आज हाम्रो नेपाली समाजमा राजनीति भन्नेबित्तिकै धेरै मानिसको मनमा नकारात्मक धारणा आउँछ । सबै नेता स्वार्थी हुन्छन्, पार्टीले देश बिगार्यो र विकासको नाउँमा केवल प्रचार मात्रै भयो भन्ने सोच कतिपय ठाउँमा सामान्य जस्तै बनिसकेको छ ।
विशेषतः नेकपा एमालेप्रति पनि यस्ता अनेकन भ्रमहरू फैलाइएको छ, कतै जानाजान कतै बुझाइको कमीले । तर हामी एमाले कार्यकर्ताहरूलाई थाहा छ, सत्य के हो । हाम्रो पार्टीको मूल ध्येय, योगदान, विचार र भविष्यको योजना थाहा हुने हो भने आम जनता र खासगरी युवाहरुमा उत्साहको नयाँ लहर आउनेछ ।
यस लेखमा म एक साधारण एमाले कार्यकर्ता, पार्टीप्रति फैलाइएका केही मुख्य भ्रमहरू चिर्ने प्रयास गर्दैछु र साथसाथै पार्टीले दिएको आशा, भरोसा र मार्गदर्शनबारे आफ्ना भावना बाँड्दैछु ।
एमाले सधैं सत्ता लोभी पार्टी हो ?
धेरैले भन्छन्, एमाले सधैं सत्तामा बस्न मात्रै चाहन्छ । यो कुरा सतही रूपमा हेर्दा लाग्न सक्छ तर, यो सत्य होइन एमाले सत्ता प्राप्तिको लागि होइन, समाज रुपान्तरणको लागि राजनीति गर्छ । इतिहास हेर्ने हो भने २०४८ सालको चुनावपछि पनि एमालेले बहुमत पाएको छैन तर, संसदको मर्यादा, गणतन्त्रको रक्षा र जनताको पक्षमा निर्णय लिन सधैं अगाडि उभिएको छ । एमाले सत्तामा हुँदा नीतिगत सुधार ल्याउने सामाजिक सुरक्षा विस्तार गर्ने, पूर्वाधार निर्माणमा गति दिने र भ्रष्टाचारविरुद्ध दृढ अडान लिने काम गर्यो । कहिलेकाहीं अल्पमतमा हुँदा पनि एमालेले जनताको आवाज बुलन्द पार्दै सरकारलाई घुँडा टेकाएको उदाहरण प्रशस्तै छन् ।
एमालेले केही नगरेको पार्टी हो ?
यो सबैभन्दा हाँस्यास्पद र खतरनाक भ्रम हो । एमालेले नगरेको भए देशमा आज गाउँ–गाउँमा सडक, बत्ती, विद्यालय र स्वास्थ्यचौकी पुग्थ्यो ? हामीले २०५१ सालमा सरकारले ल्याएको ‘एक घर एक धारा’ अभियान सम्झनुपर्छ । काठमाडौं उपत्यकामा रिंग रोडको विस्तारदेखि ग्रामीण सडक सञ्जाल विस्तारसम्म डोबदेखि मोटर चल्ने बाटो बनाउने अभियान एमाले नेतृत्वमा तीव्र भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा मात्रै हेरौं, नेपाल चीन रेल सम्झौता, ढल्केबर मुजफ्फरपुर प्रसारण लाइन, सामाजिक सुरक्षा कार्यक्रम, गाउँ–गाउँमा इन्टरनेट जस्ता यथार्थपरक योजनाहरू ल्याइएका थिए । यिनै योजनाहरु आज विभिन्न सरकारले निरन्तरता दिइरहेका छन् ।
एमालेमा विचार छैन, केवल नाराजात्रा मात्रै छ ?
एमाले कम्युनिष्ट विचारमा आधारित पार्टी हो, जसले समाजवादको बाटो समातेको छ । हाम्रो विचार ‘समृद्ध नेपाल–सुखी नेपाली’ भन्ने मूल नारामा प्रकट हुन्छ । यो केवल नारा होइन नीति, कार्यक्रम र संरचना निर्माणमा आधारित दृष्टिकोण हो । हामी समाजवाद निर्माणको बाटोमा छौं, जहाँ सबै नागरिकलाई समान अवसर, समान सम्मान र समान पहुँच होस् । वर्गीय, जातीय, लैंगिक, क्षेत्रीय विभेद अन्त्य गर्ने हाम्रो लक्ष्य हो । यस्तो गहिरो विचारसंगत यात्रा कुनै खाली नाराजात्रा होइन ।
एमाले पार्टीभित्र एकता छैन ?
यो पनि एउटा प्रचारात्मक भ्रम हो । लोकतन्त्र भनेको विविध मतहरुबीच संवाद र बहस हो । एमाले भित्र बहस हुन्छ किनभने हामी विचारमा स्पष्ट छौं । हामी नेतालाई मूर्ति होइन जिम्मेवारीका रुपमा हेर्छौं । यही कारणले पनि नेताहरूबीच मतभेद आउन सक्छ तर, मतभेदलाई मेलमिलाप र संगठनको सुदृढीकरणमा रुपान्तरण गर्न सक्ने शक्ति एमालेसँग छ । पार्टीको १० औं महाधिवेशनपछि आएको सांगठनिक एकता, एक व्यक्तित्व र एक जिम्मेवारी जस्ता सिद्धान्तहरुले पार्टीभित्र अनुशासन र एकतालाई थप बलियो बनाउँदै लगेको छ ।
एमाले युवा विरोधी पार्टी हो ?
