नेपाली पत्रकारितामा डिजिटल प्लेटफर्म प्रयोगमा आएको धेरै भएको छैन। तर पछिल्लो दशकमा हजारौं नेपाली डिजिटल मिडिया स्थापना भइसकेका छन्।
प्रिन्ट मिडिया (पत्रिका) र इलेक्ट्रोनिक मिडिया (रेडियो–टेलिभिजन) पछि जन्मिएको डिजिटल मिडिया आज नागरिकको आवाजलाई उठाउने सबभन्दा सशक्त माध्यम बनेको छ। यस क्षेत्रमा हजारौं पत्रकार सक्रिय छन्।
पत्रकारिताको विश्वव्यापी परिभाषा र मान्यता फराकिलो बन्दै गर्दा जन्मिएको डिजिटल मिडिया कुनै सीमित घेराभित्र रहन सक्दैन। तत्काल सूचना सम्प्रेषण गर्ने क्षमता भएकै कारण यसले नेपाली पत्रकारितामा ठूलो छलाङ मारेको छ। गाउँठाउँका स–साना खबरहरू समेत विश्वका जुनसुकै कुनामा रहेका नेपालीहरूसम्म तुरुन्त पुर्याउन सक्ने सामर्थ्यले डिजिटल पत्रकारिता आजको सबभन्दा प्रभावकारी माध्यम बनेको छ।
यही धरातलमा लमजुङ मिडिया हाउसद्वारा सञ्चालित लमजुङखबर डटकम जन्मिएको हो।
‘लमजुङ’ नाम राख्नुका धेरै अर्थ छन्। लमजुङ ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टिले चर्चित जिल्ला हो। संघीय संरचनाले जिल्लाको नाम ओझेलमा पर्न सक्ने भएकाले ‘लमजुङ’ शब्दलाई निरन्तर जीवित राख्ने र चिनाउने उद्देश्यसहित हामीले यसलाई लमजुङखबर नाम दिएका हौँ।
तर लमजुङखबर केवल लमजुङको खबरमा सीमित छैन। पत्रकारिताको विश्वव्यापी मान्यताअनुरूप यहाँ विश्वका विभिन्न स्थानका समाचार पनि समेटिन्छन्।
डिजिटल प्लेटफर्मले एकोहोरो समाचार, पीडितलाई झन् पीडित बनाउने, दोषीलाई जोगाउने वा व्यक्तिगत मानमर्दन गर्ने भन्ने आमबुझाइबाट लमजुङखबर अलग रहन चाहन्छ। हाम्रो उद्देश्य गाउँका समाचार गाउँलेसम्म पुर्याउने र गाउँकै आवाजलाई बलियो बनाउन योगदान पुर्याउने हो। यही अभिलाषासहित २०८१ साल भदौ २ गते लमजुङखबर स्थापना भएको हो। आजसम्मको यात्रामा हामीले पहिलो वर्ष सफलतापूर्वक पूरा गरिसकेका छौँ।
यो एक वर्षमा हजारौं पाठक हामीसँग जोडिनु नै हाम्रो सबभन्दा ठूलो उपलब्धि हो। देशविदेशमा रहेका सबै पाठक, दर्शक–श्रोता, सूचनादाता, विज्ञापनदाता तथा शुभेच्छुकप्रति लमजुङखबर परिवार हार्दिक आभार प्रकट गर्दछ।
हामी पत्रकारिताको मर्मलाई कायम राख्दै निरन्तर अघि बढ्नेछौँ। लमजुङखबरलाई अझ विश्वव्यापी र प्रभावकारी बनाउन फेसबुक, युट्युबजस्ता डिजिटल प्लेटफर्ममा सक्रिय भएर अन्य माध्यमतर्फ पनि विस्तार गर्दैछौँ।
पहिलो वर्षको उपलब्धिलाई प्रेरणाका रूपमा स्वीकार्दै दोस्रो वर्षमा अझ सशक्त बनेर अघि बढ्ने हाम्रो प्रतिबद्धता छ।
धन्यवाद।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२ ०६:५८