प्रिय बुबा,
आज बुवाको मुख हेर्ने दिन । हाम्रो संस्कृतिले वर्षको एउटा दिन छुट्याएर बाबालाई विशेष सम्मान गर्ने परम्परा दिएको छ । तर म भन्छु – बाबाप्रति श्रद्धा, माया र सम्मान केवल एक दिनको औपचारिकतामा सीमित हुनु हुँदैन । वर्षमा एक दिन मात्र फेसबुकमा फोटो पोस्ट गरेर, "बाबा, तपाईंलाई धेरै माया गर्छु" भनेर स्टाटस लेखेर मात्रै दायित्व पुरा हुँदैन । किनभने बाबाको स्थान, योगदान र महत्त्व त्यस्तो हो जसलाई जीवनभर व्यवहारमा उतारेर मात्र सच्चा सम्मान गर्न सकिन्छ ।
१. बाबा जीवनका पहिलो गुरु
हामी जन्मिदा आमाको गर्भको पीडा अविस्मरणीय हुन्छ । तर जन्मपश्चात् समाजमा टेकेर हिँड्न, बोल्न, मूल्य र संस्कार सिक्न बाबा नै पहिलो आधार बन्नुहुन्छ भन्ने मलाइ लाग्छ ।
• शिक्षा दिनुहोस् – शब्द मात्र होइन, कर्मद्वारा ।
• अनुशासन सिकाउनुहोस् – परिवारलाई कसरी चलाउने भनेर व्यवहारिक पाठ दिनुहुन्छ ।
• आदर्श दिनुहोस् – मेहनत, इमानदारी र जिम्मेवारीको मार्ग देखाउनुहुन्छ ।
त्यसैले बाबा केवल पालनकर्ता मात्र होइन, जीवनका पहिलो गुरु पनि हुनुहुन्छ है ।
२. समाजमा बाबाको स्थान
बाबा केवल परिवारको मात्र होइन, समाजकै मेरुदण्ड हो ।
• घरलाई आधार दिने हात बाबा हो ।
• परिवारलाई चलाउने ढुकढुकी बाबा हो ।
• समाजलाई योगदान दिने परिश्रम बाबा हो ।
जसरी ठूलो रुखले छायाँ दिन्छ, जरा गाडेर जमिन सम्हाल्छ, त्यस्तै परिवारलाई आधार दिने रुख बाबा हुन् । तर विडम्बना के छ भने, यस्तो ठूलो योगदान दिने बाबालाई सम्मान गर्ने कुरा समाजमा धेरैपटक बिर्सिन्छ ।
३. वर्षमा एक दिन मात्र होइन, हरेक दिन सम्मान
आज सामाजिक सञ्जालले मानिसलाई धेरै सजिलो बनाएको छ मैले अनुभव गरेको छु ।
यस दिन धेरैजना बाबासँगको फोटो पोस्ट गर्छन्, राम्रो–राम्रो शब्द लेख्छन् । त्यो गलत होइन, तर अपुरो हो जस्तो मैले महसुस गरेको छु ।
• बाबासँग दिनदिनमा फोन गर्न नसक्ने छोराछोरीले स्टाटस राखेर मात्र दायित्व पूरा हुँदैन ।
• बाबा बाँचुन्जेल सेवा नगरी, दिवंगत भएपछि मात्र सम्झेर अश्रु झार्नु वास्तविक श्रद्धा होइन ।
यसैले यो दिनले समाजलाई दिएको सन्देश के हो भने –
बाबा जीवित रहुन्जेल सधैं सम्मान गरौं, सेवा गरौं र उहाँका शब्दलाई मूल्य दिऔं ।
४. सन्तानको कर्तव्य
हाम्रो संस्कृतिमा भनिन्छ माता पिता देवता समान हुन् ।
सन्तानको पहिलो धर्म भनेको बाबाआमाप्रति कृतज्ञ हुनु हो ।
• वृद्धावस्थामा सेवा गर्नु – उनीहरूको औषधि, स्वास्थ्य र सुखमा ख्याल गर्नुपर्छ ।
• समय दिनु - पैसा वा सामानभन्दा ठूलो कुरा हो, उनीहरूलाई माया र समय दिनु ।
• उनीहरूको अनुभवलाई सम्मान गर्नु – बाबा जीवनका वास्तविक गुरु हुन् तिनका अनुभवले सन्तानलाई भविष्यमा ठुलो सहयोग गर्छ ।
५. आधुनिक समाजमा देखिएको समस्या
आजको पुस्तामा बाबाआमाप्रति दूरी बढेको देखिन्छ ।
• कतिपय बाबाआमा वृद्धाश्रममा बस्न बाध्य छन् ।
• कतिपयलाई आफ्ना छोराछोरीसँग कुरा गर्न समय पाइँदैन ।
• कतिपय बाबालाई केवल आर्थिक स्रोत को रूपमा मात्र हेर्ने प्रवृत्ति छ ।
यी समस्या समाधान गर्न यस दिनले दिएको शिक्षा के हो भने – बाबा पैसाको मेसिन होइनन्, उहाँ भावना, माया र त्यागका स्रोत हुनुहुन्छ ।
६. बाबा र सन्तानबीचको सम्बन्ध : समाजको आधार
बाबा र सन्तानबीचको सम्बन्ध बलियो भयो भने समाज सुदृढ हुन्छ भन्ने मलाई लाग्छ ।
• बाबाले सन्तानलाई संस्कार दिन्छन् ।
• सन्तानले बाबालाई सम्मान गर्छन् ।
• यस्तो सम्बन्धले परिवार मात्र होइन ! समाजमा पनि अनुशासन र सद्भाव फैलाउँछ ।
७. निष्कर्ष
प्रिय बाबा,
तपाईंको योगदानलाई शब्दमा मात्र बाँध्न सकिँदैन ।
तपाईंको जीवनभरको त्याग, माया र मेहनतको अगाडि वर्षमा एक दिनको पूजा वा फोटो पोस्ट सानो कुरा मात्र हो ।
सन्तानको साँचो सम्मान भनेको –
• तपाईंलाई प्रत्येक दिन सम्झनु,
• तपाईंको अनुशासन , आदर्शलाई जीवनमा उतार्नु
• तपाईंलाई वृद्धावस्थामा खुसी राख्नु हो ।
समाजका लागि यो दिनको सन्देश स्पष्ट छ
‘आमा–बाबा जस्तै पूजनीय कोही छैन । फेसबुकको स्टाटसभन्दा ठूलो सम्मान त दिनदिनमा गरिएको सच्चा सेवा हो ।’ यसरी बुवाको मुख हेर्ने दिन केवल परम्परागत चाड नभई समाजलाई चेतना दिने अवसर हो जस्तो मलाई लाग्छ । यसले सन्तानलाई आभार प्रकट गर्न सिकाउँछ, परिवारलाई जोड्छ साथै समाजमा प्रेम, एकता र संस्कार फैलाउँछ ।
लेखक:
आर पि (राजु परियार)
क्व्होलासोथार-४, भुजुङ
प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२ १२:२१