आजको विश्व तीव्र परिवर्तनको चरणमा छ । प्रविधिको युगमा सूचना र विचारहरू छिट्टै फैलिन्छन्, तर यससँगै गलत सूचना (फेक न्युज), गाली–गलौज र नकारात्मक प्रवृत्तिहरू पनि समाजमा मौलाउँदै गएको छ । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै युवा पुस्ता यी नकारात्मक प्रवृत्तिको सिकार बन्न थालेको देखिन्छ । तर, यो पुस्ता नेपालको भविष्य हो । उनीहरूको ऊर्जा, सोच, र क्रियाशीलताले देशको मुहार बदल्न सक्छ । त्यसैले आजको आवश्यकता के हो भने, युवा गाली–गलौज, झुठा प्रचार र नकारात्मकताबाट टाढा रही कर्मशील बन्नुपर्छ, आफ्नो जीवन, समाज र राष्ट्रको भविष्य बनाउने दिशामा अघि बढ्नुपर्छ ।
सामाजिक सञ्जालले अभिव्यक्ति गर्ने स्वतन्त्रता दिएको छ । फेसबुक, ट्विटर, टिकटक, इन्स्टाग्रामजस्ता माध्यमहरूमा उनीहरू खुलेर आफ्ना विचार राख्न सक्छन् । तर, यही स्वतन्त्रता गलत दिशामा मोडिएर गाली–गलौज, घृणा फैलाउने टिप्पणी, र झुठा समाचार प्रचार गर्ने माध्यम पनि बन्न थालेको छ । यस्ता प्रवृत्तिले न त व्यक्तिको विकासमा सहयोग गर्छ, न समाजको । झुट बोलेर भाइरल हुने, अर्कोलाई होच्याएर लोकप्रियता कमाउने संस्कृति युवाको समय, सोच, र ऊर्जालाई नकारात्मक दिशामा मोडिरहेको छ । यो अभिव्यक्ति होइन, विकृति हो ।
लोकतन्त्रमा आलोचना आवश्यक छ । सत्ता, नीतिनिर्माण, वा सामाजिक मुद्दामा असहमति जनाउनु स्वाभाविक हो । तर, आलोचना र गालीबीच ठूलो भिन्नता हुन्छ । आलोचना तथ्यमा आधारित, मर्यादित र उद्देश्यपरक हुनुपर्छ । तर आज सामाजिक सञ्जालमा देखिने टिप्पणीहरूमा प्रायः गाली–गलौज, व्यक्तिगत आक्रमण र अनर्गल आरोपको भर हुन्छ । युवा पुस्ताले बुझ्नुपर्छ । गालीले तर्क जितिँदैन, सम्मान पाउँदैन, र विश्वास बढ्दैन । सशक्त र परिवर्तनशील समाज बनाउने हो भने आलोचना सभ्य भाषामा र तथ्यमा आधारित हुनुपर्छ ।
फेक अभिव्यक्ति एउटा गम्भीर समस्या बनेको छ । विशेषगरी चुनाव, आन्दोलन, वा संवेदनशील विषयमा युवाहरू सामाजिक सञ्जालमा देखिने हरेक कुरालाई सत्य ठानी प्रतिक्रिया दिन्छन् । यो प्रवृत्तिले उनीहरूलाई सत्य बुझ्ने होइन, उत्तेजित हुने बनाउँछ । यस्ता झूठा खबरहरू समर्थन गरेर युवा पुस्ता अनावश्यक द्वन्द्व, तनाव र वैमनस्यता बढाउने माध्यम बनेका छन् । सोच्दा पनि अचम्म लाग्छ–भोलि देश हाँक्ने पुस्ता आज फेक न्युजको पछि लागेर आफ्नो धारणा बनाईरहेका छन् । यसलाई रोक्ने उपाय भनेको सूचना बुझ्ने, परिक्षण गर्ने, र विवेक प्रयोग गर्ने हो । एउटा कुरालाई शेयर गर्नु अघि सोच्नुपर्छ, के यो सत्य हो ? के यसले समाजलाई सकारात्मक असर पार्छ ? के यसले कसैको चरित्र हत्या गरिरहेको छैन ?
