रमले मात्र मापन हुँदैन, दुःख र विपत्तिको घडीमा उसले निर्वाह गर्ने मानवीय जिम्मेवारीले पनि मापन हुन्छ। एकता, सहकार्य, करुणा र सहयोगको भावनाले नै हामीलाई बलियो बनाउँछ।
आज पनि त्यो क्षण सम्झँदा मन भावुक हुन्छ। एउटा कठिन परिस्थितिमा लिनुपरेको निर्णयले कति धेरै मनहरुलाई जोड्न सक्दोरहेछ, कति धेरै मानिसमा आशा जगाउन सक्दोरहेछ र एउटा संस्थालाई मानवीय सेवाको माध्यम बनाउन सक्दोरहेछ भन्ने कुरा त्यस घटनाले सिकाएको छ।
मातृभूमिमा परेको दुःखलाई आफ्नै दुःख ठानेर, पीडितहरूको आँसु पुछ्न सकिन्छ भन्ने विश्वासका साथ अघि बढ्नु नै हाम्रो नेपालीपन हो।
दुःखमा साथ, विपत्तिमा सहयोग र मातृभूमिप्रति अटुट माया–यही नै त्यस वर्षको नेपाली मेलाले दिएको सबैभन्दा ठूलो सन्देश थियो।
क्रमशः....
लेखकः कास्कीको धम्पसु घर भइ हाल यूकेमा बसोबास गर्छन् । उनी तमु धीं यूकेका उपाध्यक्ष हुन् ।