वास्तविकता ठीक उल्टो हो । एमाले एकमात्र यस्तो पार्टी हो जसले युवालाई नेतृत्वमा ल्याउने होसला दिँदै आएको छ । हाम्रो पार्टीमा कैयौं युवा नेताहरु सांसद, मन्त्री र नीति निर्माता छन् । युवा संघ, अनेरास्ववियु, अनेम संघ जस्ता संगठित युवा संगठनहरु एमालेले नै बनाएको हो । नेपालको वर्तमान चुनौतिलाई बुझ्ने, नयाँ प्रविधिसँग चल्न सक्ने, उद्यमशीलता र नवप्रवर्तनलाई आत्मसात गर्ने क्षमता भएका युवाहरूलाई एमालेले नेतृत्वमा ल्याउने स्पष्ट योजना बनाएको छ । युवाशक्ति बिनाको देश निर्माण असम्भव छ भन्ने एमालेको विश्वास हो ।
पार्टी कार्यकर्ताको उत्साह, एमाले किन आवश्यक छ ?
म स्वयं एउटा कार्यकर्ता हुँ । जनताको घर–घरमा पुगेर पार्टीको नीति बुझाउने, समस्यामा साथ दिने र आन्दोलनमा अघि बढ्ने हाम्रो दैनिकी हो । हामीलाई थाहा छ, देशमा समस्या छ–बेरोजगारी, गरिबी र भ्रष्टाचार । तर, यी समस्या समाधान गर्न सक्ने संगठनात्मक संरचना, नेतृत्व, क्षमता र दीर्घकालीन योजना एमालेसँग मात्र छ । हामीले त सडकमा उभिएर लडेर ल्याएको लोकतन्त्र हो । हाम्रो इतिहास बलिदानको इतिहास हो, चाहे त्यो २०४६ को आन्दोलन होस् या २०६२/०६३ को जनआन्दोलन, एमाले कार्यकर्ता सधैं अगाडि थिए । हामी राजनीतिलाई पेशा होइन सेवा मान्छौं ।
हिजोका गल्ती, भोलिको सुधार
हामी नकार्दैनौं, विगतमा कतिपय निर्णयहरू त्रुटीपूर्ण भए होलान् । कतिपय नेताहरूले अपेक्षा अनुसार काम नगरे होलान् । तर, पार्टीले गल्ती स्वीकार्ने, समीक्षा गर्ने र सुधार्ने बाटो अंगालिरहेको छ, यही हाम्रो विशेषता हो । अरू पार्टीहरूमा नेतृत्व आलोचनाको सामना गर्न सक्दैनन् । तर, एमालेभित्र लोकतान्त्रिक अभ्यास सुदृढ हुँदै गएको छ ।
पार्टीप्रति भरोसा र भविष्य
आजको नेपालले स्थायित्व, विकास र समृद्धिको बाटो चाहेको छ । एमालेसँग त्यसको रोडम्याप छ । चाहे त्यो ऊर्जा स्वावलम्बन होस्, कृषि आत्मनिर्भरता होस् वा रोजगार सिर्जना होस् । हरेक क्षेत्रमा एमालेले वैकल्पिक नीतिगत दस्तावेज तयार पारेको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति, शिक्षा र स्वास्थ्यमा राज्यको लगानी बढाउने योजना, गाउँ–नगरको सन्तुलित विकास, यी सबै कार्यक्रम आम जनताले प्रत्यक्ष लाभ लिन सक्ने गरी डिजाइन गरिएका छन् ।
अन्त्यमाः
आज हामी एउर्ट युगान्तकारी मोडमा छौं, जहाँ पुराना संरचनाहरू भत्किँदैछन्, नयाँ सोचको आवश्यकता छ । यस्तो बेलामा नेकपा एमाले एउटा पार्टी मात्र होइन, यो जनताको आशाको केन्द्र हो । यहाँ हाम्रा सपना छन्, हाम्रो भविष्य छ । भ्रम फैलाउनेहरू सधैं सक्रिय हुन्छन् । तर हामी सत्यको बाटोमा दृढ छौं । जनताको सेवामा समर्पित एमाले कार्यकर्ताहरूको विश्वास अटल छ–एमाले मात्र होइन, नेपाल पनि अघि बढ्नेछ । जय नेकपा एमाले ।
(लेखकः अखिल नेपाल महिला संघ क्व्होलासोथार गाउँ पालिका कमिटीका सचिव हुन् । उनी क्व्होलासोथार गाउँपालिका ५, सिङ्दीका वडा सदस्य समेत हुन् ।)
प्रकाशित मिति: बिहीबार, साउन १, २०८२ ०९:००