युवा शक्ति कर्ममा होस्, कुर्सीका खेलमा होइन । अवसरको खोजी गर्नु राम्रो हो, तर त्यसको लागि मेहनत, अभ्यास, र धैर्य चाहिन्छ । संसारका सफल मानिसहरूको जीवन हेर्ने हो भने उनीहरू सबै आलोचना होइन, कर्ममा केन्द्रित थिए । विश्वव्यापी प्रतिस्पर्धामा टिक्न शिक्षा र सीप अत्यावश्यक छ । हाम्रा युवाहरूले उच्च शिक्षा मात्र होइन, प्रविधि, भाषा, व्यवस्थापन, व्यवसाय, कृषि, पर्यटन आदि क्षेत्रमा दक्षता हासिल गर्नुपर्छ ।
सकारात्मक सोच विकासको पहिलो सिँढी हो । समस्या देखेर हतोत्साहित होइन, समाधान खोज्ने सोच विकास गर्नुपर्छ । साथै, परिवार, समुदाय, र देशको हितमा काम गर्ने वातावरण बनाउनुपर्नेछ । आजको युवा जागरुक छ, आत्मनिर्भर बन्न सक्छ । कृषि, साना उद्यम, स्टार्टअप, अनलाइन व्यापार आदि क्षेत्रमा लागेर उसले आफ्नै बाटो बनाउन सक्छ । रोजगारी माग्नुभन्दा सिर्जना गर्नु ठूलो कुरा हो । आजको युवा भोलिको नेता हो । तर नेता हुन भावनामा बहकिनु हुँदैन, विवेक र जिम्मेवारीमा विश्वास गर्नुपर्छ । नेतृत्व भनेको अरूलाई कराउनु होइन, अरूको सुनिदिनु र समाधान दिनु हो । राष्ट्रप्रेम गाली गरेर होइन, कर्म गरेर देखाउनुपर्छ । देशको कमजोरी देखेर हाँसो होइन, समाधानको बाटो देखाउनु नै सच्चा देशभक्ति हो ।
आजको युवा पुस्तामा अपार सम्भावना छ । उनीहरूको सोच, जोश, र कार्यशैलीले नेपाललाई समृद्ध बनाउन सक्छ । तर, त्यो सम्भावना केवल गाली गरेर, झूठो समाचार फैलाएर वा अनावश्यक विवादमा अल्झिएर पुरा हुँदैन । त्यसको लागि चाहिन्छ कर्म—इमानदार, निरन्तर र सकारात्मक कर्म । युवा शक्ति अब गाली होइन, विकासको भाषा बोलोस् । झूट होइन, सत्यको बाटो समातोस् । अनि मात्र निर्माण हुनेछः एक सशक्त, समृद्ध र समावेशी नेपाल । हामीले बोल्ने शब्दहरू हाम्रो चरित्र दर्शाउँछन् र हाम्रो कर्मले हाम्रो भविष्य निर्माण गर्छ । त्यसैले युवा हो, आजैबाट निर्णय गरौँ–नकारात्मकताको होइन, कर्मशील यात्राको ।
जीवनका हरेक मोडमा समयको महत्व अत्यन्त हुन्छ । विशेषगरी युवावस्थाको समय सबैभन्दा किमती हुन्छ–यही उमेरमा व्यक्तिले शिक्षा, सीप, अनुभव र व्यक्तित्व विकासको आधार तयार पार्ने हो । तर दुःखको कुरा, आजका थुप्रै युवा राजनीतिक दल र नेताहरूको चकमक झुटो भाषणमा फस्दै छन् । उनीहरू आफूलाई ‘देश बनाउने’ नारा दिँदै नेताहरूको पछि लाग्छन्, तर समयक्रममा थाहा पाउँछन् । उनीहरू केवल प्रयोग गरिएको रहेछन् । यो वास्तविकता बुझ्नु जरुरी छ कि कर्म गर्ने बेला राजनीतिमा अन्धो रुपमा लागे भविष्य अन्धकार हुन्छ ।
राजनीतिक नेताहरू युवालाई प्रयोग गर्छन्, तर भविष्य बनाउने बाटो देखाउँदैनन् । जब तपाईंँको आवश्यकता सकिन्छ, तपाईंँको सट्टा अर्को भिड आउनेछ, फेरि प्रयोग गर्न । त्यो बेलामा न त तपाईंँलाई जागिर मिल्छ, न सहयोग, न सम्मान । जब तपाईंँम्को साथीहरू पढाइ, सीप, व्यवसाय, रोजगारी, अनुसन्धानमा लागेका हुन्छन्, त्यतिबेला तपाईंसँग पछुतो मान्नु बाहेक अरु केही हुँदैन ।
यदि तपाईं साँच्चै परिवर्तन चाहनुहुन्छ भने, त्यसको लागि नीतिगत अध्ययन, व्यावसायिक सीप र आत्मनिर्भर बन्ने कर्म आवश्यक छ । प्रविधि, व्यवसाय, कृषि, सूचना प्रविधि, पर्यटन, स्वास्थ्य । यी क्षेत्रमा सिप विकास गरेर तपाईं देशभित्रै वा विदेशमा अवसर खोज्न सक्नुहुन्छ । देश बन्ने भनेको यही हो–जनताको आत्मनिर्भरता । यदी राजनीति गर्नै छ भने, पहिले जीवनको आधार तयार गर्नुहोस् । राजनीति सेवा हो, जीविकाको माध्यम होइन । सेवा गर्न शिक्षित, विवेकी र आत्मनिर्भर हुनु आवश्यक छ ।
दैनिक राजनीतिका नारा, ट्वीट, भिडमा लागेर तपाईं आफ्नो लक्ष्य बिर्सिँदै जानुहुन्छ । सोच्नुहोस्,–५ वर्षपछि तपाईं आफूलाई कहाँ देख्न चाहनुहुन्छ ? मेरो उद्देश्य राजनीतिबाट युवालाई टाढा राख्नु होइन । राजनीतिक चेतना अत्यावश्यक छ–देशको नीति, संविधान, नीति निर्माण प्रक्रिया बुझ्नुपर्छ । तर दलगत अन्धभक्त बन्नु घातक हो । राजनीतिक जागरूकता राख्नुस्, तर आफ्नो जीवनको कर्ममार्गमा ध्यान केन्द्रित राख्नुस् ।
कति नेताका छोराछोरी विदेशमा छन्, उच्च शिक्षा लिइरहेका छन्, व्यापार वा रोजगारीमा लागिरहेका छन् । तर तिनै नेताहरूका कार्यकर्ता भने गाडी धकेलिरहेका छन्, र्यालीमा माइक समातिरहेका छन्, जुलुसमा जेल जान तयार छन् । कतिपय युवा झुट र फेक कुरा बनाएर भ्रम सिर्जना गरिरहेका छन् । यस्तो कुराले कति नेता खुसी होलान, उनीहरुको राजनीति भविष्य र स्वार्थ पूरा होला तर तपाईँ कानूनी झमेलामा पर्नु भयो भने तपाईँ र तपाईँको परिवारबाहेक तपाईँलाई साथ दिने कोही हुँर्दैन, हुनेछैन ।
यदि तपाईंँ कर्ममा लाग्नुभयो भने तपाईंँले भविष्य बनाउनुहुन्छ । सीप, अनुभव र आत्मनिर्भरताले तपाईंँलाई सम्मान र स्थायित्व दिन्छ । तर यदि तपाईंँ नेताको पछि लागेर केवल प्रयोग भइरहनुभयो भने, त्यो दिन धेरै टाढा छैन जब तपाईंँले भन्नुहुनेछ, त्यो बेला म पढेको भए, काममा लागेको भए ! “कर्म गर्ने बेला कराउँदा भविष्यका लागि बाटो विराउनुबाहेक बाँकी केही हुँदैन । युवाहरूलाई मेरो आग्रह छ, नेताका भाषणमा होइन, झुट र फेक कुरामा होइन । आफ्ना कर्म र लक्ष्यमा विश्वास गर्नुस् । तपाईंको भविष्य तपाईंँको हातमा छ ।
(लेखकः नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन् ।)
प्रकाशित मिति: बुधबार, असार ३२, २०८२ १५:३८